स्थानीय आवश्यकताअनुसार तालमेल गर्ने कांग्रेस निर्णयबाट माओवादी-समाजवादी सशंकित

नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार अन्य पाँच दलसँग चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ । तर, यसमा उसले राखेको सर्त छ- स्थानीय आवश्यकता र परिस्थितिअनुसार चुनावी तालमेल हुनसक्छ ।

नेपाली कांग्रेसको निर्णय आएपछि सत्ता साझेदार दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले पार्टी भित्र कांग्रेसको निर्णयबारे छलफल गरेका छन् । 

कांग्रेसले स्थानीय आवश्यकताअनुसार चुनावी तालमेल गर्ने बताए पनि यसको मोडालिटी के हुने भन्नेबारे अहिलेसम्म खुलाएको छैन । 

कांग्रेसको विधानअनुसार महानगरपालिकाका उम्मेदवार केन्द्रबाट नै चयन हुने भएकाले यो तालमेलका लागि गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्ने तयारी गरिएको छ ।

चुनावी तालमेलको मोडालिटी तयार पार्न र महानगर तथा उपमहानगरको विषयमा टुंगो लगाउन गठबन्धनको बैठक बिहीबार बस्ने तय भएको छ । 

चुनावी अभियानका लागि नै चितवन पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बस्ने गठबन्धनको बैठकमा यसबारे केही न केही छलफल हुने बताएका छन् ।



‘महानगर र उपमहानगरलाई सकेसम्म केन्द्रबाट नै तालमेल गर्ने भनेर छलफल चलिरहेको छ’, उनले चितवनमा भनेका छन्, ‘भोलि गठबन्धनको बैठक बस्दैछ, सम्भवत महानगरपालिकाको बारेमा केही न केही निर्णयमा हामी पुग्छौँ । तालमेलकै निर्णय हुन्छ ।’

पछिल्लो समय भरतपुर महानगरपालिकामा आफूहरूले मेयरको उम्मेदवार पाउनु पर्ने चितवनका कांग्रेसका नेताहरूले दाबी गरिरहेका छन् । 



तर, बुधबार दिउँसो चितवनमा प्रचण्डले भरतपुर महानगरपालिकामा आफूहरुले नै मेयरको दाबी गर्ने बताएका छन् ।

अर्कोतिर, चुनावी तालमेललाई स्थानीय तहको परिस्थिति र अवस्थाअनुसार गर्ने कांग्रेसको निर्णयले यसअघि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले अगाडि सारेका मोडालिटीमा असफल हुने अवस्था आएको छ ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघिको स्थानीय निर्वाचनमा माओवादीले जितेका स्थानीय तह माओवादीलाई नै दिने र नेकपा एमालेले जितेका स्थानीय तह एकीकृत समाजवादीलाई दिने प्रस्ताव अगाडि सारेका थिए ।

‘तर, स्थानीय आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने कांग्रेसको निर्णयले केन्द्रबाट अब मोडालिटी नबन्ने भएको छ’, एक कांग्रेस केन्द्रीय सदस्यले फरकधारलाई भने, ‘यसले गर्दा माओवादी र नेकपा एकीकृत समाजवादीले आफूहरूले चाहेजति उम्मेदवारको संख्या नपाउने हो कि भन्ने अनुमान गर्न थालेका छन् ।’

कांग्रेसको निर्णय सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्रका नेताहरुले यसको मोडालिटीबारे थप छलफल गर्नु पर्ने अभिव्यक्ति दिइसकेका छन् ।

कांग्रेसको निर्णयको वास्तविक मर्म, अभिप्राय के हो भन्ने विषयमा छलफल आवश्यक रहेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताएका छन् । अर्का माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भने कांग्रेसको निर्णय माओवादी केन्द्रसँग नै छलफलको आधारमा आएको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीका नेताहरू आफ्नो दल नयाँ भएकाले यसलाई कसरी लागू गर्ने भन्ने विषयमा समेत अन्योल हुनसक्ने अभिव्यक्ति दिइरहेका छन् ।

कांग्रेसको निर्णय आएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष क्रमशः पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले यस विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोनमा वार्ता गरेका छन् । यही टेलिफोन सम्पर्कपछि गठबन्धनको बैठक बिहीबार बस्ने तय भएको हो । 
 

  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार १३:२८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया