सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा १४ घण्टा लोडसेडिङ
फाइल तस्वीर

नेपाल विद्युत् प्राधिकरणले देशैभरका उद्योगमा अघोषित रूपमा लोडसेडिङ गरेको भन्दै उद्योग चलाउन  समस्या भएको बताएका छन् ।

इटहरी र विराटनगरमा सञ्चालित अधिकांश उद्योगमा एक हप्तादेखि १२ देखि १४ घण्टा लोडसेडिङ हुँदै आएको त्यहाँका उद्योगीले बताएका छन् ।

प्राधिकरणले उद्योगमा लोडसेडिङ नगर्ने बताए तापनि एक सातादेखि बेलुका ६ बजेदेखि १४ घण्टा उद्योगको विद्युत् कटौती हुने गरेको उनीहरूको भनाइ छ । उद्योगीले प्राधिकरणले कुनै जानकारी नदिई अघोषित रूपमा लोडसेडिङ गरेको कारण उद्योग थप समस्यामा परेको बताएका छन् ।

प्राधिकरणले एक साताअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत मंगलबारबाट नियमित रूपमा उद्योगमा चाहेको जति विद्युत् उपलब्ध गराएर लोडसेडिङ हुन नदिने प्रतिबद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन नभएको उद्योगीको गुनासो छ ।

सरकार तथा विद्युत् प्राधिकरण आफैँले 'ग्यासको खपत कम गरौँ, खाना पकाउने विद्युतीय चुलो प्रयोग गरौँ' भन्दै प्रचार गर्ने तर उद्योगमा अप्रत्यासित रूपमा लोडसेडिङ गर्नु गलत भएको रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक शशिकान्त अग्रवालले  बताए ।

उनले सरकार र प्राधिकरण बाहिर एउटा प्रचार गर्नेभित्र उद्योगमा विद्युत् कटौती गर्नु उद्योगको लागि राम्रो नभएको बताए । सरकारले उद्योगमा तत्काल विद्युत् उपलब्ध गराउनु पर्ने सञ्चालक अग्रवालको भनाइ छ ।



अग्रवालले प्राधिकरणले तत्काल रुस र युक्रेनको युद्धको कारण भारतका विद्युत् आपूर्तिमा समस्या हुँदासम्म मात्रै भए उद्योगीले धान्न सक्ने तर लामो समयको लागि लोडसेडिङ भए उद्योगीले धान्न नसक्ने जिकिर गरे ।

'भारतबाट विद्युत् आयात गरिरहेका छौं । अहिले अप्रत्याशित विद्युत् अभाव भएको छ । सरकारले उद्योगलाई कसरी विद्युत् दिने भन्ने कुरामा योजना बनाउनु पर्छ । छोटो समयको लागि उद्योग चलाउन सकिन्छ । तर लामो समय लोडसेडिङ भयो भने समस्या हुन्छ’ उनले भने ।



त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सका व्यवस्थापक महेशकुमार पोखरेलले स्पिनिङ उद्योगमा एक सातादेखि निरन्तर रूपमा विद्युत् आपूर्ति कटौती भएको बताए । उनले प्राधिकरणले कुनै जानकारीबिना एक हप्तादेखि बेलुका ६ बजेपछि १४ घण्टा उद्योगमा लोडसेडिङ हुने गरेको बताए ।

उद्योगमा लामो समयदेखि विद्युत् आपूर्तिमा पटक–पटक न्यून पावर ट्रिपिङ तथा विद्युतको भोल्टजका कारण उत्पादनमा समस्या आउने गरेको भन्दै पोखरेलले १४ घण्टा लोसेडिङ हुँदा उद्योग सञ्चालनमा थप समस्या पैदा भएको गुनासो गरे ।

उनले सम्बन्धित निकायमा लोडसेडिङ तथा न्युन पावर भोल्टेजको समस्या राख्दा अहिलेसम्म पनि सुनुवाइ नभएको उल्लेख गरे । व्यवस्थापक पोखरेलले ४ हजार कर्मचारी भएको उद्योग २४ घण्टा चलाउनु पर्ने भए पनि १४ घण्टा लोडसेडिङ हुँदा लागत बढ्दै गएको बताए ।

उनले उद्योगमा बस्ने कर्मचारीको लागि छुट्टै लाइनबाट विद्युत् दिएकोमा त्यो विद्युत‍्समेत कटौती गरिएको दाबी गरे । उद्योगमा विगतमा जडान गरिएका जेनेरेटर तथा डिजेलको व्यवस्थापन लोडसेडिङ अन्त्यपछि त्यतिकै भएकाले तत्काल सञ्चालनमा ल्याउन नसक्ने अवस्थामा रहेको जानकारी दिए ।

त्यस्तै, विराटनगरमा सञ्चालित शिवम् प्लास्टिक उद्योगका सञ्चालक निखिल अग्रवालले बैंकको व्याज, ढुवानीको लागत बढ्दै गएको अवस्थामा प्राधिकरणले उद्योगमा १४ घण्टासम्म लोडसेडिङ गर्नु गलत भएको बताए । उनले १४ घण्टा उद्योगले लोडसेडिङ भोग्नु पर्दा उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउने बताए ।

उद्योग १२ देखि १४ घण्टासम्म डिजेलमा चलाउन सकिने अवस्था नभएको भन्दै सरकारले तत्काल उद्योगलाई विद्युत् सहज रूपमा आपूर्तिको व्यवस्था गर्नुपर्ने सञ्चालक अग्रवालको भनाइ छ । उनले विद्युत् प्राधिकरण आफैँ उद्योगीलाई ठूला-ठूला उद्योग ल्याउनुस् जति पनि विद्युत् दिन तयार छौँ भन्ने तर प्राधिकरण आफैँ १२ देखि १४ घण्टा लोडसेडिङ गर्ने कुरा व्यावहारिक नभएको बताए ।

सञ्चालक अग्रवालले उद्योगमा विद्युत अभावको कारण ५० प्रतिशत कच्चा पदार्थ कटौती गरेर उत्पादन भइरहेको बताए । ५० प्रतिशत मात्रै उत्पादन गरेर उद्योग चल्न नसक्ने अग्रवालको भनाइ छ ।

अहिले देशैभरका उद्योगीहरुले उद्योगमा पूर्व जानकारीबिना १४ घण्टा लोडसेडिङ भएको भन्दै विरोध जनाइ रहेका छन् । उद्योगीले ठूला उद्योगलाई नियमित बिजुली उपलब्ध गराउन नसके प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्नुपर्ने मागसमेत गरिसकेका छन् ।

तर, प्राधिकरणले कुनै पनि प्रतिक्रिया दिएको छैन । रुस–युक्रेन युद्धको कारण भारत र नेपालको ऊर्जा क्षेत्रमा समस्या देखिइरहेको छ । युद्धको कारण भारतमा विद्युत् महँगो भएको छ । एक साता अगाडि नेपाली ३८ रुपैयाँसम्म पुगेको प्राधिकरणले बताएको थियो । ३८ रुपैयाँमा भए पनि भारतबाट विद्युत् खरिद गरेर नेपाली उद्योगलाई विद्युत् आपूर्ति गर्ने प्राधिकरणले बताए पनि उद्योगमा लोडसेडिङ नहटेको उद्योगीले बताएका छन् । अहिले नेपालले महँगो मूल्यमा पनि भारतबाट बिजुली आयात गर्न सकेको छैन ।

करिब साढे ३ सय मेगावाट बिजुली अभाव हुन थालेपछि प्राधिकरणले ठूला उद्योगमा रातिमा बिजुली काट्न थालेको बताएको छ । पछिल्लो एक सातायता प्राधिकरणले अघोषित रूपमा लोडसेडिङ गर्न थालेपछि उद्योगीले प्राधिकरणको चर्को आलोचना गरिरहेका छन् ।

विद्युतमा देखिएको ट्रिपिङ, न्यून भोल्टेजलगायत समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, एकाएक विद्युत् आपूर्ति बन्द हुँदा करोडौं रुपैयाँ पर्ने मेसिनमा क्षति पुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार र कर्मचारीको तलब, ज्याला बढ्नेलगायतका समस्या देखिएको उद्योगीहरुको गुनासो रहेको छ । 

विद्युत् आपूर्ति नियमित हुन नसक्दा सुनसरी–मोरङलगायत औद्योगिक करिडोरका उद्योग सञ्चालनमा समस्या आएको छ । प्राधिकरणले जुनसुकै मूल्यमा पनि विद्युत् खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनी विद्युत् प्राधिकरणले प्रतिबद्धता जनाएको थियो । तर अघोषित रूपमा बिजुली कटौती गरिरहेको उद्योगी व्यवसायीले बताएका छन् ।

  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार १५:११:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया