\
प्रदेश अस्पतालमा कुकुरले शिशुको शव लुछेर डुलाएको विषयले कर्णालीको प्रदेशसभामा प्रवेश पाएको छ ।
शिशुको शव कुुकुरले डुलाएको घटना बाहिरिँदा अस्पताल प्रशासन संवेदनशील नभएको जिकिर गर्दै प्रदेशसभाका सांसदले प्रदेश अस्पताल प्रशासनको आलोचना गरेका छन् ।
कर्णाली प्रदेश सभाको १७औं बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले अस्पतालको उक्त घटनाले समाजलाई जस्तो–जति प्रभाव पारे पनि अस्पताल प्रशासनले भने त्यति गम्भीरतापूर्वक नलिएको टिप्पणी गरे ।
कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको बैठक सुरु हुनेबित्तिकै समय माग्दै उनले भने, ‘अस्पतालको आन्तरिक अवस्था विचारणीय अवस्थामा पुगेको छ । त्यसमध्ये पनि एउटा बच्चा र कुकुरको चित्र परिसरभित्र देखापर्ने जुन परिस्थिति हो, यसमा सबैको ध्यान गएको होला जस्तो लाग्छ । यो भनिरहनुपर्ने कुरा होइन । तस्बिर नै काफी छ ।’
भौतिक पूर्वाधारका विषयमा अस्पताल राम्रो व्यवस्थित भए पनि सेवा गुणस्तरीय हुन नसकेको सांसद कँडेलको आरोप छ ।
उनले भने, ‘प्रदेश अस्पताल बाहिर हेर्दा साह्रै राम्रो छ, विगतको भन्दा सबैले ध्यान दिएर भौतिक पूर्वाधारको विकास भएको अवस्था छ । सामाजिक सञ्जालमा फोटो खिच्नलायक दृश्यका रूपमा पनि प्रचार भएको छ ।’
उनले थपे, ‘प्रदेश अस्पतलाको परिसरभित्र सबैको ध्यान आकर्षित गर्नेगरी एउटा तस्बिर आयो, यो अहिले सामाजिक सञ्जालमा प्रचारित भएको अवस्था छ । यसले हामी सबैलाई आफ्नो ठाउँमा जिम्मेवारीपूर्वक हेक्का राख्नुपर्ने अवस्था सिर्जना गरेको छ ।’
दक्ष चिकित्सक उल्लेखनीय रूपमा उत्पादन भए पनि अस्पतालमा उल्लेखनीय योगदान गरेका चिकित्सक टिक्न नसक्नु विडम्बना भएको उनले बताए । उनले भने, ‘देशमा लोकतन्त्र आएको छ, तर प्रदेश अस्पतालमा आफूलाई लागेका पेसागत कुरा उठाउँदा चिकित्सकहरूले जोखिम मोल्नुपर्ने परिस्थिति छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।