तातेको चुनावी माहोलः चार नेताको व्यस्त डायरी, गाउँगाउँमा भवन उद्घाटनसमेत गरे प्रधानमन्त्रीले

स्थानीय तहको निर्वाचन मिति घोषणा भएसँगै नेपालका चार प्रमुख पार्टीका शीर्ष नेताहरुको दौडधूप निकै बढेको छ । एकै दिनमा चारदेखि पाँच वटा कार्यक्रममा, त्यो पनि फरक फरक जिल्लामा नेताहरु पुग्न थालेका छन् ।

चुनावको माहोलका कारण हुनुपर्छ, सामान्य शिलान्यासदेखि सामान्य परियोजनाका उद्घाटनसम्म दलका शीर्ष नेता सहभागि हुन थालेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ससाना कार्यक्रममा सहभागी हुन हेलिकोप्टरको प्रयोग गरेर विभिन्न जिल्ला पुगिरहेका छन् ।

सत्तारुढ तीन दलका नेताहरु उद्घाटन र शिलान्यासमा व्यस्त भइरहँदा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने पार्टी प्रवेश कार्यक्रममा दिनहुँ व्यस्त भइरहेका छन् ।

एक साता यता प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकांश उद्घाटनका कार्यक्रममा आफ्नो समय खर्च गरेका छन् । ३० फागुनमा नुवाकोटको तादी गाउँपालिकाको भवन उद्घाटनमा पुगेका थिए, देउवा । 

उनले यसरी भवन उद्घाटनमा प्रधानमन्त्री नै पुग्नु राम्रो नभएको स्वयं स्वीकार गरेका थिए । ‘तर, गाउँगाउँमा भवन बनेका छन्,’ उनले भनेका छन्, ‘यसपटक उत्साहित भएर आएको हुँ ।’



२ चैतमा संसद अधिवेशन अन्त्य भएपछि ५ चैतबाट देश दौडाहामा निस्किएका हुन्, देउवा । त्यो दिन उनी रामेछाप पुगेका थिए । त्यहाँ खिम्ती सबस्टेसनको उद्घाटनमा पुगेका उनले त्यही दिन काभ्रेमा अर्को उद्घाटन पनि भ्याए । काभ्रेको तेमालस्थित पोखरी नारायणस्थानमा गाउँपालिका प्रशासकीय भवन उद्घाटनमा उनी सहभागी भए । 

७ चैतमा उनी मोरङ पुगे । सुन्दरहरैँचा नगरपालिका पुगेका उनले त्यहाँ पनि प्रशासकीय भवन उद्घाटन गरे । देउवा खोटाङ पनि त्यही दिन पुगे । खोटाङको रुपाकोट ४ र दिप्रुङ चुईचुम्मा १ जोड्ने पुल उद्घाटनका लागि त्यहाँ पुगेका थिए उनी ।



प्रधानमन्त्री देउवाको व्यस्तता कति बढेको छ भने उनले ९ चैतमा चन्द्रागिरि जान हेलिकोप्टर प्रयोग गरे । त्यही दिन पार्टीका नेताहरु र सत्ता साझेदार दलका नेताहरुसँग उनले बैठक पनि गरे । चन्द्रागिरिमा देउवाले दिगो पर्वतीय समाधानका निम्ति क्षेत्रीय नीति संवाद कार्यक्रममा सम्बोधन गरे ।

१० चैतमा स्याङ्जाको चापाकोट नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटनका लागि स्याङ्जा पुगे, देउवा । सोही दिन उनी तनहुँको हाइड्रोपावर अवलोकनका लागि पनि पुगे । 

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि योबीचमा निकै व्यस्त देखिएका छन् । उनी पनि पछिल्लो समय चुनावी सेन्टिमेन्ट ग्य्राब गर्न लागिपरेका छन् ।

त्यसैले हुनुपर्छ, उनी वर्षौपछि सहिद परिवारमा पुगेका छन् । पार्टीका काममा व्यस्त हुनु स्वभाविक भयो, तर प्रचण्ड वीर अस्पतालमा भएका घाइतेलाई भेट्न वर्षौपछि पुगे । 

पार्टीको कामका लागि भने उनी सातै प्रदेशको प्रशिक्षणमा पुगेका छन् । ३ चैतमा उनले लुम्बिनी प्रदेशको प्रशिक्षणात्मक तथा वैचारिक भेलालाई सम्बोधन गरे । ४ चैतमा राजधानीबाहिरका कुनै कार्यक्रम तय नगरेका प्रचण्ड ५ चैतमा सिन्धुली पुगे । जिल्ला पार्टी कार्यालयको नवनिर्मित भवन उद्घाटनमा सहभागी हुन प्रचण्ड सिन्धुली पुगेका थिए । 

सिन्धुलीबाट फर्किएको भोलिपल्टै प्रचण्ड पोखरा हानिए । गण्डकी प्रदेशको प्रदेशस्तरिय कार्यकर्ता भेलालाई प्रशिक्षण दिनका लागि प्रचण्ड पोखरा पुगेका थिए । प्रचण्ड पोखरा पुग्ने भएपछि तय भएको प्रदेशसभा बैठक समेत स्थगित भएको थियो । 

७ चैतमा कुनै सभा समारोहमा नदेखिएका प्रचण्ड ८ चैत बिहानैदेखि सक्रिय भए । उनी ८ गते बिहानै जनयुद्धका उपचारारत घाइतेसँग भेट्न वीर अस्पताल पुगे । त्यहाँ उनले घाइते काभ्रे महाभारत गाउँपालिका ६ का पूर्वजनमुक्ति सेनाका योद्धा(सेक्सन कमान्डर) भक्त रानालाई भेटे ।

त्यही दिन उनी मधेश प्रदेशको राजधानी जनकपुरधामा आयोजित पार्टीको प्रशिक्षणात्मक कार्यक्रममा सहभागी हुन पुगे । जनकपुर पुगेर प्रचण्डले चाँडै मन्त्रिमण्डल विस्तार हुनेदेखि आफूहरुले हैसियत अनुसारको कोटा मागेको बताएका थिए । 

९ चैतमा प्रचण्ड पार्टी कार्यालय पेरिसडाँडा पुगे । पेरिसडाँडामा आयोजित पार्टीका केन्द्रीय आयोगको अन्तरक्रियात्मक संयुक्त बैठकमा सहभागी भएर प्रचण्डले सम्बोधन गरे । 

१० चैतमा प्रचण्ड गृहजिल्ला चितवन पुगे । त्यहाँ उनले पुल उद्घाटन, घरआवास क्षेत्रको उद्घाटन, ‘राष्ट्रिय फुटबल लिग–२०७८’ को उद्घाटन लगायतका कार्यक्रममा सरिक भए । उनले जनयुद्धका शहिद परिवारसँग भेट गरे, सँगै बसेर खाना खाए ।

सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका यी दुई सभापति र अध्यक्ष मात्र होइन, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि चुनावी प्रपोगाण्डामा व्यस्त छन् । उनले यो समयमा केही पार्टी प्रवेश कार्यक्रम गरेका छन्, पार्टीका कार्यक्रममा बढी समय दिएका छन् ।

५ चैतमा पार्टीको सम्पर्क समन्वय कमिटीद्धारा आयोजित कार्यक्रममा सहभागी भएका ओली ६ चैतमा इलाम पुगे । इलाको सूर्योदय गरपालिामा आयोजित जनसभालाई सम्बोधन गर्न पुगेका ओली गृहजिल्ला र प्रदेशमा प्रभाव बढाइरहेका छन । 

७ चैतमा राजधानीमा आयोजित पार्टीको प्रथम पोलिटब्यूरो बैठकमा ओली सहभागी भएका थिए । ८ चैतमा राजधानीमै आयोजित पार्टी प्रवेश कार्यक्रममा ओली सहभागी भए । पूर्वमन्त्रीदेखि अभिनेत्री करिश्मा मानन्धरसम्मलाई पार्टी प्रवेश गराउँदै ओलीले एमालेमा बढेको जनआकर्षणले झनै उत्साह थपिएको बताएका थिए । 

त्यसपछि उनी ९ र १० चैतमा पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी भए । निर्वाचन केन्द्रित यो बैठकमा ओलीले कार्यकर्ताहरुलाई निर्देशन दिए । यसबीचमा उनले त्यस्ता व्यक्तिलाई समेत पार्टीमा प्रवेश गराएका छन्, जो यसअघि निकै विवादित थिए ।

उनले पूर्वमन्त्रीसमेत रहेका प्रेमबहादुर सिंहलाई पनि पार्टीमा प्रवेश गराएका छन् । स्मरण रहोस्, केही समयअघि मात्र सिंहले ओलीलाई मानसिक सन्तुलन गुमाएको नेतासमेत भनेका थिए ।

नेकपा एमालेबाट छुट्टिएर नयाँ पार्टी नेकपा एकीकृत समाजवादी बनाएका माधवकुमार नेपाल पनि पछिल्लो एक साता चुनावी फन्डाहरुमा व्यस्त छन् । नेपाल जति कार्यक्रममा पुगेका छन्, त्यहाँ उनले ओलीको व्यापक आलोचना गरेका छन् ।

नेपालको यो दल पहिलोपटक चुनावमा भाग लिँदै छ । त्यसैले पनि हुनुपर्छ, उनको सक्रियता निकै बढेको छ, गठबन्धनको बलमा उनी चुनावमा एमालेभन्दा राम्रो गर्ने अभियानमा केन्द्रित भएका छन् ।

३ चैतमा काठमाडौंमा होली विशेष कार्यक्रममा सहभागी भएका नेपाल ४ चैतमा गोरखा पुगेका थिए । 

५ चैतमा उनी गोरखाकै कार्यकर्ता भेलालाई सम्बोधन गरेर तनहुँ हानिए । ६ चैतमा राजधानी फर्किएका नेपाल ७ चैत बिहानै आफ्नो निर्वाचन क्षेत्रमा झुल्किए । साँखुमा आयोजित एक कार्यक्रममा सहभागी भएर उनले सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता बोलाउनेबारे कुनै निर्णय नभएको बताएका थिए । 

८ चैतमा उनी नुवाकोट पुगे । ९ चैतमा बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरेका नेपाल १० चैतमा पार्टीको मधेश प्रदेशस्तरीय बैठकमा सहभागी हुन जनकपुरधाम पुगे । त्यहाँको कार्यक्रममा पनि उनले ओलीकै आलोचना गरे ।

 

  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार १२:४७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया