काठमाडौं– पोखरामा साहित्यिक सरगर्मी छाइरहँदा काठमाडौंका थिएटरमा भने सीमान्तकृत समुदाय र लिंगलाई समेटिएका दुई नाटक मञ्चन भइरहेका छन् । सर्वनाम थिएटरमा थारू भाषाको ‘करोट’ मञ्चन भइरहेको छ भने मण्डला थिएटरमा समलिंगीको कथा ‘साथीको कथा’ मञ्चन भइरहेको छ ।
२०७२ सालको टीकापुर आन्दोलनपछि मूलधारको राजनीतिक बहसमा आएको थारू समुदाय नेपालको तराई अझ विशेषगरी पश्चिम तराई भेगको आदिवासी समुदाय हो ।
तेस्रोलिंगी, समलिंगीजस्ता यौनिक अल्पसंख्यक अझै पनि मूलधारको सामाजिक वृत्तमा अटाउन सकेका छैनन् । उनीहरूलाई अझै पनि दोयम दर्जाको मानिस ठानिन्छ र त्यस्तै व्यवहार पनि गरिन्छ । यौनिक अल्पसंख्यक हुनुलाई अझै पनि अभिशापको रूपमा लिने गरिन्छ । यौनिक पृथकतालाई नेपाली समाजले अझै पनि सहजै स्विकार्न सकेको छैन ।
दोयम दर्जाको व्यवहारबाट थारू समुदाय पनि उत्तिकै पीडित छ । थारू समुदायलाई पहाडे राजनीतिक मानिसकताले दोयम दर्जाको नागरिक बनाउँदै आएको छ । यौनिक अल्पसंख्यकलाई महिला र पुरुष मात्रै मान्छे हुन् भन्ने सामाजिक वैचारिकताले दोयम दर्जामा राख्दै आएको छ ।
पछिल्ला केही वर्षयता सामाजिक र राजनीतिक वृत्तबाट पछाडि पारिएको थारू समुदाय आफ्नो पहिचानलाई स्थापित गराउन संघर्षरत छ । यस्तै संघर्ष एलजिबिटीआई (लेस्बियन, गे, ट्रान्सजेन्डर, इन्टरसेक्सुअल) समुदायले पनि गरिरहेको छ । दुवै समुुदाय समाजमा आफ्नो पहिचान स्थापित गर्न र जोगाउन मात्रै होइन सम्मानजनक सामाजिक जीवनका लागि पनि संघर्षरत छन् ।
भारतमा केही महिनाअघि मात्र त्यहाँको सर्वोच्च अदालतले समलिंगी सम्बन्धलाई मान्यता दिएको थियो । त्यसो त नेपालले पनि दशकअघि नै समलिंगी सम्बन्धलाई औपचारिक रूपमै मान्यता दिएको थियो । सम्बन्धलाई मान्यता दिए पनि नेपालले समलिंगी विवाहलाई अझै पनि कानुनी मान्यता दिएको छैन ।
नेपालले महिला र पुरुषबीचको वैवाहिक सिद्धान्तलाई मात्र अँगाल्ने भन्दै गत भदौदेखि लागू भएको मुलुकी संहितामा समलिंगी विवाहलाई कानुनी मान्यता नदिएको सरकारले बताएको थियो ।
यता, सांस्कृतिक र भाषिक अतिक्रमणको सिकार बन्दै गरेको थारू समुदायले संविधान जारी हुनुअघि गरेको आन्दोलनलाई सरकारले अराष्ट्रियकरण गर्दै थारू समुदायले उठाएका माग कमजोर बनाएको थियो ।
गत असोज अन्तिम साता आर्ट ट्री प्रदर्शन गरेको विपरीत सपना नामक कला प्रदर्शनीमा शिलशा राजभण्डारीले विभिन्न जातिका मौलिक पहिरनमाथि बहुराष्ट्रिय कम्पनीका उत्पादनले गरेको अतिक्रमण प्रस्तुत गरेकी थिइन् । उनको प्रस्तुतिमा थारू जातिको पहिरन पनि राखिएको थियो ।
राजधानीमा मञ्चन भइरहेका यी दुवै नाटकले राजनीति र विवाहको मुद्दालाई केन्द्रमा नराखे पनि यी दुवै नाटकले सीमान्तकृत समुदाय र लिंग अझै मूलधारमा प्रवेश गर्न संघर्षरत छन् भन्ने कुराचाहिँ प्रस्ट देखाउँछ ।
यी दुवै नाटकमो अर्को संयोग पनि छ । राजधानीका थिएटरमा मञ्चन भएको थारू भाषाको यो दोस्रो नाटक हो । त्यसैगरी, लैंगिक पहिचानको विषयमा मञ्चन भएको साथीको कथा पनि दोस्रो नाटक हो ।
दुई वर्षपहिले पनि काठमाडौंमा थारू भाषाको ‘भुरभुरा रहर’ मञ्चन भएको थियो भने केही समयअघि मात्र लैंगिक पहिचानको विषयमा ‘जिउँदो आकाश’ मञ्चन भएको थियो । यसअघि मञ्चन भएका भुरभुरा रहर र जिउँदो आकाश पनि अहिले नाटक मञ्चन गरिरहेको समूहले नै गरेको थियो ।
पहिचानका विभिन्न आयाम हुन्छन् जसमा भाषा र लिंग पनि हुन् । थारू भाषाको करोट नाटकले थारू भाषाको पहिचान र जगेर्नालाई पहिलो प्राथमिकतामा राखेको छ । यता साथीको कथाले लैंगिक पहिचानलाई प्राथमिकतामा राख्दै लैंगिक पृथकतालाई प्रस्तुत गरेको छ ।
नेपाली रंगमञ्च अझै मूलधारमा आउन संघर्षरत रहे पनि रंगमञ्चमा देखिएको भिन्न भाषा, समुदाय र जातिको उपस्थिति भने लोभलाग्दो छ । अहिले मञ्चन भइरहेको नाटक करोटमा अभिनय गर्ने कलाकार, लेखक तथा निर्देशक सबै थारू समुदायबाट छन् । नेपाली रंगमञ्चमा देखिएका सीमान्तृकत जाति र लिंगका कथाले रंगमञ्चलाई समावेशी बनाएका छन् ।
सर्वनाममा मञ्चन भइरहेको करोट थारू भाषामा प्रस्तुत गरिएको भए पनि यसको कथाले भने मान्छेको लोभ र लालचको मनोविज्ञान प्रस्तुत गर्छ । यता, मण्डलामा मञ्चन भइरहेको साथीको कथाले पनि समलिंगीको कथालाई उसका साथीहरूको दृष्टिबाट प्रस्तुत गर्ने प्रयत्न गरेको छ ।
विषय, भाषाका दृष्टिले यी दुवै नाटक नेपाली रंगमञ्च मात्र होइन, नेपाली मूलधारको समुदाय र राजनीतिबाट पनि ओझेल पारिएका देखिन्छन् ।
लैंगिकताका नाममा लामो बहस भए पनि त्यो बहस महिला पुरुषको वरिपरि मात्र घुमेको छ । त्यस्तै, संवैधानिक प्रावधानका बाबजुद पनि केही वर्षअघि सर्वोच्च अदालतले सरकारी कार्यालयमा मातृभाषा प्रयोगमा बन्देज लगाउँदा मधेसका अन्य समुदायसँग थारू समुदाय पनि मारमा परेका थिए ।
त्यसैगरी, राजा महेन्द्रका पालामा देशभर लागू भएको अनिवार्य नेपाली भाषाले थारू भाषाजस्ता कैयौं मातृभाषालाई प्रयोगविहीन बनाएको थियो । तर, पछिल्लो एक दशकमा देशमा समावेशिताको बहसले जन्माएको संघीयताले लैंगिक मात्र होइन, जातीय र भाषिक पहिचानलाई पनि संस्थागत गर्ने अवधारणा ल्याए पनि त्यो काम भने गर्न सकिएको छैन ।
राज्यस्तरबाट भाषिक र लैंगिक पहिचानको संरक्षण गर्न कञ्जुस्याइँ भए पनि रंगमञ्चमा देखिएको सामावेशी विविधताले भने केही आशा जगाएको महसुस गर्न सकिन्छ ।
तर, नेपाली साहित्यिक वृत्तमा रंगमञ्च आफैं सीमान्तकृत मानिन्छ । सीमान्तकृत मानिने रंगमञ्चले उठाएका यी सीमान्तकृत सवालहरू कति दीर्घकालीन रहन्छन् भने अर्को चुनौती पनि छ ।
मण्डलामा मञ्चन भइरहेको साथीको कथा भारतीय लेखक विजय तेन्दुलकरले लेखन ‘मित्राची गोष्ट’को नेपाली अनुवाद हो । सर्वनाममा मञ्चन भइरहेको करोटका लेखक तथा निर्देशक प्रणव आकाश हुन् ।
आफ्नो लैंगिक पहिचान खुलेर सार्वजनिक गर्न डराउने एलजिबिटीआई समुदाय र आफूलाई सधैं दोस्रो दर्जाको नागरिकजस्तो व्यवहार गरिएको बताउने थारूभाषी समुदायलाई बुझ्न यी नाटक सहयोगी हुनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।