भारतसँग टेस्ट खेल्दै अस्ट्रेलियाका ७ वर्षीय आर्ची

एजेन्सी– भारतसँग जारी सिरिजअन्तर्गत तेस्रो टेस्टमा अस्ट्रेलियाले नयाँ खेलाडी उतार्ने भएको छ । २६ डिसेम्बरदेखि हुने तेस्रो टेस्टका लागि अस्ट्रेलियाले आफ्नो १५ सदस्यीय टिममा ७ वर्षका लेग स्पिनर आर्चीलाई समावेश गरेको हो । 

आर्ची भारतसँगको तेस्रो टेस्टअन्तर्गत ‘बक्सिङ डे’मा अस्ट्रेलियन टिमको को–क्याप्टेन हुनेछन् । अस्ट्रेलियन क्रिकेटका कप्तान टिम पेनले शनिबार आर्चीको सातौँ जन्मदिनको अवसरमा यो घोषणा गरेका थिए । यसलाई अस्ट्रेलियन क्रिकेट बोर्डले पनि पुष्टि गरेको छ । 

आर्चीेले सिरिज सुरु हुनुअघि अस्ट्रेलियन क्रिकेट टिमसँगै अभ्यास पनि गरेका थिए । अस्ट्रेलियन टिमबाट आर्चीले खेल्ने समाचार अघिल्लो महिना नै अस्ट्रेलियन क्रिकेटको आधिकारिक वेबसाइटबाट सार्वजनिक भएको थियो । 

अस्ट्रेलियामा चलिरहेको ‘मेक अ विस अस्ट्रेलिया’ अभियानले उनलाई राष्ट्रिय टिमबाट खेल्ने अवसर जुराएको हो । यो निकै गम्भीर अवस्थामा रहेका वालबालिकाको इच्छा पूरा गर्ने कोसिस हो ।



सानै उमेरमा आर्चीले धेरै समस्या भोगिसकेका छन् । उनलाई पहिलोपटक तीन महिनाको हुँदा मुटुको समस्या देखिएको थियो । त्यसैका कारण उनको ७ घन्टाभन्दा लामो शल्यक्रिया गर्नुपरेको थियो । 

त्यसको ६ महिनापछि उनको मुटुको भल्वमा फेरि समस्या देखियो । लामो समय उपचारमा बित्यो । 



गत वर्ष डिसेम्बरमा उनको समस्या फेरि बल्झियो । तेस्रोपटक भने उनको ओपन हार्ट सर्जरी गरियो । यो शल्यक्रियाका वेला उनको परिवारलाई ‘बच्चालाई जे पनि हुनसक्ने’ बताइएको थियो । त्यतिखेर छोरो फर्केर आउने कमै मात्र आशा लागेको उनकी आमा बताउँछिन् । 

उनकी आमा सारा भन्छिन्, ‘आर्ची आफ्नो स्कुललाई सम्झिरहन्छ । उसलाई यो मौका गुमायो भने फेरि अर्काेपटक आउँदैन भन्ने लागेको छ ।’

एक दिन आर्ची घर आए र भने, ‘मैले साथीहरुलाई भेटिनँ, मसँग उनीहरुको पछि दैडने ऊर्जा पनि थिएन । त्यसैले, म त्यहीँ बसेर किताब पढ्न थालेँ ।’

यो कुराले सारालाई निकै दुःखी बनायो । अर्काेतिर, छोराले निकै जिम्मेवार फैसला लिएकोमा खुसी पनि भइन् उनी । अहिले मेक अ विसको पहलमा छोराको अस्ट्रेलियन टिमको क्याप्टेन बन्ने सपना पूरा हुँदा सारा निकै खुसी छिन् । 

अस्ट्रेलियन टिमका क्यप्टेन टिम पेनका भन्छन्, ‘आर्ची र उनको परिवारले निकै दुःखद् समय बिताएका छन् । जब उनको पिताले उनलाई के बन्न चाहन्छौ भनेर सोधे, उनले ‘अस्ट्रेलियाको क्याप्टेन बन्न चाहन्छु’ भने । यस्तो व्यक्ति हाम्रो टिममा हुनु निकै प्रेरणादायक कुरा हो । बक्सिङ डेमा उनलाई देखाउन हामी निकै उत्साहित छौँ ।’


 

  • प्रकाशित मिति : पुस ८, २०७५ आइतबार २०:३३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया