पछिल्ला दिनमा विभिन्न बहानामा मूल्यवृद्धि भएको गुनासो आएपछि यसको नियन्त्रणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष चासो देखाएका छन् ।
यसका लागि पहिलो चरणमा मुख्यमन्त्री पोखरेलले बुधबार सरकारी अधिकारी र उपभोक्ता अधिकारकर्मीसँग छलफल समेत गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डलरको भाउ बढेको, रुस र युक्रेनबीचको युद्धको कारण देखाएर बजारमा अस्वभाविक महँगी बढेको गुनासो आएपछि नियन्त्रणका लागि पहल थालिएको बताए ।
उनले भने, ‘महँगी बढेको छ, हामी सबै यसबाट पीडित छौं, यसलाई नियन्त्रण गर्न एकल प्रयासले सम्भव छैन, ३ तहकै सरकारबीच समन्वय जरुरी छ ।'
उक्त छलफलपछि मुख्यमन्त्रीको निर्देशन अनुसार ३ बुँदे निर्णय गरिएको छ । महँगी नियन्त्रणका लागि प्रदेशको पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै सरोकारवालालाई आमन्त्रण गरी छलफल गर्ने निर्णय भएको निमित्त प्रमुख सचिव रामप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार प्रदेशस्तरीय बजार अनुगमन समितिले बजार अनुगमन कार्यालय प्रभावकारी बनाउन प्रदेशस्तर, जिल्लास्तर र स्थानीयस्तरका बजार अनुगमन समितिबीच समन्वय कायम गरी बजार अनुगमन गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।
यसैगरी जिल्लास्तरीय बजार अनुगमन समितिलाई सक्रिय बनाउन ११ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्ने निर्णयसमेत उक्त बैठकले गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।