के पूर्वराजा ज्ञानेन्द्रसँग डराएका हुन् ओली-प्रचण्ड ?

काठमाडौं– पछिल्ला केही दिनयता राजनीतिक वृत्तमा नेकपा स्थायी समिति र कांग्रेस महासमिति बैठक चर्चामा छन् ।

राजनीतिक पार्टीहरू आ–आफ्ना आन्तरिक छलफलमा व्यस्त रहेको समयमा पूर्वराजा ज्ञानेन्द्र शाह एउटा जमघटमा नाचेको तस्बिर सार्वजनिक भयो । धर्मनिरपेक्ष भनिए पनि सरकारको प्रत्यक्ष संलग्नतामा क्रिस्चियानिटीको प्रभाव रहेको ‘एसिया प्यासिफिक समिट’ काठमाडौंमा हुनु र हिन्दू धर्मका दूत भनिने भारत उत्तर प्रदेशका मुख्यमन्त्रीको जनकपुर भ्रमणले संविधानमा लेखिएको धर्मनिरपेक्षताको खिल्ली उडायो ।

सरकार नै स्वयं धार्मिक कार्यक्रममा सामेल हुन लागेपछि सरकारको आलोचना पनि तीव्र भयो । यही मौका पारेर पूर्वराजा ज्ञानेन्द्रले देशको अवस्थाप्रति चिन्ता जाहेर गर्दै एउटा विज्ञप्ति जारी गरे । विज्ञप्तिमा उनले लेखेका थिए, ‘नयाँ नेपालको सपना देखाउँदै गरिएको राजनीतिक परिवर्तनपश्चात् हाम्रो सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा क्षेत्रीय अखण्डता मक्किँदै गएको छ ।’

सरकारको निरन्तर आलोचना भइरहनु र पूर्वराजाको सक्रियता देखिएपछि सत्तासीन दलका अध्ययक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीले फरकफरक मञ्चबाट पूर्वराजालाई संकेत गर्दै एउटै आसयको अभिव्यक्ति दिए । धार्मिक कार्यक्रममा सक्रिय बनेका पूर्वराजा ज्ञानेन्द्रलाई लक्षित गर्दै ओली र प्रचण्डले ज्ञानेन्द्रलाई सचेत रहन निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले पोखरा भ्रमणमा गएका राजालाई लक्षित गर्दै पुल्चोक इन्जिनियरिङ कलेजमा आयोजित एक कार्यक्रममा भने, ‘अहिले कोही देशदौडाह, तीर्थ र श्राद्धमा गएका छन् । अब लोकतन्त्रलाई तलमाथि गर्न सक्ने शक्ति छैन । हामी उपलब्धि गुम्न दिँदैनाैं ।’ 

दुई तिहाइ शक्तिसहित प्रधानमन्त्री बनेका ओलीले यस्तो अभिव्यक्ति दिएपछि धेरैको मनमा राजा फर्किन लागेको आशंका पनि उब्जियो । कतिपयले त राजासँग ओली सरकार डराएको अड्कल पनि काटे ।



ओली मात्रै होइन, उनका सहयात्री तथा नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस ९ गते दाङ पुगेर गणतन्त्र र संघीयताविरुद्ध बोल्दै नहिँड्न पूर्वराजालाई चेतावनी नै दिए । 

यतिले नपुगेर उनले राजदरबार हत्याकाडको छानबिन गर्ने तयारी भइहरेको भन्दै पूर्वराजालाई थर्काउन खोजे । पूर्वराजाको विज्ञप्तिप्रति आक्रोशित देखिएका प्रचण्डले दाङमै भने, ‘पूर्वराजा ज्ञानेन्द्रले बढी बोले अझै दुःख पाउँछन् । त्यसैले उनी अहिले चुप लागेर बस्नु नै बेस हुन्छ ।’



दाङको कार्यक्रमबाट प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई चुप लागेर बस्न निर्देशन नै दिए । यसअघि मंसिर २४ गते पनि प्रचण्डले कास्कीबाट ज्ञानेन्द्रलाई लक्षित गर्दै भाषण गरेका थिए । कास्कीको माग्दे गाउँपालिकामा आयोजित एउटा कार्यक्रममा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाई ‘किन होटलमा खुसियाली मनाउँदै नाच्दै हिँडेको ?’ भन्दै प्रश्न गरेका थिए । ज्ञानेन्द्र आफ्ना ज्वाइँको जन्मदिनमा आयोजित एउटा पार्टीमा नाचेका थिए ।

पूर्वराजाको सक्रियतासँगै उनले विज्ञप्ति पनि जारी गरेपछि मन्त्रिपरिषद्ले दरबार हत्याकाण्डको छानबिन गर्ने घोषणा नै गरेको कुरा पनि बाहिर ल्याइयो । २०६२/०६३ को आन्दोलनपछि सामान्य नागरिकको भूमिकामा आएका पूर्वराजा ज्ञानेन्द्रको सक्रियतासँग दुई तिहाइ बहुमतको सरकार डराएको देख्दा सर्वसाधारण मात्रै होइन, राजनीतिक विश्लेषक पनि अचम्मित छन् ।

राजनीतिक विश्लेषक उज्ज्वल प्रसाईं प्रश्न गर्छन्, ‘अब यो नाच्ने-गाउने विषयमा किन कमेन्ट गर्नुपरेको होला ?’ सामान्य नागरिकसरह पूर्वराजाले पनि नाच्न र गाउन पाउने तर्क दिँदै प्रसाईं भन्छन्, ‘सामान्य नागरिकको हैसियतमा उनले (ज्ञानेन्द्र) नाचे-गाएको विषयमा आत्तिहाल्नुपर्ने कुरा त थिएन ।’

भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेको केही समयपछि नै पूर्वराजाले जारी गरेको विज्ञप्तिमा हिन्दू धर्म परम्परा र संस्कृति खतरामा परेको र त्यसलाई जोगाउन आह्वान गरिएको थियो । 

पूर्वराजाको यो अभिव्यक्तिलाई धेरैले राजतन्त्र फर्किने तयारीमा लागेको संकेतको रूपमा बुझेका थिए । प्रचण्ड र ओली पनि यसरी नै बुझेर पूर्वराजा ज्ञानेन्द्रलाई लक्षित गर्दै भाषण गरेका थिए ।

तर, राजनीतिक विश्लेषकहरू भने यसरी ज्ञानेन्द्रलाई गाली नै गर्नुपर्ने अवस्था भने नरहेको बताउँछन् । नेताहरूले आफूले राम्रो काम गर्न नसकेपछि ज्ञानेन्द्रमाथि खनिएको बताउँछन् राजनीतिक विश्लेषक प्रसाई । उनी भन्छन्, ‘नेताहरूले आफूले राम्रो काम गर्नुपर्याे नि, आफू काम गर्न सक्दैनन् अनि अरूमाथि खनिन्छन् ।’

संविधानमा धर्मनिरपेक्ष लेखिए पनि सरकार इसाई धर्मको कार्यक्रममा संलग्न रहनु, समृद्धिका नाममा गफ मात्र दिन छाडेर इमानदारीपूर्वक आफूले गरेका वाचा पूरा गर्नतर्फ लागे राजा सक्रिय हुनुको तुक नहुने प्रसाईंको तर्क छ ।

लामो समयको आन्दोलनपछि जनताले नै हटाएको राजतन्त्रात्मक व्यवस्था फर्काउन जनताले नचाहेको तर्कमा प्रसाईं शंका व्यक्त गर्दै भन्छन्, ‘तर, नेताहरूको यस्तै तिकडमबाजी रहने हो भने राजतन्त्र मात्रै होइन, अरू खेलाडी पनि सक्रिय हुन सक्छन् ।’

प्रचण्डले पूर्वराजालाई लक्षित गर्दै अभिव्यक्ति दिएपछि सुदूरपश्चिम प्रदेश पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले व्यंग्य गर्दै ज्ञानेन्द्र नाच्दैमा हल्लिने यो कस्तो गणतन्त्र हो भनेर प्रश्न पनि गरेका थिए ।

यता, प्राध्यापक तथा राजनीतिक विश्लेषक युवराज संग्रौला भने यसलाई सामान्य रूपमा लिनुपर्ने बताउँछन् । गणतन्त्रमा सबैले आआफ्ना अभिव्यक्ति राख्न पाउने तर्क दिँदै उनी भन्छन्, ‘यो सामान्य विषय हो । यसलाई सामान्य रूपमा लिनुपर्छ ।’

राजनीतिक वृत्तमा बेला–बेला हुने यस्ता घटनालाई उनी राजनीतिक मजाकको रूपमा लिनुपर्ने ठान्छन् । सरकार वा नेताले कुनै काम नपाएपछि जनतालाई मनरोञ्जन दिन यस्ता हर्कत गर्ने गरेको उनको ठहर छ । सरकार र सत्तासीन दलका नेताहरू देश विकास गर्नुभन्दा ससाना कुरामा अल्झिने र राजनीतिक चटक देखाउने उनीहरूको प्रवृत्तिले देशलाई नै अप्ठ्यारोमा पार्ने पनि संग्रौलाको तर्क छ ।

व्यक्तिविशेषलाई गाली गर्ने र चेतावनी दिनेभन्दा गणतन्त्र, संघीयता संस्थागत गर्न सरकार र नेताहरू सक्रिय हुनुपर्ने विश्लेषकहरूको सुझाव छ । अहिले ज्ञानेन्द्र वा अरू कसैलाई गाली गर्नुभन्दा आफूले गरेका वाचा पूरा गर्ने र संघीयता कार्यान्वयनतर्फ लाग्नुपर्ने प्रसाईंको जोड छ ।
 

  • प्रकाशित मिति : पुस ८, २०७५ आइतबार १४:८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया