राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलहरूले जनमतको कदर गर्न नसकेको आरोप लगाएका छन् । मोरङको रतुमाईमास्थित दाम्राभिट्टामा आयोजित वृहत आमसभालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले जनमत पाएर पनि देश बनाउन नसकेको आरोप लगाएका हुन् ।
यी दललाई निर्वाचनमा विजयी बनाएर देश बन्छभन्दा पश्चातापबाहेक केही हात नपर्ने उनले बताए । अध्यक्ष लिङ्देनले देशका प्रमुख राजनीतिक दललाई देश र जनताले महसुस हुने गरी गरेको काम देखाउन चुनौतीसमेत दिए । उनले यस्ता राजनीतिक दललाई फेरि पनि सत्तामा पुर्याउनु देशलाई थप बरबादीको दिशातर्फ धकेल्ने काम हुने बताए ।
लिङ्देनले ठूला दलबाट देश बन्छ भनेर अपेक्षा गर्नु दूध दुहनका लागि साँढेको टाङमुनि बाल्टी थाप्नु जस्तै भएको टिप्पणी गरे । उनले भने, ‘साँढेको टाङमुनि बाल्टी थापेर साँढेले दूध दिएन भनेर त्यसलाई सुम्सुम्याउँदा, कन्याउँदा, हैन यसलाई खाना पुगेन भनेर दाना थप्दा पनि दूध दिँदैन । ठूला दलबाट देश बन्छ भनेर अपेक्षा गर्नु हो त्यस्तै हो ।’
उनले शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड कति पटक प्रधानमन्त्री भए देश बन्छ भनेर प्रश्नसमेत गरे । ‘अब तिनै पार्टी, तिनै नेताबाट देश बन्छ भनेर तिनैलाई हाम्रो बाजेको पार्टी बाउको पार्टी मैले यति लेबी तिरेको भनेर भोट दिइराख्नु भनेको र यिनै पार्टीबाट देश बन्छ भनेर अपेक्षा राख्नु भनेको साँढेको टाङमुनि बाल्टी थाप्नु जस्तै हो,’ उनले भने, ‘जबसम्म तिनै पार्टीलाई भोट हाल्नुहुन्छ तबसम्म देशले परिवर्तन र विकास प्राप्त गर्दैन ।’
लिङ्देनले देश बिगारेर असफल राष्ट्रको मुखसम्म धकेल्नमा ठूला पार्टी र नेता जस्तै अर्को चिह्नमा हात लाग्दैन भनेर भोट दिने मतदाताहरू पनि दोषी भएको बताए । शक्ति राष्ट्र नेपालमा रणनीतिक रूपमा प्रतिस्पर्धा गरिरहेको पनि उनले बताए ।
लिङ्देनले अब आउने चुनाव नेपाली जनताका लागि विगतका गल्ती सच्याउने अवसर भएको बताए । जनताले दिने एक भोटले गलत पार्टी र गलत नेताले जिते देशले दुःख पाउने पनि उनले उल्लेख गरे । ‘गलत नेता र पार्टीको चयन गर्दा देशले दुःख पाउँछ, सोचेर भोट दिनुस्’, लिङ्देनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।