चन्दलाई छायाछवि लाइफटाइम लिजेन्ड्री अवार्ड​, लामा र थापालाई रजत सम्मान

छायाछवि क्रियसनले डि सिने अवार्डको अवसर पारेर हरेक वर्ष प्रदान गर्दै आएको सम्मान एवं पुरस्कारको घोषणा गरेको छ । छायाछवि क्रियसनले डि सिने अवार्डस्को अवसरमा छायाछवि लाइफटाइम लिजेन्ड्री अवार्ड, छायाछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष/महिला) एवं छायाछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

छायाछवि क्रियसनले यस वर्ष छायाछवि लाइफटाइम लिजेन्ड्री अवार्ड नेपालकै पहिलो चलचित्र ‘आमा’बाट नेपाली रजतपटमा प्रवेश गरेकी प्रथम नायिकाको उपमा पाएकी भुवन चन्दलाई प्रदान गर्ने भएको छ । २०२२ सालमा निर्मित ‘आमा’ चलचित्रपछि चन्दले हिजो आज भोलि, दुई थोपा आँसु, कोशेली, सीमारेखा, नेपाली बाबुलगायत चलचित्रमा अभिनय गरेकी छिन् ।

उनले विभिन्न नृत्य, नाटक, गीती नाटक, टेलिश्रृंखला, भिडियो चलचित्र लगायतका धेरै अनुभव बटुलेकी छिन् । विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरिसकेकी  यिनै चन्दलाई यस वर्षको छायाछवि लाइफटाइम लिजेन्ड्री अवार्ड प्रदान गर्न लागीएको हो ।

त्यस्तै, छायाछवि क्रियसनले यस वर्षको छायाछवि चलचित्रकर्मी रजत सम्मान (पुरुषतर्फ) अभिनेता विजय लामालाई प्रदान गर्ने भएको छ । २०४१ सालमा सार्वजनिक भएको चलचित्र आदर्श नारीबाट विजय लामाले आफ्नो अभिनय यात्रा प्रारम्भ गरेका थिए ।

लामाले कोशेली, चोखो माया, ट्रक ड्राइभर, आर्मी, होमवर्क, इन्टुमिन्टु लण्डनमालगायतका करिव दुई दर्जन चलचित्रमा अभिनय गरेका छन् । साथै लामाले हलिउड चलचित्रमा समेत काम गरिसकेका छन् । नेपाल एयरलाइ्रन्स्का सिनियर पाइलटसमेत रहेका यिनै लामालाई यस वर्षको छायाछवि चलचित्रकर्मी रजत सम्मानबाट सम्मान गरिन लागेको हो ।

त्यस्तै, छायाछवि क्रियशनले यस वर्षको छायाछवि चलचित्रकर्मी रजत सम्मान (महिलातर्फ) झरना थापालाई प्रदान गर्ने भएको छ । यसो त थापाले २०५३ सालमा चलचित्र ‘दाइजो’ नेपाली रजतपटमा प्रवेश गरेकी हुन् ।



उनले धर्मसंकट, गोर्खाली, बादल पारी, जीवनसाथी, पूर्णिमा, ए मेरो हजुर, मेरी आमा, विदाई, ओमलगायत चलचित्रमा काम गरेकी छन् छन् भने ए मेरो हजुर २ बाट निर्देशनमा आइसकेकी छिन् ।

पछिल्लो चरणमा चलचित्र निर्देशन तथा निर्माणमा समेत थापाले निरन्तरता दिएकी छिन् । यिनै झरना थापालाई यस वर्षको छायाछवि चलचित्रकर्मी रजत सम्मान प्रदान गरिने भएको छ ।



यस्तै, यस वर्षको छायाछवि चलचित्र पत्रकारिता पुरस्कार विष्णु सुवेदीलाई प्रदान गरिने भएको छ । पर्वतमा जन्मिएका सुवेदीले रेडियोमा काम गर्दै पत्रकारितामा प्रवेश गरेका हुन् । सुरुमा रेडियो तथा पत्रिकामा एकै पटक काम गरी प्रवेश गरेका सुवेदी यतिखेर आफ्नै लेन्सनेपाल डटकम वेबमा कार्यरत छन् ।

मूलतः रंग पत्रकारितालाई नै आत्मसात गर्दै रेडियोमा एवं पत्रपत्रिका हुँदै टिभीमा प्रस्तोता–रिपोर्टर तथा प्रोड्युसर हुँदै टिभी फिल्मीको स्टेशन म्यानेजरका रूपमा सुवेदीले कार्यगत अनुभव संगालेका छन् ।

छायाछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले यो सम्मान तथा पुरस्कार चैत्र २६ गते धुलिखेल सनराईज् रिसोर्टमा हुने १२ औं छायाँछवि डि सिने अवार्डका अवसरमा प्रदान गरिने जानकारी गराए । अवार्ड भव्य एवं सभ्य रुपमा सम्पन्न हुनेमा विश्वास रहेको छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले बताए ।

चैत्र १२ गते गर्नेगरी यसअघि घोषित १२ औं डी सिने अवार्ड प्रविधिक कारणबस चैत्र २६ गतेलाई सारिएको डी सिने अवार्डका कार्यक्रम संयोजक समिर लामाले जानकारी गराएका छन् ।

  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार १६:३५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया