स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारीमा काठमाडाैं महानगरपालिका

काठमाडौं- काठमाडौँ महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको छ । अहिले कामपामा करिब सय थान स्थानमा परम्परागत जेब्रा क्रसिङ छन् । मानिसको आवागमनको हिसाबले उक्त सङ्ख्या अत्यन्तै कम हो भने भएका स्थानमा पनि धेरै नदेखिने अवस्थामा छन् । त्यसैले मानिसको अत्यधिक चाप हुने स्थानमा कामपाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको हो । 

कामपाका प्रवक्ता ईश्वरमान डंगाेलले भने, ’यसअघि जे-जस्तो निर्माण भएको भए पनि अब निर्माण गर्ने सबै जेब्रा क्रसिङ स्मार्ट नै हुन्छन् ।’ सडक विभागसँग सहकार्य गरी मानिसको आवागमन बढी हुने स्थानमा काम अघि बढाइने उनले जानकारी दिए । 

उनका अनुसार नयाँ निर्माण गरिने जेब्रा क्रसिङ आधुनिक किसिमको हुनेछ र दुवैतर्फबाट आउने गाडी १० मिटरअघि नै आफैँ रोकिने प्रविधिसहितको हुनेछ । मानिस आएपछि ट्राफिक प्रहरीले हात हल्लाएर, सिटी बजाएर रोकिराख्नु पर्दैन, प्रविधिले नै रोक्छ । 

नयाँ निर्माणको कामसँगै यसअघि निर्माण भएका जेब्रा क्रसिङलाई रातको समयमा पनि स्पष्ट रूपमा देखिने गरी मर्मत गरिने कामपाले जनाएको छ । कामपाले चालू आव २०७५/७६ को लागि १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा चार अर्ब ६ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिनेछ । 

कामपाभित्र किरब एक हजार चार सय ५० किलोमिटर पक्की सडक छ । कामपालाई आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्ने अधिकार छ । त्यसभन्दा माथिका सडकमा काम गर्न सडक विभागसँग सहकार्य गरेर काम गर्नुपर्दछ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९ सय ५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् ।





  • प्रकाशित मिति : पुस ५, २०७५ बिहीबार १४:४६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया