काठमाडौं विश्वविद्यालयका विद्यार्थीलाई ‘प्रिक्सा एक्सिलेन्स अवार्ड’

धुलिखेल– प्रिक्सा टेक्नोलोजिजले काठमाडौं विश्वविद्यालयको कम्प्युटर साइन्स एवं कम्प्युटर इन्जिनियरिङ विभागका विद्यार्थीले तयार गरेका दुई प्रोजेक्टका लागि ७० हजार रुपैयाँ बराबरको ‘प्रिक्सा एक्सिलेन्स अवार्ड’ प्रदान गरेको छ ।

काठमाडौं विश्वविधालयमा कम्प्युटर साइन्स र कम्प्युटर इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीलाई उनीहरुको अध्ययनका क्रममा आफ्नो सहयोग र सहकार्यमा अझै सशक्त एवं गुणस्तरीय प्रोजेक्टहरु निर्माण गर्नमा टेवा पुगोस् भन्ने उद्धेश्यले सो अवार्ड प्रदान गरेको प्रिक्साले जनाएको छ । 

सोमबार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको सिभी रमण हलमा आयोजित कार्यक्रममा विश्वविद्यालयको कम्प्युटर साइन्स एवं कम्प्युटर इन्जिनियरिङ विभागका दोस्रो र तेस्रो वर्षका विद्यार्थीले प्रत्येक वर्ष समूहगत रुपमा तयार पारेका १/१ उत्कृष्ट प्रोजेक्टलाई ‘प्रिक्सा एक्सिलेन्स अवार्ड’ प्रदान गरियाे । यसअन्तर्गत, दोस्रो वर्षको उत्कृष्टले २० हजार र तेस्रो वर्षको उत्कृष्टले ५० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरे । 

‘यस अवार्डले विद्यार्थीहरुमा थप ऊर्जा तथा प्रोत्साहन प्रदान गरेको छ,’ कार्यक्रममा काठमाडौँ विश्वविद्यालयको कम्प्युटर साइन्स एवं कम्प्युटर इन्जिनियरिङ विभागका प्रमुख डा. बालकृष्ण बालले भने, ‘यसका लागि प्रिक्सा समूहलाई धेरै धन्यवाद ।’ 

यस्तै, केयु स्कुल अफ इन्जिनियरिङका डिन डा. डम्बरबहादुर नेपालीले यस सहकार्यले विद्यार्थीहरुमा प्रयोगात्मक शिक्षा र व्यावसायिकता जगाउन मद्दत गरेको भन्दै सराहना गरे ।

निर्णायक मण्डलमा रहेका प्रिक्साका प्रमुख कार्यकारी अधिकृत मनिषकुमार शर्माले चुनिएका प्रोजेक्टहरुमाथि टिकाटिप्पणी गर्दै आउँदा दिनमा कार्यक्रम अझै शसक्त रुपमा अघि बढ्ने आशा व्यक्त गरे । साथै, प्रिक्साका कम्पनी ब्यापार प्रवद्र्धन विभाग प्रमुख, प्रयासराज कोइरालाले पुरस्कृत विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काठमाडौं विश्वविद्यालय मात्र नभई नेपालको समग्र शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्नका निम्ति अन्य सहकार्य अगाडि बढाउँदै जाने बताए ।



पाँच वर्षअघि नेपाली यूवाहरुद्वारा स्थापित प्रिक्सा टेक्नोलोजिजले सफ्टवेयर, वेभ सिस्टम, कन्टेन्ट म्यानेजमेन्ट सिस्टम, बिग डाटा, क्लाउड इन्फ्रास्ट्रकचार म्यानेजमेन्ट लगायतका क्षेत्रमा काम गर्दै आएको छ । हाल कम्पनीले दर्जनौँ अनलाइन सञ्चारमाध्यम तथा संघसस्थासँग सहकार्य गरिरहेको छ । 



  • प्रकाशित मिति : पुस ९, २०७५ साेमबार २०:७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया