आइपिएल २०२२ मा लखनउको लगातार दोस्रो जित

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा नवप्रवेशी टिम लखनउ सुपर जायन्ट्सले लगातार दोस्रो जित दर्ता गरेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई १२ रनले हराउँदै लखनउले लगातार दोस्रो जित दर्ता गरेको हो । 

लखनउ​ले दोस्रो खेलमा चेन्नई सुपर किंग्स (सिएसके) लाई हराएको थियो । पहिलो खेलमा भने ऊ गुजरात टाइटन्ससँग ६ विकेटले पराजित हुन पुग्यो । हैदराबादको भने यो लगातार दोस्रो हार हो । उसले पहिलो खेलमा राजस्थान रोयल्ससँग ६१ रनको फराकिलो हार बेहोर्यो ।

दोस्रो खेलमा लखनउले दिएको १७० रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो । उसका लागि राहुल त्रिपाठीले ४४, निकोलस पूरनले ३४, वासिङ्टन सुन्दरले १८, कप्तान केन विलियम्सनले १६, अभिषेक शर्माले १३ र एडेन मार्कमले १२ रन बनाए । 

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । लखनउका आवेश खानले चार, जेसन होल्डरले तीन र कृणाल पाण्ड्याले दुई विकेट लिए । त्यसअघि मुम्बईस्थित डिआर डिवाइ पाटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको लखनउले  २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनायो ।

उसका लागि कप्तान केएल राहुल र दीपक हूडाले अर्धशतकीय पारी खेले । राहुलले ५० बलमा ६ चौका र एक छक्कासहित ६८ रन बनाए । हूडाले ३३ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा ५३ रनको योगदान दिए । 

आयुष बदोनी १९ र मनिष पाण्डे ११ रनमा आउट भए । हैदराबादका रोमारियो सेफर्ड र वासिङ्टन सुन्दरले दुई/दुई विकेट हात पारे । यो जितसँगै ४ अंकका साथ लखनउ तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । अंकविहीन हैदराबाद भने तालिकाको पुछारमा छ ।  





  • प्रकाशित मिति : चैत २२, २०७८ मंगलबार ६:३१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया