‘प्रेरणालाई दाइजो दिइएको’ जग्गाविवाद फेरि सतहमा

जग्गा विवादको विषयलाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाह फेरि सर्वोच्च अदालत पुगेकी छिन् । आफूले दाइजोस्वरूप पाएको छाउनीकाे जग्गा सरकारी सम्पत्ति नहुने भन्दै उनले शुक्रबार सर्वोच्चमा तेस्रोपटक निवदेन दर्ता गराएकी हुन् । यही विषयमा सर्वोच्चले यसअघि दुईपटक निर्णय गरिसकेको छ ।

के हो विवाद ?

सरकारले २०६४ पुस १ गते छाउनीको विजया निवाससहित १५ रोपनी १ आना जग्गा पूर्वराजा वीरेन्द्रको सम्पत्ति भएको भन्दै त्यसलाई नेपाल ट्रस्टमा गाभ्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयविरुद्ध प्रेरणा शाह सर्वोच्च पुगेकी थिइन् ।  

उनले त्यो जग्गा आफूले दाइजोमा पाएको जिकिर गर्दै सरकारले आफूलाई थाहै नदिई निर्णय गरेकाले सो निर्णय बदर गराईपाऊँ भनेर सर्वोच्चमा २०७१ माघ २५ गते रिट निवदेन दिएकी थिइन् ।

शाहको निवदेनमा फैसला गर्दै तत्कालीन प्रधानन्याधीश रामकुमारप्रसाद साह र न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले २०७२ असोजमा उक्त जग्गा प्रेरणाले पाउनुपर्ने फैसला गरेको थियो । 

साह र राणाको सो फैसला अन्तरिम संविधानविपरीत भएको, हेर्न नमिल्ने (स्वार्थ गाँसिएका) न्यायाधीश (राणा)ले हेरेको र नियतवश नै छिटो फैसला गरिएको भन्दै विवादास्पद बनेको थियो । 



आफ्नो अवकाशको पूर्वसन्ध्यामा २०७२ असार ६ गते साहले सो सम्बन्धी फैसला गरेका भए पनि फैसलाको पूर्ण पाठ भने झन्डै वर्ष दिनपछि जेठमा मात्रै तयार भएको थियो ।

सर्वोच्चले उक्त जग्गा शाहले नै पाउनुपर्ने फैसला गरेपछि फेरि नेपाल ट्रस्टको कार्यालयले उक्त जग्गा सरकारी हुने भन्दै सर्वोच्चमा निवदेन दिएको थियो । 



ट्रस्टको कार्यालयले दिएको निवदेनमाथि फैसला गर्दै तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्याायधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको संयुक्त इजलासले २०७३ माघ २१ गते अघिल्लो फैसला उल्ट्याउँदै उक्त जग्गा नेपाल ट्रस्टको नाम हुने फैसला गरेको थियोे ।

सर्वोच्चले उक्त जग्गा सरकारी हुने भन्दै फैसला गरेपछि नेपाल ट्रस्ट र काठमाडौं महानगरपालिकाले ३५ दिनभित्र घरजग्गा खाली गर्न भन्दै गत २५ वैशाखमा प्रेरणाका नाममा पत्राचार गरेको थियो । 

प्रेरणा शाहले महानगरपालिका र ट्रस्टको कार्यालयको उक्त पत्र बुझ्न आनाकानी गरेकी थिइन् । प्रेरणाले पत्र बुझ्न नमानेपछि सरकारले बल प्रयोग गर्ने चेतावनी समेत दिएको थियो ।

अब सर्वोच्च अदालतको प्रधानन्याधीश चोलेन्द्रशमशेर राणा हुने लगभग पक्का भएको छ । सोही कारण प्रेरणाले फेरि निवेदन दिएकी हुन् । प्रेरणाले गोकुलबहादुर रोकायलाई वारेस राख्दै सर्वोच्च अदालतमा शुक्रबार रिट निवेदन दर्ता गराएकी हुन् ।

आ–आफ्नै दाबी

तत्कालीन अन्तरिम संविधानमा राजाको हैसियतले ज्ञानेन्द्रका नाममा आएको सम्पत्ति राष्ट्रियकरण हुने उल्लेख थियो । अन्तरिम संविधानअनुसार २०६४ सालमा नेपाल ट्रस्ट ऐन बनेको थियो । 

सरकारले राजतन्त्र हटेपछि दरबार र राजा वीरेन्द्रसहित उनका परिवारको सम्पत्तिलाई नेपाल ट्रस्टको नाममा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार छाउनीको जग्गा पनि सरकारीकरण भएको थियो ।

८ असोज २०६७ मा मन्त्रिपरिषद्ले अधिराजकुमारी प्रेरणाले प्रयोग गर्दै आएको छाउनीस्थित सो घरजग्गासहित पूर्वराजा वीरेन्द्रको नाममा विभिन्न ३० स्थानका घरजग्गा नेपाल ट्रस्टमातहत ल्याउने निर्णय गरेको थियो ।

तर, सरकारले निर्णय गर्नुभन्दा अघि नै छाउनीको उक्त जग्गा आफूले दाइजोस्वरूप पाएको हुनाले ट्रस्टमा गाभ्ने अधिकार सरकारलाई नभएको प्रेरणाको जिकिर छ । प्रेरणाले यस्तो जिकिर गरे पनि नेपाल ट्रस्ट भने तत्कालीन अन्तरिम संविधान र २०६७ को मन्त्रिपरिषद् निर्णयको हवाला दिँदै २०६७ मै उक्त जग्गा ट्रस्टको भइसकेको दाबी आएको छ ।

कसरी पाइन् प्रेरणाले उक्त जग्गा ?

लोकतन्त्रको आन्दोलन उत्कर्षमा पुगेको समयमा तत्कालीन राजा तथा प्रेरणाका बुबा ज्ञानेन्द्रले छाउनीस्थित करिब एक अर्ब रुपैयाँभन्दा बढी मूल्य पर्ने घरजग्गा छोरी प्रेरणा राज्यलक्ष्मीलाई दाइजोस्वरूप दिएका थिए । 

राजा त्रिभुवनकी छोरी विजया शाहको नाममा रहेको सो घरजग्गा ज्ञानेन्द्रले प्रेरणाको बिहेमा दाइजो दिएका हुन् । उनको बिहे राजबहादुर सिंहसँग भएको हो ।

दाइजो दिएको तीन वर्षपछि पनि सो घरजग्गा ‘श्री ५ महाराजधिराज, नारायणहिटी राजदरबार’को नाममा श्रेस्ता कायम गरिएको थियो । सोही आधारमा सरकारले उक्त जग्गा नेपाल ट्रस्टमातहत ल्याउने निर्णय गरेको थियो ।

प्रेरणाको अटेरी 

तत्कालीन प्रधानन्यायाधिश सुुशीला कार्कीसहितको इजलासले प्रेरणाले आफ्नो भनेर दाबी गरिरहेको उक्त जग्गा सरकारको नै हुने फैसला गरेपछि काठमाडौं महानगरपालिका र नेपाल ट्रस्टको कार्यालयले प्रेरणालाई उक्त घर जग्गा छाड्न पत्राचार गरेको थियो । तर, प्रेरणाले सर्वोच्चको फैसलाको पूर्ण पाठ नआएको भन्दै पत्र बुझ्नै अस्वीकार गरिन् । 

६ चैत ०७४ मा सो फैसलाको पूर्ण पाठ प्रकाशित भएपछि, ट्रस्टले २५ वैशाखमा ३५ दिनभित्र घरजग्गा खाली गर्न भन्दै पत्राचार गरेको थियो । प्रेरणाले उक्त घरजग्गा छाड्न आनाकानी गरेपछि ट्रस्टले ४ महिनाभित्र विजयावास खाली गर्नुपर्ने बेहोरासहित प्रेरणालाई पत्र पठायो । 

ट्रस्टले अन्तिमपटक पठाएको पत्रअनुसार उनले ६ मंसिरभित्र उक्त घरजग्गा छाडिसक्नुपर्ने थियो । तर, घरजग्गा छाड्नुको सट्टा उनी पुनः सर्वोच्च पुगेकी छिन् ।
  

  • प्रकाशित मिति : पुस ७, २०७५ शनिबार १५:०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया