नेपालको अर्थतन्त्रको तुलना श्रीलंकासँग गर्नै मिल्दैन, जनतालाई आतंकित पार्ने काम बन्द गर्नुस् : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको हिसाबमा अहिले नेपाल र श्रीलंकालाई तुलना गर्न नै नमिल्ने बताएका छन् । नेपालको अर्थतन्त्र श्रीलंकाको हालतमा पुग्न लागेको चर्चापछि उनले यस्तो बताएका हुन् । 

मन्त्री शर्माले कतिपयको चाहना नेपालको अर्थतन्त्रलाई श्रीलंकाको अवस्थामा पुर्याउने रहेको भए पनि उनीहरूको त्यो सपना पूरा नहुने दाबी पनि गरे । ‘नेपाल र श्रीलंकाको तुलना नै हुन सक्दैन । हाम्रो ऋणको कुराले हेर्नुस्, उत्पादन क्षेत्र हेर्नुस्, विदेशी लगानी हेर्नुस् । ऋण सहायता हेर्नुस्’, आज काठमाडौंमा आयोजित नेपालको वित्त र अर्थ व्यवस्थाबारे राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भने, ‘अर्थतन्त्रमा फेरि समस्याहरू छन् त्यो हामीले पनि भनिरहेका छौं । त्यसलाई बदल्नुपर्छ । तर, कतिपयलाई रहर छ श्रीलंका बनाउने । तीनको सपना पूरा हुँदैन ।’

उनले नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गरेर जनतालाई आतंकित पार्ने काम बन्द गर्न पनि आग्रह गरे । ‘तुलना नहुने कुरामा तुलना गर्दै आज जनतालाई आतंकित पार्ने काम एक थरीले गरेका छन् त्यो गलत छ, त्यसको खण्डन गर्नुपर्छ’, शर्माले भने ।  

उनले अर्थतन्त्रबारे दुई तरिकाबाट टिप्पणी भइरहेको र एकाथरीले श्रीलंकाकै हालतमा पुर्याउनुपर्छ भनिरहेकोमा त्यसको विरोध गर्नुपर्ने बताए । ‘सुधार्नुपर्छ भनेर चिन्ता व्यक्त भएका पनि छन् यो चिन्ता गर्नेलाई सलाम गर्नुपर्छ । त्यसकारण यहाँ श्रीलंका हुनसक्दैन । नेपाललाई श्रीलंकासँग तुलना गर्दै जनतालाई आतंकित गर्ने प्रवृत्तिलाई अन्त्य गरौँ’, मन्त्री शर्माले भने ।   

मन्त्री शर्माले नेपालमा डलर सञ्चिति साढे ६ महिनाका लागि रहेको भन्दै यसबाट तल झर्न नदिने पनि दाबी गरे । उनले विलासिताका सामानहरू आयातमा घटाउनुपर्ने पनि बताए ।  





  • प्रकाशित मिति : चैत २५, २०७८ शुक्रबार १२:५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया