पिएनजीले जित्यो नेपालविरुद्धको एकदिवसीय सिरिज

पपुवा न्युगिनी (पिएनजी)ले नेपालविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमाथि कब्जा जमाएको छ ।

दोस्रो तथा अन्तिम खेलमा शनिबार ३ विकेटको जित निकाल्दै पिएनजीले २ खेलको सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमा उ ६ रनले विजयी भएको थियो ।

२७९ रनको लक्ष्य पिएनजीले ४८.४ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो । उसका लागि लिगा सियाकाले ९० रनको उत्कृष्ट पारी खेले ।

३२.४ ओभरमा पवन सर्राफले बोल्ड गराउनुअघि उनले १०२ बलको सामना गर्दै १२ चौका र १ छक्का प्रहार गरे । 

चौथो विकेटका लागि सियका र सेसे बाउले ११० रनको शतकीय साझेदारी गर्दै पिएनजीको पारी उकासेका थिए । बाउले ३८ रन बनाए । रिले हिकुरे ४८ रनमा अविजित रहँदा चार्ल्स अमिनीले ३५ रन जोडे ।

नेपालका लागि सोमपाल कामीले ३, पवन सर्राफले २ तथा तथा कप्तान सन्दीप लामिछाने र आरिफ शेखले १–१ विकेट हात पारे । 
 
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७८ रन बनाएको थियो ।



नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतकीय पारी खेले । उनले १४० बलमा ७ चौका सहित १०५ रन बनाए । यो दीपेन्द्रको एकदिवसीय करिअरको पहिलो शतक हो ।  

योसँगै दीपेन्द्र नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि पूर्व कप्तान पारस खड्का र युवा ब्याटर रोहितकुमार पौडेलले यो सफलता प्राप्त गरेका थिए । 



पारसले सन् २०१९ मा युएई तथा रोहितले यही सिरिजको पहिलो खेलमा शुक्रबार पिएनजीविरुद्ध नै शतक प्रहार गरेका हुन् ।  

सुरुवातमै २ विकेट गुमाएको अवस्थामा तेस्रो विकेटका लागि दीपेन्द्र र देव खनालले १२९ रनको उत्कृष्ट साझेदारी गर्दै नेपालको पारी सम्हालेका थिए । 

यो साझेदारी एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि कुनै पनि विकेटका लागि सर्वाधिक हो । यसअघि रोहितकुमार पौडेलले र आरिफ शेखले पाँचौ विकेटका लागि गरेको १०४ रनको साझेदारी नेपालका लागि सर्वाधिक थियो ।

देव ८६ बलमा ४ चौका र ३ छक्का सहित ७२ रन बनाएर आउट भए । दीपेन्द्रले चौथो विकेटका लागि रोहितकुमार पौडेलसँग ५८ रनको साझेदारी गरे । रोहितले ३५ रन बनाए ।
 
त्यस्तै, दीपेन्द्र र भिम सार्कीले पाँचौ विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । भिम २६ रन बनाएर पेभलियन फर्किए । 

कप्तान सन्दीप लामिछाने २४ रनमा अविजित रहे । ९ बलको सामना गरेका उनले २ चौका र १ छक्का प्रहार गरे ।  

पिएनजीका लागि अली नाआले ३, नोर्मन भानुआ २ तथा चाड सोपर र चार्ल्स अमिनीले १–१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

  • प्रकाशित मिति : चैत १२, २०७८ शनिबार १७:१७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया