माओवादीलाई विष्णु पौडेलको चेतावनी - एमालेसँग गठबन्धन होला र ठाउँ पाउँला भन्ने सपना नदेखे हुन्छ
'एमाले एक्लै लड्छ, ७० प्रतिशत पालिका जित्छ'
फाइल तस्वीर

नेकपा(एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने बताएका छन् ।

उपाध्यक्ष पौडेलले स्थानीय तह निर्वाचनमा एमालेलाई कसैसँग तालमेल वा गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको बताए । उनले एमाले एक्लै निर्वाचन लड्ने र ७० प्रतिशत पालिकाहरूमा जित्ने बताएका हुन् । ७० प्रतिशत जित्न नसकेको अवस्थामा ६० प्रतिशतभन्दा तल भने नझर्ने उनले दाबी गरे । 

आइतबार उपाध्यक्ष पौडेलले एमालेसँग गठबन्धन होला र ठाउँ पाउँला भनेर सपना नदेख्न नेकपा(माओवादी केन्द्र)लाई चेतावनीसमेत दिए । 

उनले भने, 'एमालेसँग गठबन्धन गरेर अलिकति स्पेस प्राप्त गर्न सकिएला कि भनेर नसोचे हुन्छ । खासगरी माओवादी केन्द्रतिर लक्षित गरेर म भन्न चाहान्छु, त्यसखालको सपना नदेखे हुन्छ ।’

उनले माओवादी केन्द्रसँग तालमेलका लागि कुनै पनि प्रकारको संवाद नभएको स्पष्ट पारे । माओवादी केन्द्र र एमालेका बीचमा तालमेल गर्न एमाले अध्यक्ष केपी ओलीले आत्माआलोचना गर्नुपर्ने माओवादी केन्द्रका एक नेताको भनाइप्रति टिप्पणी गर्दै उनले सो कुरा हास्यास्पद भएको बताए । 

कम्युनिस्ट सरकार ढालेर कांग्रेस नेतृत्वको दक्षिणपन्थी गठबन्धन बनाउने माओवादी केन्द्रलाई चाहिँ ग्लानि र पश्चाताप हुनुपर्ने उनले बताए । माओवादी केन्द्रसँग कुनै पनि प्रकारको वार्ता गर्नु आवश्यक नरहेको एमाले उपाध्यक्ष पौडेलले बताए । 



'नेकपा(एमाले)ले जनताको पक्षमा, राष्ट्रका पक्षमा दृढतापूर्वक उभिएको छ । एमालेको प्रमुख नेताको हिसाबले केपी शर्मा ओलीले यो युगिन र ऐतिहासिक महत्त्वका कामहरू गर्नुभएको छ । आफ्ना कामप्रति नेकपा(एमाले)लाई गर्व छ । नेकपा एमालेका अध्यक्षलाई गर्व छ । त्यसकारणले यो आत्माआलोचनाका हास्यास्पद कुरा गरिरहनु जरुरी छैन’ उनले भने ।

सत्तारुढ गठबन्धनमा दरार सिर्जना हुँदा एकले अर्कोलाई एमालेसँग मिल्छु भनेर तर्साउने गरेको भन्दै एमाले कसैको भर्‍याङ नबन्ने उनले बताए ।



  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार १८:५५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया