काठमाडौं– कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय ५० दिन बितिसक्दा पनि प्रहरीले अपराधी सार्वजनिक गर्न सकेको छैन ।
यो अवधिमा प्रहरीले घटनामा संलग्न भएको भन्दै एक दर्जन बढी मान्छेलाई पक्राउ गर्दै र छाड्दै गरिरहेको छ । घटनास्थलको प्रमाण मेटाउन सक्रिय भएको प्रहरीले यसरी मान्छे पक्राउ गर्दै छाड्ने प्रवृति दोहोर्याउन थालेपछि प्रहरीको आलोचना तिव्र भएको छ ।
यता प्रहरी भने आलोचनालाई सामान्य रुपमा लिँदै शंकास्पद व्यक्ति समाउने र छाड्ने दुवै अनुसन्धान प्रक्रिया भएको दावी गर्छ ।
प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार शंकास्पद व्यक्तिबाट अपराधीसम्म पुग्न मान्छे समाउने र छाड्ने प्रक्रिया अपनाउनुपर्ने बताउँछन् । ‘अपराधी पत्ता नलाग्दासम्म अनुसन्धान नियमित रुपमा चलिरहेको हुन्छ, प्रवक्ता सुवेदीले भने ‘अनुसन्धान प्रक्रिया प्रभावकारी बनाउन र तथ्य नजिक पुग्न पनि कहिलेकाहीँ शंकास्पद व्यक्तिलाई पनि छाड्नुपर्ने हुन्छ ।’
निर्मला प्रकरणमा अनुसन्धान गर्ने भन्दै प्रहरीले मानसिक सन्तुलन गुमाएका व्यक्तिदेखि घटना भएको दिन प्रहरी हिरासतमा रहेका व्यक्तिसम्मलाई पक्राउ गरेर छाडेको छ ।
हत्या प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ परेर छुटेका कञ्चनपुरका विशाल चौधरीले प्रहरीले निर्मम यातना दिएको बताएका छन् । विभिन्न सञ्चारमाध्यममा उनले प्रहरीको यातनाको डरले आफुले अपराध स्विकार गरेको बताएका छन् ।
यातना दिनेलाई सजाय हुन्छ
प्रहरी प्रशासन भने अपराधीले सहजै अपराध स्विकार नगर्ने भन्दै, शंकास्पद व्यक्तिले दिएको बयानलाई सत्य नठान्न आग्रह गर्छ । प्रवक्ता सुवेदी भन्छन, ‘भिडले कुनै व्यक्तिलाई दोषी वा निर्दोषी करार गरेर उसको अपराध प्रमाणित हुने होईन,’ फरकधारसँगको कुरकानीमा उनले भने, ‘फैसला गर्न हामीसँग अदालत छ ।’
सञ्चारमाध्यममा आएकोजस्तो प्रहरीले चौधरीलाई यातना दिएको कुरा सत्य नभएको प्रवक्ता सुवेदीले दावी गरेका छन् । सुवेदी भन्छन, ‘प्रहरीले यातना दिएको कुरा सत्य होइन ।’
यदि प्रहरीले यातना दिएको प्रमाणित भएमा यातना दिने प्रहरीलाई कारबाही हुने पनि उनले बताए । उनले भने, ‘प्रहरीले यातना दिएको हो भने, यातना दिने प्रहरीलाई कारबाही हुन्छ ।’
यसअघि निर्मला पन्तको बलात्कारपछि हत्या गरेको भन्दै पक्राउ परेका दिलिप विष्टलाई यातना दिने प्रहरीलाई फौजदारी मुद्धा चलाइएको बताउँदै सुवेदीले भने, ‘हामी कसैलाई यातना दिदैनौ, यदि यातना दिएको कुरा प्रमाणित भएमा फौजदारी मुद्धा चलाउँछौ ।’
यता चौधरीले अपराध कबुल गर्न प्रहरीले ज्यान मार्ने धम्की दिने र प्रलोभनमा पार्ने काम गरेको बताएका छन् ।
प्रहरी प्रशासनले प्रशासन हात बाँधेर नबसेको बताउँदै सुवेदीले अनुसन्धानमा ढिलाई भएपनि प्रहरीले अपराधी पत्ता लगाउने वाचा दोहोर्याए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।