प्रधानमन्त्री देउवा र मोदीले हरियो झण्डा देखाएपछि गुड्यो नेपाली रेल

जयनगर–जनकपुरधाम–कुर्था रेल्वे सेवा शनिबारदेखि सञ्चालनमा आएको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा दिल्लीस्थित हैदराबास हाउसबाट हरियो झण्डा देखाएसँगै रेल्वे सञ्चालनमा आएको हो । 

प्रधानमन्त्रीद्वय देउवा र मोदीले दिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा रेल्वे उद्घाटन गरेका हुन् । भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३४ दशमलव ९ किलोमिटरसम्म चल्ने रेल्वे प्रधानमन्त्रीद्वयले भर्चुअल उद्घाटन गरेसँगै जयनगरबाट जनकपुरधामका लागि प्रस्थान गरेको छ । 

रेल्वे उद्घाटनपछि प्रत्येक स्टेसनमा नागरिक अभिनन्दनका लागि रेल रोकिने रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले बताए । 

उनले भने, ‘अभिनन्दनका लागि हरेक स्टेसनमा छात्र–छात्राहरू नेपाल र भारतको झण्डासहित रेल्वेमा आईरहेका छन् । कुर्थासम्म पुगेर फर्केपछि जनकपुरधाममा भव्य कार्यक्रमको आयोजना भईरहेको छ ।’

शनिबार उद्घाटन भएसँगै आइतबारदेखि दैनिक रूपमा दुई पटक आउने जाने गरी रेल चल्ने महाप्रबन्धक झाले बताए । 

बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्नेछ भने दुई घण्टापछि कुर्था स्टेशनमा पुग्नेछ । 



जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि निस्किने रेल साढे १२ बजे जयनगर स्टेसनमा पुग्ने महाप्रबन्धक झाले बताए । 

जयनगर गएको रेल पुनः ३ बजे फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको छ । यसैगरी नै नियमित रूपमा रेल्वे सञ्चालन हुने उनले बताए ।



नेपाल सरकारले खरिद गरेको दुई सेट रेल फागुन १ गते देखि ‘ड्रायरन’ गर्दै आएको छ । सुरुमा दिनहुँ एक पटक चलाए पनि १ चैतदेखि एक दिनको अन्तरालमा यात्रुबिना सञ्चालन हुँदै आएको थियो । 

रेल्वे अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन सकिरहेको थिएन । केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश पुनः जारी गरेकी थिइन् । 


  • प्रकाशित मिति : चैत १९, २०७८ शनिबार १३:२२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया