नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले मधेस प्रदेशमा गठबन्धनका विरुद्ध जाने निर्णय गरेको छ ।
मधेस प्रदेशका नेता तथा कार्यकर्ताको मागलाई मध्यनजर गरेको भन्दै आज एक बैठक बसी संस्थापन पक्षको निर्णयलाई अस्वीकार गर्ने निर्णय गरेको हो ।
बर्दिबासस्थित गौतम होटेलमा बसेको बैठकले संस्थापन पक्षले संस्थापन इतरलाई भेदभाव गरेर अगाडि बढेको निष्कर्ष निकालेको छ ।
कांग्रेसले गठबन्धन नगरी एक्लाएक्लै लड्नुपर्ने कोइराला पक्षको जोड छ । ंयदि गठबन्धन गरे तापनि निर्णयको अधिकार तल्लो तहलाई दिनुपर्छ,’ कोइराला पक्षधर नेता विनोद खनालले भने ।
बैठकमा ८ वटै जिल्लाका कोइराला पक्षधर नेताले संस्थापन पक्षले अन्याय गरेको बताएका छन् । चुनावी छलफलमा समेत संस्थापन इतरलाई सहभागी नगराई गोप्य छलफल गरेको नेताहरूको आरोप छ ।
‘हामीलाई पाखा लगाएर नेपाली कांग्रेस अगाडि बढे आसन्न निर्वाचनमा ठूलो घाटा बेहोर्नुपर्छ,’ प्रदेशका भौतिक पूर्वाधारमन्त्री तथा नेपाली कांग्रेसका नेता रामसरोज यादवले भने ।
संस्थापनइतर कांग्रेस प्यानलकै केन्द्रीय सदस्य चन्द्रमनी यादवले पनि संस्थापन पक्षले आफूहरूलाई पाखा लगाएर अगाडि बढेको गुनासो गरे ।
नेपाली कांग्रेसको अहिलेको स्तरलाई हेर्दा गठबन्धनको जरुरी नभएको बताउँदै नेता यादवले पहिलो चरणमा आफूहरूको निर्णयलाई सुझावको रुपमा पेस गर्ने बताए ।
मधेस प्रदेशमा संस्थापनइतर कोइराला पक्षले निर्णयलाई अटेर गरे चुनावमा एक्लै लड्ने संकेत गरेको छ ।
स्थानीय तहमा समेत एक्लै लड्ने बताउँदै नेता रामसरोज यादवले संस्थापन पक्षले जबरजस्ती गर्न खोजेको आरोप लगाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।