काठमाडौं– अर्काे वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा–१० को सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ । मुलुक संघीय संरचनामा गइसकेपछि पहिलोपटक प्रदेश तहलाई एसइई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयले परीक्षा सञ्चालन गर्नेछ । ‘हामीले यहाँबाट प्रश्नपत्र मात्र पठाउँछौँ,’ उनले भने, ‘उत्तरपुस्तिकाको छपाइदेखि परीक्षा केन्द्र तोक्ने, केन्द्राध्यक्ष तोक्नेजस्ता काम प्रदेश सरकारले गर्नेछ ।’
नियन्त्रण कार्यालयले गत वर्षको तोकिएको परीक्षा केन्द्र नबढाई तोक्न निर्देशन दिइएको छ । यसअघि नियन्त्रण कार्यालयले परीक्षा सञ्चालन गर्ने गर्दथ्यो । प्रदेश सरकारले सञ्चालन गरेको परीक्षाको उत्तरपुस्तिका नियन्त्रण कार्यालयमा आउने र उसले सम्परीक्षण तथा नतिजा प्रकाशन गर्नेछ ।
सरकारले यस वर्षदेखि एसइई प्रदेशस्तरमा नै गर्ने भनेता पनि आवश्यक तयारी नपुगेकाले नियन्त्रण कार्यालयलाई जिम्मेवारी दिइएको हो । यस वर्षको एसइई परीक्षा चैत १० गतेबाट हुँदै छ ।
उनका अनुसार परीक्षामा करिब चार लाख ८० हजार विद्यार्थी सहभागी हुँदै छन् । उनले अहिले प्रश्नपत्रको काम भइरहेको जानकारी गराए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।