राजधानी काठमाडौं विश्वका प्रमुख १० प्रदूषित सहरभित्र परेको छ ।
वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आइक्युएयरले सार्वजनिक गरेको सूचीमा राजधानी काठमाडौं विश्वको छैटौं प्रदूषित सहरमा परेकाे हाे ।
त्यस्तै, देशका हिसाबले नेपाल प्रदूषित देशको सूचीको दशौं नम्बरमा छ ।
तथ्यांकअनुसार सन् २०२१ मा भारतको समग्र प्रदूषण तह खराब देखिन्छ । भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानी सहर बनेको छ।
दिल्ली लगातार चौथो पटक विश्वकै सर्वाधिक प्रदूषित शहर बनेको हो । विश्वका १०० प्रदूषित सहरहरूमध्ये ६३ भारतमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, देशका हिसाबले बंगलादेश विश्वकै सबैभभन्दा प्रदूषित साबित भएको छ । प्रदूषित देशको सूचीमा चाँड र पाकिस्तान क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन् भने पाँचौँमा भारत छ ।
आक्युएयरले संग्रह गरेको तथ्यांकअनुसार कुनै पनि देशले सन् २०२१ मा प्रदूषणसम्बन्धी मापदण्ड पूरा गर्न सकेनन् ।
सर्वेक्षण गरिएका सहरहरूमध्ये केवल ३ दशमलव ४ प्रतिशतले मात्र मापदण्ड पूरा गरेका थिए ।
११७ देशका ६ हजार ४७५ सहरहरूको वायु गुणस्तर तथ्यांकमा आधारित सो प्रतिवेदनले सन् २०२१ मा विश्वव्यापी वायु गुणस्तरको एउटा सारांश प्रस्तुत गरेको छ ।
कम्तीमा ९३ सहरको पिएम २ दशमलव ५ तह विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सुझाव दिएकोभन्दा १० गुणा बढी पाइएको थियो ।
तर, केही देशले प्रदूषण नियन्त्रण गर्न सफलता प्राप्त गरेको प्रतिवेदनमा जनाइएको छ ।
‘केही देशले प्रदूषण कटौतीमा ठूलो प्रगति गरिरहेका छन’, आइक्यूएयरकी विज्ञान प्रबन्धक क्रिष्टी श्रोडरले भनिन् ।
‘चीनले केही धेरै ठूला संख्याहरूबाट सुरु गरेको थियो । समयसँगै उनीहरुले निरन्तर घटाउँदै गएका छन् । तर, संसारमा यस्ता ठाउँहरू पनि छन् जहाँ यो उल्लेखनीय रूपमा खराब हुँदै गइरहेको छ’, उनले भनिन् ।
विश्वका दश प्रदूषित देश:
१.बंगलादेश
२.चाँड
३.पाकिस्तान
४.ताजकिस्तान
५.भारत
६.ओमन
७.क्रिगिजिस्तान
८.बहराइन
९.इराक
१०.नेपाल
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।