अप्ठ्यारोमा मधेस नै किन सम्झिन्छन् प्रचण्ड ? लभ हो कि लोभ !

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छटपटाहट बढ्दै गइरहेको छ । प्रचण्डले अचेल सार्वजनिक मञ्चबाटै दिने गरेका भाषणले समेत उनको छटपटाहटलाई दर्साउँछ । 

उनले अधिकांश अभिव्यक्तिमा सत्ता गठबन्धनसँगको सम्भावित चुनावी तालमेलमा आशंका र एमालेमाथि प्रहार गर्नेखालका अभिव्यक्ति दिनु उनको लागि सामान्यजस्तो भइसकेको छ । 

पाँच दलीय गठबन्धनबीच तालमेल हुन नसक्दा पार्टीलाई भोग्नुपर्ने क्षतिलाई न्यूनीकरण गर्न अध्यक्ष प्रचण्ड मधेस झरेर आफ्ना कार्यकर्तालाई निरन्तर ढाडस बाँड्दै आइरहेका छन् ।

यसै क्रममा मंगलबार जनकपुरधाममा माओवादी केन्द्रले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा समेत अध्यक्ष प्रचण्डले कार्यकर्ताहरूलाई आगामी निर्वाचनलाई लडाइँकै रूपमा लिन निर्देशन दिए । 

उनले कार्यकर्ताहरूलाई गठबन्धनको मानसिकता त्यागेर एक्लै चुनाव लड्ने गरी तयारी गर्न समेत आह्वान गरे । यो उद्घोष उनले मधेस प्रदेशको राजधानी जनकपुरधामबाटै गरे ।

जब-जब माओवादी केन्द्र कमजोर स्थितिमा पुग्छ तबतब अध्यक्ष प्रचण्ड शक्ति संचयका लागि मधेस नै झर्छन् । जनकपुरधाममा उनले गरेको पछिल्लो उद्घोषलाई पनि यसै कडीकाे रूपमा लिन सकिन्छ । 



हुन त यसअघि प्रचण्डले दोस्रो संविधानसभा निर्वाचन २०७० का बेला सिराहा-५ बाट उम्मेदवारी घोषणा गर्दै भनेका थिए, ‘मधेससँग मेरो लभ परेको छ । मेरो यो मधेसप्रतिको मायामा कहिल्यै कमी आउँदैन ।’ 

त्यो निर्वाचनमा काठमाडौं-१० मा पराजित हुँदा मधेसी जनताले प्रचण्डलाई जिताएर पठाए । तर, त्यसयता प्रचण्डमाथि मधेसलाई उपेक्षा गर्दै आइरहेको आरोप लाग्यो ।



प्रचण्ड माथिको त्यो आरोप स्वाभाविक पनि छ । किनकि सिराहाबाट निर्वाचित भएको चार वर्षमै उनले निर्वाचन क्षेत्र परिवर्तन गरी २०७४ को निर्वाचनमा उनी चितवन-३ बाट निर्वाचित भए । 

तर, प्रचण्ड भने मधेसलाई उपेक्षा गरेको आरोप स्वीकार गर्न तयार छैनन् । बरु मधेससँग आफ्नो ‘डिप लभ’ ब्रेकअप नभएको दाेहाेर्‍याइरहन्छन् । 
 
पछिल्लो पटक गत मंसिरमा पनि उनले मधेससँग आफ्नो ‘डिप लभ’ जारी रहेको बताएका थिए । प्रचण्ड मधेसी जनतालाई फकाउन ‘डिप लभ’ परेको बताइरहन्छन् र ब्रेकअप नभएको भनेर ढाडस दिइरहन्छन् । 

त्यसो त प्रचण्डले मधेसलाई माओवादीले युद्धताकादेखि नै प्राथमिकतामा राख्दै आएको दाबी पनि गर्ने गरेका छन् । 

माओवादी-मधेस सम्बन्धलाई स्मरण गर्दा उनी कहिले धनुषामा पहिलो पटक आफूलाई बम बनाउन सिकाएको बताउँछन् त, कहिले मधेसीकै प्रतिनिधित्व गरेर संसद्सम्म पुगेको सुनाउँछन् । 

यद्यपि प्रचण्डले ‘डिप लभ’को कार्ड मधेसमा माओवादीको शक्ति थप कमजोर हुन नदिनका लागि प्रयोग गरेको बुझ्न सकिन्छ । हरेक निर्वाचनमा माओवादी मधेसमा कमजोर देखिँदै आएको छ । 

पहिलो संविधानसभामा माओवादी पहिलो शक्तिका रूपमा उदाएको थियो । तर, मधेसमा भने माओवादी पहिलो बन्न सकेन । शान्ति प्रक्रियापछि भएको मधेस आन्दोलनबाट उदाएका मधेसी दल नै पहिलो शक्ति बने ।

दोस्रो स्थानमा माओवादी, तेस्रोमा कांग्रेस र एमाले चौथो शक्ति बनेका हुन् । तर, दोस्रो संविधानसभाको निर्वाचनसम्म आइपुग्दा मधेसवादी दल र माओवादी कमजोर बन्दा कांग्रेस र एमाले बलियो बनेका थिए । 

२०७४ सालको स्थानीय तहको निर्वाचनको परिणाम हेर्ने हो भने माओवादी मधेसमा थप कमजोर बनेर चौथो दल बनेको थियो । 

कांग्रेसले ४० स्थानीय तह जितेर पहिलो दल हुँदा तत्कालीन संघीय समाजवादी फोरमले २६, तत्कालीन राजपाले २५ स्थानीय तह जितेका थिए । 

२१ स्थानीय तह जितेको माओवादी केन्द्र चौथो बन्दा १८ तह जितको एमाले पाँचौ दल बन्याे ।

अहिले मधेसमा माओवादीको जनधार ओरालो लागिरहेको अवस्था देखेर अध्यक्ष प्रचण्ड फेरि मधेसी जनतालाई फकाउने तयारीमा लागेका छन् । 

स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै देश दौडाहलाई तीव्र बनाएका प्रचण्डमा छटपटाहट समेत बढेको छ । 

मंगलबार जनकपुरधाममा चुनाव लक्षित मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघीयताको जननी र संरक्षक मधेसी जनता नै भएको दाबी गरे ।

देशमा भएको ठूलठूला परिवर्तनमा मधेसी जनताको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो । 

प्रचण्डले काठमाडौंबाट आफू पराजित भए पनि सिराहाबाट भने विजयी भएर दोस्रो पटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेको भन्दै मधेसी जनतालाई फकाउने प्रयास गरे ।

माओवादी हारे देश हार्ने र सहिदको सपनामाथि कुठाराघात भई संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुनेसमेत उनले जिकिर गरे ।

यसअघि फागुन १ गते जनकपुरधाममा मधेस सहिद प्रतिष्ठानले आयोजना गरेको २९ औं जनयुद्ध दिवस समारोहलाई सम्बोधन गर्दै प्रचण्डले आफू मधेसप्रति विश्वस्त रहेको बताउँदै परिवर्तनको रक्षामा मधेसमा तलमाथि नहुने विश्वास व्यक्त गरेका थिए । 

  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार १३:५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया