नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य कायमै रहेकाले स्थानीय आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गरेर जानुपर्ने अवस्था आएकाे बताएका छन् ।
आज राजधानीको बुद्धनगरमा आयोजित स्थानीयसँगको भेटघाटमा नेता सिंहले यस्ताे बताएका हुन् ।
तालमेलकाे माेडालिटी तय गर्न गठबन्धनका दलहरूबीच छिट्टै बैठक बस्ने उनकाे भनाइ छ ।
उनले भने, 'संसदमा कांग्रेसकाे उपस्थिति कस्तो थियो, कसरी र कसका कारण कांग्रेसकाे नेतृत्वमा सरकार निर्माण भयाे । यी सबै कुराकाे ख्याल राख्नुपर्छ । गठबन्धनको औचित्य बाँकी नै छ । वास्तविक धरातमा उभिन अनुराेध गर्दछु ।'
कांग्रेस केन्द्रीय कमिटी बैठकले स्थानीय तहकाे निर्वाचनमा आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गर्ने निर्णय गरेकाे थियाे ।
अब मतदाताले पनि चुनावमा लेखाजाेखा गर्ने बेला आएकाे पनि उनले बताए ।
'देश र जनताका लागि कुन पार्टीले के गरेका छन् भनेर अब मूल्यांकन हुन्छ', सिंहले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।