‘माइती’ मानेको सिराहामा मत माग्दै प्रचण्डले भने – मधेशी जनतालाई बढी विश्वास गर्छु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज सिराहामा छन् । 

झण्डै १ महिना अघिदेखि देश दौडाहामा रहेका प्रचण्डले बिहीबार सिराहाको मिर्चैया नगरपालिका पुगेर भाषण गरे । 

भाषणका क्रममा प्रचण्डले भनेका छन्, ‘म काठमाडौंमा हारेँ, सिराहामा जितेँ । त्यस कारण म तपाईंहरू सबैलाई अभिनन्दन गर्न चाहन्छु ।’ 

प्रचण्डको यो चुनावी भाषण मात्र होइन । वास्तविकता पनि हो ।

१० वर्षे जनयुद्ध सकेर ०६४ मा पहिलोपटक भएको निर्वाचनमा देशकै ठूलो दल बनेको थियो, प्रचण्ड नेतृत्वको माओवादी । 

त्यसपछि ०७० मा भएको संविधानसभाकौ चुनावमा प्रचण्डले काठमाडौंलाई मात्रै भर गरेनन् । र, सिराहामा पुगेर उम्मेदवारी दिएका प्रचण्डले काठमाडौंमा पराजय नै भोग्नुपर्यो । 



तर, सिराहामा भने प्रचण्ड विजयी भएर प्रतिनिधिसभा छिरेका थिए । 

सिराहालाई ठान्छन् माइती



अध्यक्ष प्रचण्डले ०७५ माघ अन्तिम साता सिराहा पुगेर आफूलाई माइती आएजस्तौ लाग्ने बताएका थिए । महनौरामा एउटा स्वास्थ्य चौकी उद्घाटन गर्दा प्रचण्डले भनेका थिए, ‘सिराहा आउँदा मलाई एउटा छोरी माइत आएजस्तै लाग्छ, म यहाँ आउँदा माइत नै आएको हुँ ।’

उनले मधेशीसँगको लभमा परेको पनि बताएका थिए । 

नेपाली संस्कारअनुसार विवाह गरेकी महिला आफ्नो जन्मघर फर्किँदा र बुवाआमासँग भेट्दा पक्कै खुसी हुन्छन् । विवाहपछि जन्मघरलाई माइत भनिने प्रचलन मात्र नभएर यसबारे अनेक कथाहरू नेपाली समाजमा सुन्न पाइन्छ । 

तर, प्रचण्डचाहिँ किन आफ्नो माइतीका रूपमा सिराहालाई लिन्छन् त ? फरकधारले सोही २५ माघमा अध्यक्ष प्रचण्डका तत्कालीन प्रेस संयोजक विष्णु सापकोटासँग जिज्ञासा नै राखेका थियौं ।

प्रचण्ड किन ठान्छन् सिराहालाई आफ्नो माइत ?

त्यहाँबाट चुनाव उठ्नु, त्यहाँका जनताले जिताउनु मात्रै भन्दा पनि पूर्वी मधेसमा कम्युनिस्ट आन्दोलनको उर्वर भूमि सिराहा भएकाले प्रचण्डले यसलाई आफ्नो माइतीजस्तै प्यारो मानेको उनले बताएका थिए । 

‘हिजोको जसैगरी प्रधानमन्त्री बनाउन अनुरोध’

माइती मानेको सिराहामै पुगेर प्रचण्डले आफू ‘अप्ठेरो’ मा परेपछि मधेस झर्ने बताए । उनले भनेका छन्, ‘जसरी हिजो अप्ठेरो बेलामा तपाईंहरूले माओवादी केन्द्र र त्यसको अध्यक्षलाई साथ दिएर दोस्रो पटक प्रधानमन्त्री बनाउने अवसर दिनुभयो । अबको यो लडाइँमा पनि तपाईंहरूले..’

प्रचण्डले मतदाता फकाउँदै माओवादीको बलमा सिंहदरबार गाउँगाउँमा आएको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘किनभने हामीले धेरै ठूलो मिहिनेत गरेर सिंहदरबारलाई गाउँघरमा ल्याएका छौँ । मैले योबीचमा धेरै प्रशासकीय भवनको उद्घाटन गरे । सिन्धुलीमा, गोरखामा, तराईको जिल्लामा गरेँ । महोत्तरीमा । मैले यो उद्घाटन यो स्थानीय तहमा आएको सिंहदरबारमा आएको हो । यसले जनतालाई सुशासन दिनुपर्छ । सिंहदरबारको अधिकारलाई गाउँमा ल्याउन हामीले धेरै मिहिनेत गरेका छौं ।’

एकथरि मान्छेहरू सिंहदरबारलाई काठमाडौंमै फर्काउन लागिपरेको प्रचण्डको भनाइ छ । ‘अब आइसकेको सिंहदरबारलाई फर्काउन खोज्दैछन् एकथरि मान्छेहरूले’ प्रचण्डले भनेका छन् । 

यसरी मागे मत

प्रचण्डले मधेस आन्दोलनमा बेपत्ता भएका शहीद र बेपत्ता योद्धाका सम्मान गर्ने या अपमान गर्नै भन्नै कुराको ‘ब्याटल’ को रूपमा चुनावलाई लिए । 

जुन उनको चतुर्‍याईपूर्वक तरिकाले मत मागेको प्रष्ट देखिन्छ । ‘तपाईं मधेसका सबै न्यायप्रेमी जनसमुदायसँग तपाईं हिजो ०७/०८ सालदेखि नै तराई मधेसमा सामन्तका विरुद्ध, दलालका विरुद्ध किसान संघर्ष सुरु भयो’ उनले भनेका छन्, ‘०३५/०३६ मा यसै क्षेत्रमा ठूला किसान संघर्ष भए । थुप्रै शहीद भए । जनयुद्ध र जनआन्दोलनमा पनि तपाईंहरूले अग्रणी भूमिका खेल्नुभएको थियो । आउने चुनाव अरुको लागि त चुनाव मात्रै हो । हाम्रो लागि महान शहीद र बेपत्ता योद्धालाई सम्मान गर्ने या अपमान गर्ने ?’

उनले यसलाई ब्याटलकौ संज्ञा दिँदै भनेका छन्, ‘संविधानको उपलब्धिको रक्षा र थप उपलब्धिलाई अघि बढ्ने कि पछि हट्ने ? या प्रतिक्रियावादीलाई छाडिदिने ? यो तपाईं हाम्रो लागि ब्याटल हो ।’

चुनावी माहोल तताउँदै आज पनि भने– नेपालीको छारो हो

चुनावी अभियानमा रहेका प्रचण्ड बिहीबार सिराहाको मिर्चैया नगरपालिकामा आयोजित रामप्रताप साह प्रवेशद्वार उद्घाटन तथा नगर अस्पताल भवन शिलान्यासमा सम्बोधन गर्न पुगेका हुन् । 

त्यहाँ पुगेर उनले चुनावी माहोल तताउँदै भनेका छन्, ‘म काठमाडौंमा हारेँ, सिराहामा जितेँ । त्यसकारण म तपाईंहरू सबैलाई अभिनन्दन गर्न चाहन्छु’
प्रचण्डले अघि भनेका छन्, ‘हामीले ०६४ मा ठूलो सफलता प्राप्त गरे पनि ०७० मा धेरैतिर पराजित भएका थियौं । त्यतिबेला दुई ठाउँबाट चुनाव लड्न पाउँथ्यो । म काठमाडौंमा हारेँ, सिराहामा जितेँ । त्यसकारण म तपाईंहरू सबैलाई अभिनन्दन गर्न चाहन्छु ।’

स्थानीय निर्वाचनको संघारमा प्रचण्ड माओवादी पुनः एक नम्बरको दल बन्ने घोषणा गरिरहेका हुन्छन् । मधेसको राजनीतिसँग नजिक हुन खोजेका प्रचण्ड सिराहामा पुगेर आफू पहाडिया मात्र नभई नेपाली जनताको छोरो भएको बताए । 

प्रचण्डले भने, ‘मैले संविधानसभाको दोस्रो निर्वाचनमा मधेसमै आएँ, किनकि पहिलोमा म रोल्पा र काठमाडौंबाट लडेँ । अब म तराई मधेसबाट मधेशी जनताको मत लिएर प्रचण्ड भनेको पहाडिया मात्र होइन, प्रचण्ड भनेको बाहुन मात्र होइन प्रचण्ड नेपाली जनताको छोरा हो म त्यो सावित गर्न चाहन्छु ।’

‘मधेशी जनताको बढी विश्वास गर्छु, पहाडिया हैन’

सिराहामा पुगेर प्रचण्डले मधेश आन्दोलनको चर्चा मात्र गरेनन् । उनले मधेशी जनताको बढी विश्वास भएको पनि बताए । ‘म मधेशी जनतालाई बढी विश्वास गर्छु, प्रेम र भरोसा गरेर सिराहा आएको थिएँ ।’

रामप्रताप साहको सालिक र प्रवेशद्वार निर्माण गर्ने मिर्चिया नगरपालिकालाई धन्यवाद दिन दिँदै प्रचण्डले यस्ता कामहरू अघि बढाउनपर्ने बताए ।

‘मधेस र तराईमा मात्र झण्डै १३ सय शहीद छन्’ उनले भने, ‘उहाँहरूको सम्मानमा पनि हामीले शहीद पार्क वा कुनै न कुनै स्ट्याच्यु निर्माण गर्ने र शहीदलाई सम्मान गर्ने यो प्रक्रियालाई निरन्तर अघि बढाउन जरुरी छ ।’

तराई मधेस र देशभरीका शहीदहरूकै बलिखानमा गणतन्त्र आएको उनले तराई पुगेर पनि दोहोर्याए । ‘तराई मधेशका १३ सय र देशभरका झण्डै १० हजार महान शहीदहरू जसको बलिदानको जगमा नै आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं’ उनले भनेका छन्, ‘यहाँसम्म आउन सम्भव भएको छ । म ती सबै महान शहीदलाई पनि उत्तिकै सम्मान गर्न चाहन्छु ।’

  • प्रकाशित मिति : चैत २४, २०७८ बिहीबार १८:१०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया