माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमन र प्रतिक्रियावादीलाई परास्त गर्न गठबन्धनको जरुरत भएको बताएका छन् । आज महोत्तरीको बर्दिबास र गौशाला नगरपालिकाले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा पुगेर उनले यस्तो बताएका हुन् ।
माओवादी केन्द्र संविधान र संघीयताको रक्षाका लागि निरन्तर लागिपरेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘केपी गुटले सुरु गरेको प्रतिगमनलाई त अन्त्य गर्यौँ, तर प्रतिगमनको खतरा अझै बाँकी छ ।’
अध्यक्ष प्रचण्डले केपी गुट नै प्रतिगमनको पक्षमा रहेको बताए । नेकपा एमालेले महत्त्वपूर्ण विषयहरुलाई समेत बेवास्ता गर्दै निरन्तर संसद अवरुद्धमा लागेको बताउँदै कतिपय मधेसका मुद्दाहरु समेत ओझेलमा पर्नु मुख्य कारक एमाले नै भएको उनको जिकिर छ ।
मधेस प्रदेशमा मुख्य समस्याको रुपमा रहेको नागरिकताको मुद्दालाई समेत माओवादी केन्द्रले बोकिरहेको अध्यक्ष प्रचण्डको दाबी छ । अध्यादेशमार्फत नागरिकताको मुद्दा टुंग्याउन प्रधानमन्त्री शेरबहादुरसँग पटक–पटक छलफल भएको बताउँदै सकेसम्म चाँडै टुंग्याउनेतर्फ उन्मुख भइरहेको उनले बताए ।
अहिले देशमा माओवादीको नीतिअनुरुप संघीयता कार्यान्वयन भइरहेको बताउँदै उनले भने, ‘जसको नीति त्यसको नेतृत्व नहुँदा तपाईंहरुलाई अचम्म लागेको होला, तर हामी संविधान रक्षाका लागि जस्तोसुकै त्याग गर्न पनि तयार छौँ ।’
प्रतिगमन र प्रतिक्रियावादीलाई परास्त गर्न माओवादीले थुप्रै प्रधानमन्त्री बनाउन सक्ने अध्यक्ष प्रचण्डको भनाइ छ । प्रतिगमनकारीहरु अझै माओवादीलाई सिध्याउन लागिपरेको बताउँदै उनले भने, ‘जनयुद्धका बेला पनि कसैले बयलगाडा चढेर अमेरिका जानू र गणतन्त्र स्थपना हुनु उस्तै भएको बताउँथे ।’
१० वर्षसम्म जनयुद्धले गरेका प्राप्तिलाई समाप्त पार्न कतिपय थुप्रैपटक लागिपरे तापनि त्यो परिकल्पना पूरा हुन नसक्ने अध्यक्ष प्रचण्डको जिकिर छ । केपी शर्मा ओलीप्रति संकेत गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनको मलजलमा लागिपरेकाहरुलाई बालुवाटारबाट बालकोट पुर्याएको बताए ।
घर–घरमा सिंहदरबारको परिकल्पनाअनुसार नै गाउँ–गाउँमा स्थानीय सरकार भएको बताउँदै जसको नीति त्यसैलाई नेतृत्व प्रदान गर्न पनि अध्यक्ष प्रचण्डले जनसमुदायलाई अपिल गरे ।
माओवादी सधैँभरि दुःख, सुखको साथी भएको बताउँदै उनले माओवादीहरुले नेतृत्व गरेको देशैभरका पालिका उत्कृष्ट रहेको दाबी गरे । संवैधानिक अंगहरुले गरेको एक मूल्यांकनअनुसार उत्कृष्ट ५ मध्ये ३ पालिका माओवादीको नेतृत्वमा रहेका पालिका भएको उनको भनाइ छ ।
कतिपय गठबन्धन भत्काउन लागिपरे पनि त्यो प्रयास असफल भएको अध्यक्ष प्रचण्डले खुलासा गरे । ‘कतिपय गठबन्धन भत्काउन लागिपरेका थिए, तर हामीले सफल हुन दिएनौ,ँ उनले भने ।
अध्यक्ष प्रचण्डले आज महोत्तरीको बर्दिबासस्थित खयरमारामा सहिदपार्कको शिलान्यास र निर्मल लामा बहुप्रावधिक शिक्षालयको ४१ कोठा भएको भवनको उद्घाटन र गौशाला नगरपालिकामा मालपोत कार्यालय, नापी कार्यालय र नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।