[अन्तर्वार्ता] यसपालि ८ स्थानीय तह जित्छौँ, काठमाडौंबाट टिकट बाँड्नुहुन्न : बाजुरा कांग्रेस सभापति रावल

आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनले सबैतिर माहोल तातेको छ । निर्वाचन मिति नजिकिएसँगै आकांक्षीहरू मतदातासँग छलफलसमेत गर्न थालिसकेका छन् । साथै, उनीहरू टिकटका लागि शीर्ष नेताहरूकहाँ पनि धाइरहेका छन् । दलहरू उपयुक्त उम्मेदवार छान्दै चुनावमा नतिजा अपेक्षाकृत ल्याउने लक्ष्यका साथ गृहकार्य तीव्र पारिरहेका छन् । तर, अहिलेसम्म कुनै पनि शीर्ष दलले उम्मेदवारको टुंगो भने लगाउन सकेका छैनन् । दलहरूले मतदाताको भावना बुझ्न नेताहरूलाई जिल्लाजिल्लामा समेत खटाएका छन् । विशेषगरी सत्तारुढ दल नेपाली कांग्रेसले चुनावी अभियानलाई तीव्रता दिइरहेको छ । उसले पार्टीका केन्द्रीय नेताहरूलाई नै अभियानअन्तर्गत नै जिल्लामा खटाएको छ । यद्यपि, केन्द्रले चुनावी गठबन्धन गर्ने/नगर्ने औपचारिक निर्णय सार्वजनिक गर्न ढिलाइ गर्दा कार्यकर्ता अलमलमा छन् । केन्द्रमा गठबन्धन हुने/नहुने दुईथरि कुरा आइरहेका बेला जिल्लाको अवस्था चाहिँ के छ ? के जिल्लाका कांग्रेस नेताहरूको रुचि गठबन्धन गरेर चुनाव लड्ने छ ? यी र यस्तै प्रश्न फरकधारकर्मी कैलाश जोशीले त्रिवेणी नगरपालिकाका मेयरसमेत रहेका बाजुरा जिल्ला सभापति रामसिंह रावललाई सोधेका छन् :

बाजुरामा कांग्रेसले कहिले उम्मेदवार टुङ्ग्याउँछ ? 

पार्टीको केन्द्रीय बैठकमा यो विषयमा छलफल चलिरहेको छ । तालमेलको कुरा बाहिर आइरहेको छ, के हुन्छ । हामीले पालिकाहरूबाट आएको नाम यहि २५ चैतसम्म माग गरेका छौँ । विधानअनुसार नाम माग गरेका छौँ । आकांक्षीहरू धेरै छन् । महिलासहित एक पदका लागि ३ जनाको नाम पठाउन भनेको छु । त्यसैअनुसार नाम आएपछि अगाडि बढ्छौँ । धेरै आकांक्षी भएका ठाउँमा जनतामाझ जाने त्यही मिलाउन निर्देशनसमेत दिएको छु । कसैले पनि टिकट दिनु पर्दैन । टिकट जनताले दिने हो । पालिका तहमा सर्वसम्मत भएमा सुनमा सुगन्ध भइहाल्यो । यदि सहमति भएन भने जनता माझ गएर एक पदमा महिलासहित तीन जनाको नाम जिल्ला समितिलाई बुझाउन भनेका छौँ ।

पालिका तहबाट नाम आइसकेपछि अभिलेख तयार गर्छौँ । विधानमा एक महिनाअघि उम्मेदवारको टुङ्गो लगाइसक्ने भनेको छ । विधानको कुरा त टाढा गइसक्यो । त्यसले गर्दा हामी ढिलोमा वैशाख ५ गतेभित्र उम्मेदवारको फाइनल गछौँ । ताकी उम्मेदवारले १०/१२ दिन भए पनि मतदाताहरूसम्म पुग्न सकोस् ।

उम्मेदवारको टुङ्गो ढिलो गर्दा प्रचारप्रचार गर्ने समय कम हुँदैन ? यसमा के कसरी अगाडि बढ्नुहुन्छ ? 

प्रचारप्रचार त त्यसै पनि भएकै छ । ११ र १२ गते नोमिनेसन रहेको छ । १३ देखि २६ गतेसम्म नै प्रचारप्रचार हुनेछ । २७ गते मौन अवधि सुरु हुन्छ । १०/१२ दिनमा सबै मतदाताहरूको घर दैलोमा उम्मेदवारले पुगिसक्नुपर्ने छ । निर्वाचन प्रचारमा उम्मेदवार नै मतदाताहरूको घर दैलोमा पुग्न नसकेपछि पार्टीका विभिन्न कमिटीहरू पुग्ने छन् ।



जिल्लामा नेताकार्यकर्ता गठबन्धन गर्ने/नगर्ने के भन्दैछन्, अनि तपाईको धारणा के हो ?

आवश्यकताका आधारमा तालमेल पनि गर्नुपर्छ । केन्द्रले दबाब दिने कुरा हुँदैन । स्थानीय तहमा आवश्यकता परेमा हुनसक्छ । आवश्यकता छैन भने नहुन पनि सक्छ । काठमाडौंबाट सिट बाँड्ने होइन । पालिका लेभलमा जे अवस्था छ । त्यसैअनुसार अगाडि बढ्नुपर्छ भन्ने कुरा भन्दै आएको छु । मैले केन्द्रमा पनि यहि कुरा राखेको छु । दबाब दिने कुरा हुँदैन । काठमाडौं​बाट सिट दिएमा पालिका तहमा नागरिकहरूले भोट हाल्दैन । त्यसले झनै पार्टीलाई बेफाइदा हुन्छ । वडा, पालिकामा विभिन्न कमिटी छन्, त्यही निर्णय हुन आवश्यक छ । अवस्था हेरेर तालमेलको कुरा हुन्छ । जिल्लाले समेत टिकट तोक्दैन । म चाहिँ वडा तहबाट नै टुङ्ग्याउनुपर्ने पक्षमा छु । हामी जिल्लामा के गर्छ भने पालिकाको उपस्थिति आवश्यक भए पनि त्यहाँ जान्छ । नत्र भने वडाले नै टुङ्ग्याउनुपर्छ । पालिकाको अध्यक्ष/उपाध्यक्ष, मेयर/उपमेयर छान्ने हो । वडामा आभेरट्याक गर्ने अधिकारी पालिकालाई पनि छैन । जहाँ जुन दल बलियो छ । त्यहाँ कुनै तालमेलको आवश्यकता पर्दैन । बलियो भएको क्षेत्रमा हामी पनि छाड्दैनौ । अर्को तालमेल गर्नु आउने दल पनि छाड्ने होइनन् । 



यसपालि बाजुरामा कतिवटा स्थानीय तह कांग्रेसले जित्ने आँकलन गर्नुभएको छ ? 

२०७४ मा ६ वटा स्थानीय तह कांग्रेसले जितेको थियो । त्यतिबेला तीन वटा स्थानीय तहमा जित्ने आँकडा रहेको थियो । त्यतिबेला हिमाली गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका र त्रिवेणी नगरपालिका जित्ने आँकडा थियो । तर, थप तीनवटा स्थानीय तहमा उम्मेदवार बलियो भएको हुँदा पनि कांग्रेस विजयी भयो । हामीले बूढीनन्दा, बूढीगंगाा र बडिमालिका नगरपालिकामा पनि जित्यौं । अझै पनि मिलाउन सकेमा जिल्लाका ८ वटा स्थानीय तहमा कांग्रेसको जित हुन्छ । तीनवटा स्थानीय तहमा जस्तो सुकै परिस्थितिमा पनि जितिन्छ । जिल्लामा ९ वटा स्थानीय तह छन् । 

पछिल्लो समय बाजुरा कांग्रेस केमा व्यस्त छ ?

चुनावी कार्यक्रमअन्तर्गत केन्द्रबाट खटाएका प्रतिनिधिहरू वडा वडामा पुगिरहनुभएको छ । उम्मेदवारको नामावली संकलनका लागि ठूला–ठूला भेलाहरूसमेत भइरहेका छन् । ६९ वडामा चुनावी कार्यक्रम भइरहेका छन् । बुधबारबाट फेरि अर्को चरणमा कार्यक्रम गर्ने तयारी छ । त्यस्तै, कांग्रेस निर्वाचित भएका स्थानीय तहमा भएको विकास काम लिएर जनतामाझ गइरहेका छौँ । 

  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार १४:१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया