राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवाले अबको कति समयमा देश बनाउन सक्छन् भन्ने प्रश्नको उत्तर दिन नेपाली कांग्रेसका नेताहरूलाई चुनौती दिएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।
उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले कति समयमा देश बनाउन सक्छन् भन्ने प्रश्नको उत्तर उनीहरूसँग नै नभएको आरोपसमेत लगाए । उनले आगामी निर्वाचनमा भ्रष्ट नेतालाई भोट नदिने हो भने त्यो सजाय खुकुरी र तरबार चलाएको भन्दा ठूलो हुने बताए ।
अध्यक्ष लिङ्देनले ३१ वर्षसम्म नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नै सरकार चलाइरहेको भन्दै अब पनि उनीहरूलाई नै जिताएर देश बन्छ भन्नु मूर्खता भएको बताए । उनले आफ्नो पार्टीले ५ वर्ष मात्रै देशको नेतृत्व पाए देशको मुहार फेर्ने गरी काम गर्ने दाबी गरे ।
अध्यक्ष लिङ्देनले जनताको हातमा पुनः शक्ति आउन लागेको भन्दै मत रुपी शक्तिलाई उचित सदुपयोग गर्न आग्रह गरे । उनले कांग्रेस, एमाले र माओवादीप्रति लक्षित गर्दै साँढेको टाँगमुनि बाल्टी थापेर दूध नआउने बताए । अध्यक्ष लिङ्देनले मूलधारमा रहेको पार्टीहरूको दिमाग बाँझो भइसकेको भन्दै जति भोट दिए पनि उनीहरूले देश नबनाउने दाबी गरे ।
अध्यक्ष लिङ्देनले राप्रपालाई एक पटक सरकारको नेतृत्वको जिम्मा दिएर हेर्न पनि आग्रह गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।