ती खाटहरू जहाँ सुखद भविष्यका सपना निचोरिन्छन्

काठमाडौं– सुनौला खाटहरू हलमा लहरै सजाइएको छ, तर यो फर्निचर सोरुम होइन । न त यहाँ राखिएका खाटमा सुत्न नै सकिन्छ । आर्ट काउन्सिल, बबरमहलको हलमा सजाइएका यी खाट कलाकार शिलाशा राजभण्डारीका कला हुन् । 

‘म्यारिज ट्याबुज सिरिज’ नाम दिइएको यो इन्सटलेसन कलामा ९/१२ इन्चका ३२ वटा खाट छन् । हरेक खाटमा राखिएका स–साना बेडका तन्नामा एक–एक महिलाका फोटो छापिएका छन् । ‘तन्ना कटनको हो र प्रत्येकमा छापिएका फोटो अनुसन्धानका क्रममा भेटिएका विभिन्न महिलाका वास्तविक फोटो नै हुन्,’ शिलाशाले प्रस्ट्याइन् ।

मुहारचित्रमाथि विभिन्न आकृतिहरू धागोले बुनिएको (इम्ब्रोइडरी) छ । एउटा खटियामा धागोले बुनेर लेखिएको छ– जहाँ स्त्रीः त्यहाँ श्री । अर्कोमा बुनिएका अक्षरले भन्छन्– श्रीमतीको शृंगार लोग्ने । दूध उम्लिए अगेनामा, छोरी उम्लिए भंगलामा । छोरी, बुहारीलाई हेपेर बनाइएका यस्ता उखान, टुक्काहरू बुन्न किन मन लाग्यो त शिलाशालाई ?

उनी व्याख्या गर्छिन्, ‘नेपाली समाजमा छोरीलाई लक्ष्मीको रूपमा पनि मान्ने गरिन्छ, भनिन्छ ‘जहाँ स्त्रीः त्यहाँ श्री’ । यहाँ स्त्री जातिको अस्तित्वलाई महत्वपूर्ण ठानिएको होइन । आफ्नो स्वार्थका निम्ति उपयोगी वस्तुको रूपमा मात्र हेरिएको हो । महिलालाई दैवी शक्तिको रूपमा हेरिन्छ, तर जिउँदोजाग्दो मानिस हो भनेर स्विकारिएको छैन ।’  

केही समयअघि उनले विवाहित महिलाहरूको कार्यशाला आयोजना गरिन् । खासगरी विवाह संस्थामार्फत महिलाको व्यक्तित्व र जीवनमाथि कसरी नियन्त्रण गरिन्छ भन्ने सन्दर्भमा यो कार्यशाला गरिएको थियो । कार्यशालाको एक चरणमा विवाहित महिलालाई कापीकलम दिएर आफूले भोगेको यातना, आफ्ना रिस तथा आवेगलाई अभिव्यक्त गर्न भनिएको थियो । 



सहभागी १० मध्ये ९ महिलाले पाना च्यातिनेगरी केरेर आफ्ना आवेग पोखे । तिनै किरिङमिरिङ आवेगका रेखालाई शिलाशाले जस्ताको तस्तै ट्रेस गरेर उतारिन् । अनि तिनै आकृतिलाई कपडामा छापिएका महिलाहरूको मुहारचित्रमा इम्ब्रोइडरी गरिन् । कलाकारी बेडलाई तिनै कपडाका तन्नाले मोरिएको छ ।



तन्नामाथि किन त्यस्ता आकृति धागोले बुन्नुपर्यो त ? शिलाशा आफ्नो कलाले व्यक्त गर्न खोजेको वैवाहिक बसाइँसराइको मुद्दालाई स्पष्ट पार्दै भन्छिन्, ‘अरू बसाइँसराइका बारेमा त चर्चा हुने गरेको छ । प्रशस्त अध्ययन पनि भएका छन् । तर, वैवाहिक बसाइँसराइ खासै ध्यान नदिइएको विषय हो ।’ 

विवाहको माध्यमबाट आधा आकाश ठानिने महिलाको ठूलो जनसंख्या बर्सेनि बसाइँ सर्न बाध्य हुन्छ । आफू हुर्किएको घर, परिवार र समाज छाडेर विवाह गर्नासाथ एउटी नारीले नयाँ घर, नयाँ परिवार र नयाँ समाज अपनाउनुपर्ने हुन्छ । उनी भन्छिन्, ‘विवाह संस्थामार्फत एउटी महिलाले एउटा ठाउँ छाडेर अर्कै समाज र परिवेशमा पुग्नुलाई बसाइँसराइको पुरानो परिभाषाले समेट्न सकेको छैन ।’

विवाह स्वयंमा नारीको व्यक्तित्वमाथि हस्तक्षेप गर्ने र उसको स्वतन्त्रतालाई खुम्च्याउने संस्था भएको शिलाशाको बुझाइ छ । यही बुझाइलाई उनले आफ्ना कलामार्फत उजागर गरेकी छिन् । ‘विवाहपछि एउटी नारीले भोग्नुपर्ने मनोवैज्ञानिक र सामाजिक दबाब, नयाँ परिवेशमा उसको कमजोर स्थिति र यसैको माध्यमबाट उसमाथि गरिने दमन र प्रताडना पनि कलाको विषय हुनुपर्छ,’ उनी अगाडि थप्छिन्, ‘विवाहअघि र पछि एउटी नारीको मनोदशा बिल्कुलै भिन्न हुने गर्छ ।’

महिलामाथि हुने शोषण र दमनलाई संस्थागत गर्ने महत्वपूर्ण संस्था नै विवाह भएको उनको ठम्याइ छ । ‘छोरी र आमाको बारेमा भन्दा धेरै बढी हेप्ने र उडाउने उखानटुक्का बुहारीको बारेमा बनेका छन्,’ उनी अगाडि भन्छिन्, ‘ हिन्दू धर्ममा कन्यादान भन्ने शब्द छ । त्यसैले विवाहमा सम्बन्ध विस्तार गर्ने पनि होइन, दान गर्ने अर्थात् आउँदो दिनमा कुनै स्वामित्व नरहने गरी छुट्याउने हो । ‘कन्यादान’ले महिलालाई बस्तुकरण गर्न सहयोग गरेको छ ।’

‘जबजब विवाहको कुरा आउँछ, पारिवारिक मिलन, नयाँ जिन्दगी सुरु हुने आदि भनेर व्याख्या गरिन्छ,’ शिलाशा भन्छिन्, ‘तर, महिलाले आफ्नो परिवार छाडेको, विछोड भएको, नयाँ परिस्थितिमा घुलमिल हुन नसकेको तथ्य समाजले स्विकार्न सकेको छैन ।’ 

शिलाशाको बुझाइमा वैवाहिक बसाइँसराइ समाजले बेवास्ता गरेको पक्ष हो । यसलाई महिलाको भाग्यसँग जोडिन्छ, सहानुभूतिको आँखाले मात्र हेरिन्छ । जब कि विवाह मानिसले बनाएको साधारण नियम मात्र हो । यो व्यवस्थालाई नै विरोध गर्ने हिम्मत कसैले पनि जुटाउन सकेका छैनन् ।

महिला र पुरुषबीच भेदभाव कहाँबाट सुरु हुन्छ ? कसरी विवाहले महिलालाई विभेद गरेको छ ? आदि विषयमा राजभण्डारीले चार वर्ष अनुसन्धान गरिन् । ‘लामो समयदेखि चलिआएर परम्पराजस्तो लागेको हो, तर संसारका धेरै ठाउँमा विवाहपछि महिला श्रीमान्को घर जानुपर्ने बाध्यता छैन,’ राजभण्डारी थप्छिन्, ‘विवाह गरेर जानुपर्ने यस्तो किसिमको परम्पराले महिलालाई विभेद गरिरहेको छ ।’

लैंगिक विभेदको पहिलो कारक तत्व नै विवाह हो भन्न रुचाउँछिन्, उनी । महिला विवाह गरेर अर्काको सम्पत्ति मानिने हुँदा ऊ स्वतः पराई भई  । वंश÷विरासत थाम्ने र आफूलाई पाल्ने भ्रमले आमाबुबाले छोरालाई आफ्नो सम्झिए । त्यसैले भविष्यमा हुन सक्ने वैवाहिक सम्बन्धलाई लिएर छोराछोरीबीच जन्मदेखि नै विभेद गरिन्छ । उनी थप्छिन्, ‘पुरुषको स्वार्थ र अहम्ले समाज चलाइरहेको छ । यसका लागि विवाह संस्थाले मद्दत गरिरहेको छ ।’

उनको यो कला विवाहसम्बन्धी एकांकी बुझाइलाई लिएर नै तयार गरिएको हो । समाजमा रहेको विवाहलाई बुझ्ने अवास्तविक र पुरुषवादी चेतनालाई नै उनले ‘म्यारिज ट्याबु’ भनेकी हुन् । 

यसै सन्दर्भमा उनले बालबालिकामा विवाहसम्बन्धी कस्तो धारणा छ भनेर एउटा अनुसन्धान गरिन् । केही बालबालिकालाई आफूले विवाहबारे बुझेका कुरा चित्रमा उतार्न लगाइयो । अधिकांशले विवाहसम्बन्धी सकारात्मक धारणालाई महिला पुरुषसँगै बसेको र नकारात्मक धारणालाई महिलामाथि कुटपिट भएको चित्रमा उतारे । शिलाशाले उनीहरूको मनोभावनालाई भिजुअल आर्टमा प्रस्तुत गरिन् । भन्छिन्, ‘बच्चाहरूमा यस्तो धारण विकास हुनुको एक कारण वैवाहिक बसाइँसराइ हो । वैवाहिक बसाइँसराइले पुरुष अहमता उच्च बनाउँदै लगेको छ ।’

महिला आत्महत्याको अनुपात हेर्दा विश्वको ३७ प्रतिशत भारतका महिलाले आत्महत्या गर्छन् । त्यसमा पनि १५ देखि ३५ वर्षका महिला धेरै छन् । नेपालमा २०१० को एक रिपोर्टअनुसार नेपालमा पनि आत्महत्या गर्नुको वा प्रयास गर्नुको कारण भनेको विवाहसँग सम्बन्धित विषय देखिएको छ । घरेलु हिंसाकै तथ्यांक हेर्दा पनि विवाहित महिला ज्यादा हिंसामा परेका छन् ।

शिलाशाले आफ्ना कलामार्फत समाजको यही यथार्थलाई जिउँदो पार्न खोजेकी छिन् । उनको कलामा महिलाका दबिएका मुद्दा भेट्न सकिन्छ । यसअघिको प्रदर्शनीमा उनले दुई हत्केलालाई महिलाको जन्मघर र कर्मघरको रूपमा प्रस्तुत गरेकी थिइन् । निश्चित समयपछि ‘घर’ शब्द ‘माइती’मा परिणत भएको छ । र, अर्को हत्केलाको कुनै कुनामा ‘घर’ निर्माण भएको छ । डिसेम्बर २२ सम्म आर्ट काउन्सिल बबरमहलमा प्रदर्शन हुने सो प्रदर्शनीमा उनले नयाँ कलाकृतिमार्फत वैवाहिक बसाइँसराइलाई सार्वजनिक चासोमा ल्याउन खोजेकी छिन् ।

  • प्रकाशित मिति : पुस ७, २०७५ शनिबार ९:१८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया