[स्थानीय निर्वाचन] सिन्धुपाल्चोकमा तीन शीर्ष नेतालाई आ-आफ्नै दुःख !
१२ स्थानीय तहमा कस्तो छ अवस्था ?

स्थानीय तह निर्वाचन आउन अब ३६ दिन मात्र बाँकी छ । प्रमुखसहित साना राजनीतिक दलहरू पनि आ–आफ्नो तयारीमा जुटिसकेका छन् । निर्वाचनको सरगर्मी बाक्लिँदै जाँदा सत्तारुढ गठबन्धन कुन–कुन स्थानीय तहमा कसरी तालमेल गर्ने भन्नेबारेमा सहमति भने जुटिसकेको छैन । 

शीर्ष नेताहरूको प्रभाव रहेको जिल्ला सिन्धुपाल्चोकमा पनि चुनावी रौनक सुरु भएको छ । सिन्धुपाल्चोकमा १२ वटा स्थानीय तह छन् । तीमध्ये तीन नगरपालिका र नौ वटा गाउँपालिका छन् ।  मेलम्ची, चौतारा साँगाचोकगढी र बाह्रबिसे नगरपालिकामा कसको नेतृत्वमा आगामी सरकार बन्ने भन्नेबारेमा चासो बढ्दै गएको छ ।

जिल्लाका तीनवटा नगरपालिकाको परिणामले सिंगो जिल्लाको अवस्था चित्रण गर्ने भएकाले पनि तीन नगरपालिकाको अवस्थालाई शीर्ष तहका नेताहरू नै ध्यानमा राखेका छन् । 

तीन नगरमा तीन दलका शीर्ष नेताको छुट्टाछुट्टै दुःख

सिन्धुपाल्चोकका तीन नगरपालिका हुन्– मेलम्ची, चौतारा साँगाचोकगढी र बाह्रबिसे । यीमध्ये सबैभन्दा ठूलो मानिएको नगरपालिका हो– चौतारा साँगाचोकगढी । सोही नगरपालिकामा जिल्लाको सदरमुकाम चौतारा पनि पर्ने भएकाले राजनीतिक दलहरूले यो नगरलाई ‘प्रतिष्ठा’ को विषय बनाएका छन् । ०७४ को स्थानीय निर्वाचनमा मेलम्ची र बाह्रबिसेमा एमालेले जित निकाल्दा चौतारा साँगाचोकगढीमा भने माओवादी केन्द्र विजयी भएको थियो । 

माओवादीलाई जसरी पनि चौतारामा जित निकालेर आफ्नो ‘विरासत’ जोगाउनुपर्ने दबाब छ । त्यतिमात्र होइन, सभामुखसमेत रहेका अग्निप्रसाद सापकोटा, केन्द्रीय सदस्य तथा जिल्लाका प्रभावशाली नेता रामप्रसाद सापकोटा, युवराज दुलाल, माधव सापकोटालगायतका नेताहरूको गृहनगर पनि हो चौतारा । सोही कारण पनि यो नगर जित्नैपर्ने दबाबसहित केन्द्रसम्म यी नेताहरूले माओवादीको पक्षमा लबिङ सुरु गरेका छन् । 



एमालेको तर्फबाट उम्मेदवार भएर पराजय बेहोरेका सोम सापकोटा भने अहिले समाजवादीमा प्रवेश गरेका छन् । उता, केन्द्रदेखि नै चासोका साथ हेरिनेमध्येको अर्को नगर हो– बाह्रबिसे । 

बाह्रबिसे नगरपालिकालाई कांग्रेसको ‘पकड’ क्षेत्रको रूपमा पनि लिइन्छ । त्यसोत, बाह्रबिसे पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको गृहनगर पनि हो । अघिल्लो निर्वाचनमा पनि यो नगरमा जित्नका लागि बस्नेतले ठूलै मिहिनेत गरेका थिए । तर, एमाले उम्मेदवार निमफुञ्जो शेर्पाले जित आफ्नो पोल्टामा पारे । ०७४ को निर्वाचनमा शेर्पासँग कांग्रेसबाट बालकृष्ण बस्नेतले प्रतिस्पर्धा गरेका थिए । 



केन्द्रबाट गठबन्धनका पक्षमा निर्णय भएको हुँदा यो पटक एमालेलाई जसरी पनि हराएर बाह्रबिसेको ‘गढ’ कांग्रेसले आफ्नो पोल्टामा पार्ने तयारीमा छ । त्यस्तै, मेलम्ची नगरपालिका पनि केन्द्रीय राजनीतिमा हाबि जमाएका एमाले नेता शेरबहादुर तामाङको गृहनगर हो । यहाँ ०७४ को जितलाई सुनिश्चित गर्दै जित हात पार्नुपर्ने दबाब एमालेभित्र छ । एमालेबाट निर्वाचित मेयर डम्बर अर्याल पुनः दोहोरिने आकांक्षा ब्यक्त गरिरहेका छन् । 

एमाले विभाजनको असर देखिएको भन्दै मेलम्चीमा एमालेले जित सुनिश्चित गर्न अप्ठेरो रहेको जिल्लास्तरका नेताहरुको बुझाई छ । 

०७४– कुन स्थानीय तहमा के भएको थियो ?

०७४ को निर्वाचनमा सिन्धुपाल्चोकका १२ वटा स्थानीय तहमध्ये ७ वटामा नेकपा एमालेले जित निकालेको थियो । दुई नगरपालिकासहित पाँच वटा गाउँपालिकामा एमाले विजयी भएको थियो । 

बाह्रबिसे र मेलम्ची दुईवटा नगरपालिकामा एमाले विजयी भएको थियो । जुगल, त्रिपुरासुन्दरी, पाँचपोखरी थाङपाल, बलेफी र लिसंखुपाखर गाउँपालिकामा पनि एमाले विजयी भयो ।

बाह्रबिसेको मेयरमा निमफुञ्जो शेर्पा, मेलम्चीको मेयरमा डम्बरबहादुर अर्याल, जुगलको अध्यक्षमा होम नराया श्रेष्ठ, त्रिपुरासुन्दरीको अध्यक्षमा भूपेन्द्र श्रेष्ठ, पाँचपोखरी थाङपालको अध्यक्षमा टासी लामा, बलेफीको अध्यक्षमा केदार क्षेत्री (हाल कांग्रेस प्रवेश), लिसंखु पाखरको कमलप्रसाद नेपाल विजयी भएका थिए । 

त्यस्तै, माओवादी केन्द्रले एक नगरपालिका र एक गाउँपालिकामा जित निकालेको थियो । माओवादीले चौतारा साँगाचोकगढी नगरपालिका र भोटेकोशी गाउँपालिकामा जित निकालेको थियो । चौतारामा अमानसिंह तामाङ र भोटेकोशीमा राजकुमार पौडेल माओवादीबाट अघिल्लो निर्वाचनमा विजयी भएका थिए । 

नगरपालिकामा जितविहीन भएको कांग्रेसले तीनवटा गाउँपालिकामा भने जित हात पारेको थियो । कांग्रेसले इन्द्रावती, सुनकोशी र हेलम्बु गाउँपालिकामा जित हात पारेको हो । इन्द्रावतीमा वंशलाल तामाङ, सुनकोशीमा श्रवणकुमार जिशी र हेलम्बुमा निमा गाल्जेन शेर्पा विजयी भएका थिए । 

  • प्रकाशित मिति : चैत २४, २०७८ बिहीबार १३:२३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया