आसन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनसँग चुनाव लड्नुपर्ने पक्का भएपछि नेकपा एमालेमा दबाब थपिएको छ । नेपाली कांग्रेस, एकीकृत समाजवादी, नेकपा माओवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनसँग चुनाव लड्नुपर्ने भएकाले एमालेमा दबाब थपिएको हो । २०७४ को स्थानीय चुनावमा जिल्लाकै ठूलो शक्ति बनेको एमालेलाई यसपालि साख जोगाउनुपर्ने चुनौती पनि छ । कांग्रेससहित गठबन्धनमा रहेका दलहरू चुनावी प्रचारप्रसारमा जुटिसकेका छन् । यता अघिल्लो चुनावमा ६ स्थानीय तह जितेको एमालेले पनि गठबन्धनलाई हराएर स्थान सुरक्षित गर्न गृहकार्य थालिसकेको छ । यसैबीच, ३० वैशाखमा हुन लागेको स्थानीय निर्वाचनमा केन्द्रित रहेर एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठसँग कुराकानी गरेका छौँ :
मकवानपुरमा पाँच दलको गठबन्धनमा स्थानीय तहको निर्वाचनमा जाने घोषणा भइसकेको छ, गठबन्धनसँग चुनाव लड्न एमालेको तयारी के छ ?
चुनावी अभियानअन्तर्गत हामी आफ्नो मुद्दाहरू लिएर जनताको घर आँगनमा जाँदैछौँ । समृद्धि तथा विकासको कुराहरू लिएर जाने क्रममा हामीले संघीय सरकार बनाएका छौं । प्रदेश सरकार बनाएका छौं । त्यस्तै, स्थानीय सरकार बनाएका छौं । त्यसको माध्यमबाट जनताको आवश्यकता तथा दूरगामी महत्वका विकासका कामहरू गरेका छौं । त्यही गरेका राम्रा कामहरूको तथा भोलिको दिनमा केके गर्छौ भन्ने योजनासहित जान्छौं । केन्द्रको घोषणापत्र तयार हुन्छ । जिल्लाको प्रतिबद्धता पत्र तयार हुन्छ । पालिकाको विषयहरू तयार गर्दैछौं । त्यही कुराहरू नै लिएर जाने त हो ।
उम्मेदवार छनोट कार्य कहिले सकिन्छ ?
वैशाखको पहिलो सातासम्म एमालेको उम्मेदवार टुङ्गो लगाउने छौं । त्यसको लागि हामी निरन्तर छलफलमा छौं । हामीले पार्टीको सांगठनिक संरचनाहरूलाई पूर्णता दिएर अहिले कार्यकर्ताको बीचमा छलफल तयारी सम्पन्न भसकेको छ । उम्मेदवार चयनको योजना बनाइसकेका छौं । वडा कमिटी, गाउँ कमिटी, नगर कमिटीबाट उम्मेदवारको सिफारिस आएपछि स्थानीय तह, प्रदेश र केन्द्रले उम्मेदवारको विषयमा निर्णय गर्छ । हामी प्रचारप्रसार, घरदैलो कार्यक्रम तथा भेटघाट गर्छौं ।
अघिल्लो निर्वाचनमा मकवानपुरको १० मध्ये ६ वटा स्थानीय तहमा एमालेको सरकार बन्यो । के आसन्न निर्वाचनमा एमालेले त्यो साख जोगाउन सक्ला ?
गएको स्थानीय तहमा हामीले ६ वटामा स्थानीय सरकार बनायौं । दुई स्थानीय तहमा अध्यक्ष बनाउन नसके पनि उपाध्यक्ष एमालेबाटै बनायौं । विश्वास छ हामी हिजोको साख जोगाउन सफल हुनेछौं । जनताले हामीलाई जिताउनुहुनेछ । यसमा गठबन्धनले हामीलाई त्यति असर नपर्ला । १० वटै पालिकामा जित्ने आत्मबल बढाउँदै तथा सुनिश्चितता गर्दै अगाडी बढ्ने छौं ।
अघिल्लो निर्वाचनको साख जोगाउन यसपालि एमालेलाई गठबन्धनले चुनौती थपेको हो ?
हामीसँग कुनै पनि चुनौती छैन । चुनाव भएको कारण जनताले कुन पार्टी आयोभन्दा पनि कुन पार्टीले विकासको लागि योगदान दियो । प्रदेश सरकारमा रहँदा के काम गर्यो भन्ने कुरा रहन्छ । जनताले मतदान गर्ने भएकोले गठबन्धनसँगको हामीलाई चासोको विषय भएन । जनताले को–को उठेर आयो भन्ने हेर्दैनन् । कांग्रेसले के काम गर्यो ? एमालेले के काम गर्यो ? माओवादीले के काम गर्यो ? जनताले यहि मात्रै हेर्नेछन् । हामीले के गर्यौं हामी यहि लिएर जनताको घरघर जाने छौं ।
एमालेबाट टुक्रिएको एकीकृत समाजवादी पार्टी पनि गठबन्धनमै छ, यसले गर्दा एमालेलाई कस्तो असर पर्ला ?
गठबन्धनमा कसरी गयोभन्दा पनि एक्लै चुनाव लडेर एमालेलाई कसरी हराउने भन्ने ठूलो कुरा थियो । अहिले पनि उनीहरूको चाहना भनेको आफू कसरी जित्नेभन्दा पनि एमालेलाई कसरी हराउने भन्ने रहेको छ । बरु उनीहरू कांग्रेस र माओवादीलाई जिताएर भएपनि एमालेलाई हराउने योजनामा लागि परेका छन् । एउटा राजनीतिक दलले आफू चुनावमा घोषणापत्र जारी गरेर चुनाव जित्ने हैसियत, उद्देश्य राख्दैन । यसको मतलब कति कमजोर धरातलमा छ भन्ने बुझ्नुपर्ने कुरा हो । यसकारण पनि समाजवादी कांग्रेससँगको गठबन्धनमा जाँदा हामीलाई कुनै घाटा छैन ।
पछिल्लो समय एमाले पनि राप्रपा मकवानपुरसँगको गठबन्धनमा चुनावी मैदानमा जाने तयारी भइरहेको भन्ने हल्ला छ, यो कुरा कति सत्य हो ?
राप्रपा मकवानपुरसँग हामीले गठबन्धन गर्ने कुरो गरेको छैनौं । स्थानीय तहमा आवश्यकताको आधारमा राप्रपाका उम्मेदवारसँग कतिपय ठाउँमा कुरा हुन सक्छ । जिल्ला स्तरमा भने के गर्ने भनेर हामीले छलफल गरेको छैनौं । वडा स्तर तथा पालिकास्तरका उम्मेदवारहरू मिल्न चाहान्छन् भने उनीहरूबीच यस्ता कुरा हुने सम्भावना पनि रहन सक्छ । हामीलाई सहयोग गर्ने भन्ने कुरा उठ्यो भने हामीलाई समस्या रहँदैन । कस्तो तरिकाले अघि बढ्ने भन्ने सल्लाह भयो भने त्यसमा पनि हामी छलफल गर्छौं । तर अहिलेसम्म गठबन्धनमा जाने कुनै तयारी भएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।