पर्सा पुगेर ठाकुर र महतोले के भने ?

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा उठाइएको मुद्दा पूरा गर्न पुनः आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार पर्साको वीरगन्जमा चुनावलक्षित गरी आयोजना गरिएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् ।

मधेस आन्दोलनमा पीडित भएकाहरुको मुद्दा, मधेस आन्दोलनकै ऐतिहासिक रुपमा स्थापित गराउन सकिए पनि पूरा हुन नसकेको उनले बताए । उनले मधेस आन्दोलनमा उठाइएका केही मुद्दा सम्बोधन भएको र केही हुन बाँकी रहेकाले संघर्ष गर्नुपरेको पनि स्पष्ट पारे ।

अध्यक्ष ठाकुरले विभिन्न किसिमका मुद्दामा लगाइएका नेताहरु अहिले अदालतमा तारिखमा, थुनुवा र कार्यकर्ताहरु जेलमा रहेकाले अब उनीहरुलाई छाड्ने गरी संघर्ष गर्न नेतालाई निर्देशन दिए । अहिले पनि मधेस आन्दोलनमा समाहित भएका सरकारको मुद्दा खेपिरहेको बताउँदै मधेस अहिले पनि आतंकबाट मुक्त नरहेको जिकिरसमेत गरे ।

त्यस्तै, वरिष्ठ नेता राजेन्द्र महतोले अगामी दिनमा कुनै पनि पार्टीसँग निर्वाचनमा तालमेल हुनसक्ने बताए । उनले आवश्यकताअनुसार जिल्लाका नेताले पनि चुनावी तालमेल गर्न सक्ने जानकारी दिए ।  

नेता महतोले भने, ‘गठबन्धन नै गर्नुपर्छ भन्नेचाहिँ होइन, त्यस्तै परे कुनै पार्टीसँग निर्वाचनको समयमा गठबन्धन हुन सक्छ । हामीले गठबन्धनको राजनीतिका लागि बढी जोड गरेका छैनौँ । भविष्यमा आवश्यकताअनुसार गठबन्धनको सम्भावना रहेकाले कुनै पनि दलसँग गर्न सकिन्छ ।’

वरिष्ठ नेता महतोले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवप्रति कटाक्ष गर्दै नेता महतोले मधेसवाद र मधेसी जनताको नाममा सिँढी चढेर सत्तामा रमाउने गरेको र मधेसको मुद्दा छाड्ने गरेको आरोप लगाए । सत्ताका लागि मधेसी जनतालाई सहादत मात्र दिन लगाउने र मधेसवाद छैन भन्ने कुरा गलत रहेको बताए ।



वरिष्ठ नेता महतोले मधेसमा विभिन्न तहमा समस्यामा परेका जनतालाई हक अधिकार दिलाउन पार्टी लड्दै गरेकाले हकअधिकारका मुख्य एजेण्डा रहेको पनि बताए । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पर्सामा राजनीतिक दलको सक्रियता बढ्न थालेको छ । दलहरुले पार्टी प्रवेशदेखि वडा–वडामा प्रचारप्रसार कार्यालय स्थापना गरेका छन् । 



  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार १९:४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया