सरिता गिरीको मुद्दा संयुक्त इजलासमा सुनुवाइ हुँदै

पदमुक्त भएकी संघीय सांसद सरिता गिरीको रिट निवेदनमा बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशहरू टंकबहादुर मोक्तान र नहकुल सुवेदीको संयुक्त इजलासमा रिटको पेसी तोकिएको हाे ।

संघीय संसद् सचिवालयले गैरकानुनी रूपमा सांसद पदबाट निष्कासन गरेको भन्दै उनी २८ असार २०७७ मा सर्वोच्च पुगेकी थिइन् । 

रिटमार्फत उनले निष्कासन गर्ने सचिवालयको निर्णयलाई खारेज गर्न मागसमेत गरेकी छन् । जनता समाजवादी पार्टीको संसदीय दलले निष्कासन गर्न भन्दै सचिवालयलाई पठाएको पत्र पनि गैरकानुनी भएको उनको जिकिर छ ।

यसअघि ४ साउन २०७७ मा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले गिरीको मुद्दामा अन्तरिम आदेश दिनुपर्ने निर्णय गरेको थियो । 

सरकारले विवादित नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरासमेत समेटेर राजनीतिक नक्सा जारी गरेपछि निशान छापमा नक्सा परिवर्तनका लागि संविधान संशोधन प्रस्ताव दर्ता गर्दा गिरी प्रस्तावको विपक्षमा उभिएकी थिइन् । 

पार्टीकै सांसद प्रस्तावको विपक्षमा उभिएपछि जसपाले ह्वीप जारी गरेको थियो । गिरी संसद् बैठक बहिस्कार गर्दै बाहिरिएकी थिइन् । 



त्यसपछि उनलाई उमाशंकर अरगरिया प्रमुख सचेतक रहेको जसपाको तत्कालीन संसदीय दलले पार्टीको साधारण सदस्यबाट हटाउँदै सांसद पदबाट निष्कासन गर्न संसद् सचिवालयलाई पत्राचार गरेको थियो । 

पत्राचारपछि सचिवालयले उनलाई निष्कासन गरेको थियो । त्यसविरुद्ध उनी सर्वोच्च पुगेकी हुन् । 



  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार ११:५८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया