पुल निर्माणको सुरुबाटै अनुगमन गरिनेः मन्त्री महासेठ

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी दिनमा निर्माण हुने नयाँ पुल गुणस्तरीय बनाउन निर्माणको सुरुआती चरणदेखि नै अनुगमन गरिने बताएका छन् । मन्त्रालयले आयोजना गरेको दोस्रो चरणको पुल निर्माण तथा सुधार कार्यक्रममा मन्त्री महासेठले यसअघि निर्माण भएका पुलको गुणस्तरीय नहुनुको मुख्य कारण निर्माण सकेपछि अन्तिम चरणमा मात्र गरिने अनुगमन रहेको भन्दै त्यसलाई सच्याइने बताए । 

पुल निर्माणका लागि जिम्मा लिएको कम्पनीलाई आफ्नो कामप्रति जिम्मेवार भएर प्रभावकारी रुपमा लागि पर्न मन्त्रीले निर्देशन दिए । मन्त्रालयका सचिव मधुसुधन अधिकारीले निर्माण गर्ने इन्जिनियरलाई निर्माणसम्बन्धी तालिम दिएर अब निर्माण हुने पुल लामो समयसम्म सञ्चालन गर्न सकिने गरी दिगो बनाउनुपर्ने बताए । 

सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले नयाँ पुल निर्माणसँगै भएका पुराना पुल मर्मतको काम पनि त्यतिकै आवश्यक रहेकोमा जोड दिए । विश्व बैंकका प्रतिनिधि ओस्नी क्युले पुल निर्माण तथा मर्मत कार्य निर्धारित समयमै सकिनेमा आफू ढुक्क रहेको धारणा राखे । यस कार्यक्रमअन्तर्गत मुख्य राजमार्गका निर्माण भएका पुलको मर्मत र निर्माणको काम पर्ने सडक विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए । 

पञ्चवर्षे योजनाअनुरुप २०१८ डिसेम्बरदेखि २०२३ जुलाइसम्म यो कार्यक्रम रहनेछ । यस अवधिमा कतिवटा पुल निर्माण र मर्मत गरिन्छन् भन्ने अहिलेनै यकिन भने भएको छैन । वार्षिक १० वटासम्म पुल निर्माण सम्मन्न हुने गरेको विभागका पुल महाशाखा प्रमुख दीपक भट्टराइले जानकारी दिए । 
 





  • प्रकाशित मिति : पुस ६, २०७५ शुक्रबार १७:४८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया