रुस-युक्रेन वार्तामा महत्त्वपूर्ण प्रगति, किभबाट रुसले सेना हटाउने

रुस-युक्रेनबीचको वार्तामा महत्त्वपूर्ण प्रगति देखिएको टर्कीले जनाएको छ । मंगलबार टर्कीको राजधानी इस्तानबुलमा रुस र युक्रेनका प्रतिनिधिबीच वार्ता भएको थियो ।

टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले दुई देशबीच केही विषयमा समझदारी भएको बताए । उनले दुई देशबीचको समझदारीलाई स्वागत गरेको पनि बताए । उनले युद्ध चाँडोभन्दा चाँडो अन्त्य हुनुपर्नेमा जोड दिए ।

युक्रेनको प्रतिनिधिमण्डलले वार्तापछि सुरक्षाको ग्यारेन्टी दिएमा आफ्नो देशले तटस्थ भूमिका लिने प्रतिक्रिया दिएका छन् । युक्रेनको तटस्थ स्थिति रूसको प्रमुख मागमध्ये एक हो ।

यसको मतलब युक्रेन नेटो जस्ता कुनै पनि सैन्य गठबन्धनको सदस्य हुने छैन । आफ्नो सैन्य अड्डामा कसैलाई पनि प्रवेश दिने छैन । पोल्याण्ड, इजरायल, टर्की र क्यानडा युक्रेनको सुरक्षा ग्यारेन्टर हुन सक्ने विश्वास गरिएको छ ।

युक्रेनले उक्त प्रस्तावमा क्रिमियाको अवस्थाका बारेमा १५ वर्षको परामर्श अवधि पनि समावेश हुने र पूर्ण युद्धविरामको अवस्थामा मात्र तटस्थ भूमिका लागू हुने अडान राखेको छ ।

युक्रेनी वार्ताकारहरूले वर्तमान प्रस्ताव पुटिन र जेलेन्स्की बीचको बैठकको ग्यारेन्टी हुन सक्ने पनि बताएका छन् । उनीहरूले रुसको जवाफ पर्खिरहेको पनि बताए ।



यता, रुसका शीर्ष वार्ताकार भ्लादिमिर मेडिन्स्कीले विदेशमन्त्रीहरूले समझदारीपत्रमा हस्ताक्षर गरेपछि मात्र पुटिन र जेलेन्स्कीबीच भेट हुने बताए  । वार्तापछि रुसी प्रतिनिधिले वार्ता निकै फलदायी भएको प्रतिक्रिया दिएका थिए । उनीहरूले नयाँ प्रस्ताव राखिएको र त्यसको समीक्षा गरिने पनि उल्लेख गरेका थिए । रुसी प्रतिनिधिले किभ र चेर्निहाइभमा सैन्य गतिविधिलाई उल्लेख्य रूपमा घटाउने सहमति भएको पनि बताए ।



  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार २०:११:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया