मतदाताको सुखदुःखमा सारिक भए चुनाव जितिन्छ : प्रकाशमान सिंह


नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले आसन्न स्थानीय तह निर्वाचनमा मतदाताको घर–घरमा गएर सुखदुःखमा सारिक हुनसक्ने बताए । सोमबार नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको हेटौंडास्थित कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सिंहले मतदाताको घर–घरमा पुगेर उनीहरुको सुखदुःखमा सरिक हुँदै आवश्यक सुझावसमेत संकलन गर्न सके मात्रै जनताको विश्वास र मत दुवै प्राप्त हुने बताएका हुन् । 

स्थानीय निर्वाचन नजिकिएको भन्दै उनले जनताको घर–आँगनमा पुग्न सकेका छौँ कि छैनौँ भन्ने कुरा बेलैमा मनन गर्नुपर्ने बताए । उनले भने, ‘म राम्रो उम्मेदवार हुँ मैले जितिहाल्छु भनेर बसेर हुँदैन है, जनताको बीचमा पुग्न सक्नुपर्छ । उनीहरुको अवस्था कस्तो छ, जनताको हामीप्रति असन्तुष्टि छन् कि, कांग्रेसले सुधार्नुपर्ने पो केही छ कि लगायत विषयमा गम्भीर हुन आवश्यक छ ।’ 

‘पार्टीको आन्तरिक सुझाबअनुसार नै अघि बढ्ने हो । गठबन्धन हुने नहुने वा आवश्यकता अनुसार हुने भन्ने विषय केही दिनभित्रै केन्द्रीय कार्यसम्पादन समितिले टुंगोमा पुर्याउँछ,’ सिंहले भने । 

कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रदेश कार्यसमिति कांग्रेसलाई जनताप्रति अझै जवाफदेही र जिम्मेवार बनाउन सक्रिय ढंगबाट अघि बढिरहेको बताए । उनले कांग्रेस नेपाली जनताको मन मुटुमा बसेको पार्टी भएको बताउँदै कांग्रेसप्रति जनताको विश्वास अझै आर्जन गर्न सबैले आ–आफ्नो क्षेत्रमा भूमिका निर्वाह गर्नुपर्ने बताए । आन्तरिक विवादलाई मिलाउँदै, सबैको सुखदुःखमा सरिक हुँदै सबैको विचार भावनाको सम्मान गर्दै कांग्रेस अघि बढ्ने बानियाँले प्रस्ट पारे ।

कार्यक्रममा कांग्रेसबाट बागमती प्रदेश सरकार र प्रदेशसभामा प्रतिनिधित्व गरेका मन्त्री तथा सांसद्हरु प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, १३ वटै जिल्लाका सभापतिलगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति थियो । 





  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार १९:२२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया