कांग्रेस, एमाले र माओवादीले देश बनाउँछन् भन्नु साँढेको टाङमुनि बाल्टी थाप्नुजस्तै : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई भोट दिएमा देश बर्बाद हुने बताएका छन् । बिहीबार गोरखा सदरमुकाममा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै उनले उक्त पार्टीहरुलाई भोट दिएर विगतमा गरेको गल्ती नदोहोर्‍याउन आग्रह गरे । 

‘३१ वर्षदेखि केही सीमित राजनीतिक दल र तीनका सीमित नेताको चक्रव्यूहमा देशसँगै हामी पनि फसेका छौँ,’ उनले भने, ‘अबको चुनावमा पनि त्यही दलहरुलाई भोट दिने हो भने हामी बर्बाद हुने मात्र होइन, हाम्रो भावी सन्ततिको भविष्य पनि बर्बाद हुन्छ ।’ 

कांग्रेस, एमाले र माओवादीले चुनाव जितेर देश बनाउँछन् भन्नु साँढेको टाङमुनि बाल्टी थाप्नु जस्तै भएको लिङ्गदेनले टिप्पणी गरे । ‘साँढेको टाङमुनि बाल्टी थापेर दूध आउछ ? साँढेले दूध दिएन भनेर त्यसलाई सुम्सुम्याउँदा हुन्छ ? खान पुगेन भनेर दाना थपिदिँदा दूध आउँछ ? साँढेको धर्म नै दूध दिने होइन, कसरी आउँछ, त्यसैले ठूला भनिने दललाई भोट दिएर देश बन्छ भन्नु पनि त्यस्तै हो,’ उनले भने ।

ठूला भनिएका राजनीतिक पार्टीले देशलाई भिख माग्ने बनाएको भन्दै उनले एमसिसी पास गर्नु गलत भएको तर्क गरे । सभामा राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री कुन्तीकुमारी शाही, प्रवक्ता मोहन श्रेष्ठ र ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा, प्रवास आइसिसी संयोजक प्रेमकुमार श्रेष्ठ, केन्द्रीय सदस्यहरु रामराजा कोइराला, लोकनाथ तिवारीलगायतले सम्बोधन गरेका थिए ।





  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार २०:४७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया