[स्थानीय निर्वाचन] तालमेलको केन्द्रमा भरतपुर : दबाबमा कांग्रेस, के गर्ला माओवादी ?
सबैको चासो हुँदा केन्द्रबाट होला निर्णय ?

यतिबेला देशैभर चुनावी माहोल बढेको छ । हिजो मात्रै सत्तारुढ मुख्य घटक नेपाली कांग्रेसले सत्ता गठबन्धनबीच ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा ‘आवश्यकताअनुसार तालमेल गर्ने’ निर्णय गर्‍यो ।

कांग्रेसको सो निर्णयबारे विभिन्न टीकाटिप्पणी सुरु भइरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बुधबार बिहानै चितवन हानिए । चितवन पुग्नेबित्तिकै प्रचण्डले मंगलबारको कांग्रेस निर्णयमा आड लिँदै भरतपुर महानगरमा माओवादीको दाबी रहेको बताएका छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग प्रचण्डले भनेका छन्, ‘भोलि हाम्रो गठबन्धनको बैठक बस्दै छ । सम्भवतः महानगरपालिकाको बारेमा केही न केही निर्णयमा पुग्छौं । तालमेलकै निर्णय हुन्छ, भरतपुरको मेयरमा हाम्रो दाबी रहन्छ ।’

त्यसो त, भरतपुर महानगरपालिकाको मेयरका लागि कांग्रेसले पनि आफ्नो दाबी छाडेको छैन । अघिल्लो स्थानीय चुनावमा देशकै सबैभन्दा बढी चर्चामा रहेको यस महानगरको नेतृत्व हत्याउन गठबन्धनबीच नै रस्साकस्सी चल्ने प्रचण्डको यो दाबीले संकेत गरेको छ ।

तालमेलको केन्द्रमा भरतपुर महानगर

राजनीतिक दृष्टिले चितवन जिल्लालाई यसै पनि महत्त्वपूर्ण ठाउँ मानिन्छ । अझ, ०७४ को स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकामा देखिएको दृश्यले झनै चर्चित छ ।



अहिले पनि सत्ता गठबन्धनभित्र भरतपुर महानगरपालिकाको विषयलाई लिएर चर्चा सुरु भएको छ । सबैको ध्यान सत्ता गठबन्धनभित्र भरतपुरका बारेमा कस्तो सहमति बन्छ भन्नेतिर नै छ ।

यो महानगरपालिकामा सबैको ध्यान हुनुको कारण अहिले एमालेले पनि यसलाई प्रतिष्ठाको विषय बनाउनु पनि हो । एमालेले यसअघि कांग्रेस र माओवादी केन्द्रबीच तालमेल हुँदा पनि एमाले उम्मदेवार देवीप्रसाद ज्ञवालीले कडा टक्कर दिएका थिए ।



उता, प्रचण्डले भने भरतपुर महानगरपालिकामा रेनु दाहाललाई नै निरन्तरता दिन चाहेका छन् । तर, चितवन कांग्रेसले भने केन्द्रमा जे–जे भए पनि पालना नगर्ने बताउँदै आएको छ । त्यसो त, ०७४ मा  प्रचण्डपुत्री रेणुलाई सहयोग गर्न देउवाले ‘जबर्जस्ती’ केन्द्रबाटै निर्णय लिएका थिए ।

कांग्रेसभित्र दबाब, केन्द्रबाट होला निर्णय ?

माओवादी अध्यक्ष प्रचण्डले महानगर र उपमहानगरपालिकामा तालमेल कसरी गर्ने भन्नेबारे केन्द्रबाटै निर्णय हुने जानकारी चितवन पुगेर आजै दिएका छन् । ०७४ मा पनि महानगर/उपमहानगरमा तालमेल गर्ने निर्णय कांग्रेस र माओवादीबीच भएको थियो  । तर, धेरै ठाउँमा कार्यान्वयन भएन ।

तालमेलको निर्णय गर्नुअघि नै कांग्रेसले भरतपुरको प्रमुखमा दिनेश कोइराला (हाल केन्द्रीय सदस्य) लाई उम्मेदवार बनाइसकेको थियो  । उनले उम्मेदवार फिर्ता गर्न नमानेपछि देउवाले केन्द्रबाटै चिठी लेखेर निर्वाचन आयोगबाट उम्मेदवारी फिर्ता गराएका थिए  । त्यसको आलोचना देउवाले लामो समयसम्म खेप्नुपरेको थियो ।

अहिले पनि देउवाले चितवनका जिल्लादेखि केन्द्रसम्मका नेताहरूलाई माओवादीलाई मेयर छाड्नका लागि 'कन्भिन्स’ गराउन कम्मर कसेका छन् । तर, चितवन कांग्रेसका नेताहरूको भने व्यापक विरोध छ । स्थानीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने र तालमेल नै गर्ने भए भरतपुर महानगरको मेयर नछाड्ने गरी हुनुपर्ने चितवन कांग्रेसका नेताहरूले ढिपी कसेका छन् ।

पार्टीको निर्णय प्रक्रियामा प्रभाव जमाउँदै आएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि भरतपुर महानगरपालिका यसपटक कांग्रेसले लिनैपर्ने पक्षमा छन् ।

कांग्रेस नेता शेखर कोइरालाले पहिल्यैदेखि भरतपुरमा माओवादीलाई छाडेर तालमेल हुन नसक्ने बताउँदै आएका छन् । चितवनमा कांग्रेस नेतृत्व कोइराला पक्षको बाहुल्य भएकाले देउवालाई ‘पेलेरै’ अघि बढ्न चुनौतीपूर्ण छ ।

०७४ लाई फर्केर हेर्दा

०७४ को स्थानीय निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबाट साझा उम्मेदवार बनेकी हुन्, रेणु । रेणुलाई जिताउन मतपत्र च्यातिएको कारणले सो महानगरपालिकाको निर्वाचन अहिले पनि चर्चामा हुनेगर्छ । अझ, एमाले नेताहरूले त ‘भरतपुरकाण्ड’ भन्दै सार्वजनिक कटाक्ष नै गरिरहेका हुन्छन् ।

०७४ को मतलाई विश्लेषण गर्दा प्रमुख पदमा कांग्रेस बलियो भएको देखिन्छ ।

कांग्रेसबाट उपप्रमुख बनेर विजयी पार्वती शाह ठकुरीले ४७ हजार १९७ प्राप्त गरेकी थिइन् । जबकि, कांग्रेसले समर्थन गरेर विजयी भएकी माओवादी उम्मेदवार दाहालले प्रमुखमा ४३ हजार १२७ मत ल्याएकी थिइन् । ठकुरीलाई प्राप्त भएअनुसारकै मत रेणुले नपाउनुले कांग्रेसका मतदाताका सबै भोट मेयरलाई गएको देखिन्न । मेयरमा पराजित एमालेका उम्मेदवार ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए ।

रेणुले झिनो अन्तरले जित निकालेकी थिइन् । प्रमुखका दुई उम्मेदवार बीचको अन्तर मात्रै २०३ थियो । त्यस्तै, एमालेबाट प्रमुखमा उम्मेदवारी दिएका ज्ञवालीले ४२ हजार ९ सय २४ मत प्राप्त गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका बद्रीनाथ तिमिल्सिनाले भने ६ हजार ८ सय ४२ मत प्राप्त गरेका थिए ।

त्यस्तै, उपप्रमुखमा एमालेकी उम्मेदवार दिव्य शर्माले ३९ हजार ५ सय २५ मत ल्याएकी थिइन् भने राप्रपाकी उम्मेदवार रीना गुरुङले ७ हजार २ सय ५२ मत ल्याएकी थिइन् ।

किन सबैको चासो भरतपुरमा ?

गत निर्वाचनमा एमालेले रणुको जितलाई अस्वभाविक र अप्राकृतिक घोषणा नै गरेको थियो । माओवादी अध्यक्ष प्रचण्डले आफ्नै पुत्री रेणुलाई जिताउन गरेको प्रयासले पनि यो क्षेत्र सधैं चर्चामा रह्यो ।

उसो त, सत्तारूढ मुख्य घटक कांग्रेसले पनि चितवनलाई ‘प्रतिष्ठा’को लडाइँका रूपमा लिएको छ । चितवनलाई कांग्रेसलाई आफ्नो बलियो आधार क्षेत्रका रूपमा लिँदै आएको छ ।

पूर्वी चितवनमा कांग्रेसको पकड कम भए पनि पश्चिम चितवनमा भने कांग्रेसको प्रभाव बढी छ ।

सोही कारणले गर्दा पनि कांग्रेसका तत्कालीन सभापति स्व. सुशील कोइरालाले दोस्रो संविधानसभा निर्वाचनमा आफ्नो गृहजिल्ला बाँकेभन्दा पहिला चितवन क्षेत्र नं ४ बाट उम्मेदवारी घोषणा गरेका थिए । उनले भारी मतका साथ निर्वाचन जितेका थिए ।

क्षेत्र नं ४ को सबै भूभाग भरतपुर महानगरपालिकाभित्र नै पर्छ । कांग्रेसको प्रभाव क्षेत्र भएका कारण पनि यहाँ ०७४ जसरी अहिले छाड्न नहुने मत बलियो बनेको हो ।

 


  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार १९:५३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया