नेपाल-भारत सीमा विवाद संवादमार्फत सुल्झाउनुपर्छ : भारतीय विदेश सचिव

भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलाले नेपाल–भारत सीमा विवादलाई राजनीतिकरण गर्न नहुने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे जानकारी दिन विदेश मन्त्रालयले शनिबार नयाँदिल्लीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संवादमार्फत सीमा सुल्झाउनुपर्ने जनाए । 

‘सीमा विवादबारे संक्षेपमा छलफल भयो । यो मुद्दा हाम्रो मैत्री सम्बन्धलाई ध्यानमा राखी संवादमार्फत सुल्झाउने कुरा भयो । सीमा समस्यालाई राजनीतिकरण गर्नु हुँदैन । सीमा विवाद संवादमार्फत सुल्झाउनु पर्छ,’ भारतीय विदेश सचिव श्रृंगलाले भने । 

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारत द्विपक्षीय बैठक सकिएपछि आयोजित पत्रकार सम्मेलनमा सीमा विवादबारे भारतीय समकक्षीसँग छलफल गरेको बताएका थिए । स्थापित संयन्त्र मार्फत सीमा विवाद सुल्झाउन भारतीय प्रधानमन्त्रीलाई आफूले भनेको उनले जनाएका थिए । 

‘हामीबीच धेरै मुद्दाहरु छन् । दुई छिमेकीबीच केही जटिल मुद्दा हुन्छन् । दुई छिमेकी राष्ट्र संवाद गरी आपसी समस्या समाधान गर्नुपर्छ । हामीले बंगलादेशसँग सीमा समस्या समाधान गरेका छौं । नेपाल र भारतबीच पनि संयन्त्र छन् । संवाद र छलफल गरेर समाधान निकाल्न सकिन्छ,’ श्रृंगलाले भने । 

प्रधानमन्त्री देउवाको भ्रमणलाई उनले महत्वपूर्ण बताए । द्विपक्षीय बैठकमा सबै विषयमा बृहत्त छलफल भएको उनले जनाए ।  





  • प्रकाशित मिति : चैत १९, २०७८ शनिबार १८:१३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया