आइपिएलमा गुजरातको लगातार दोस्रो जित, दिल्लीको पहिलो हार

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले लगातार दोस्रो जित दर्ता गरेको छ । गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै गुजरातले लगातार दोस्रो जित दर्ता गरेको हो । उसले पहिलो खेलमा लखनऊ सुपर जायन्ट्सलाई हराएको थियो । 

दिल्लीले भने पहिलो हार ब्यहोर्‍यो । उसले पहिलो खेलमा मुम्बई इण्डियन्सलाई ४ विकेटले हराएको थियो । दोस्रो खेलमा गुजरातले दिएको १७२ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो । 

उसका लागि ऋषभ पन्तले २९ बलमा सात चौकासहित ४३ रन बनाए पनि टिमलाई जित दिलाउन भने चुके । त्यस्तै, ललित यादव २५, रोभम्यान पावेल २०, मन्दीप सिंह १८ र पृथ्वी शा १० रनमा आउट भए । कुलदीप यादव १० रनमा  अविजित रहे ।

गुजरात टाइटन्सका लागि लकी फर्गुसनले चार, मोहम्मद शामीले दुई, हार्दिक पाण्ड्या, राशिद खानले एक/एक विकेट लिए ।  त्यसअघि पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनायो । 

उसका लागि शुभमन गिलले उत्कृष्ट पारी खेले । उनले ४६ बलमा ६ चौका र चार छक्कासहित ८४ रन बनाए । त्यस्तै, कप्तान हार्दिक पाण्ड्याले ३१, डेविड मिलरले अविजित २०, राहुल तेवटियाले १४ र विजय शंकरले १३ रनको योगदान दिए । 

दिल्लीका लागि मुस्तफिजुर रहमानले तीन, खलिल अहमदले दुई र कुलदीप यादवले एक विकेट लिए । यो जितसँगै गुजरात अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । दिल्ली चौथो स्थानमा रहेको छ ।
 





  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार ६:५०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया