मधेशमा जम्दै ओली, सघाउँदै प्रभु साह
राजपुरका मेयरले छाडे कांग्रेस, रोजे एमाले

देशभर चुनावी माहोल गर्माएको छ । चुनावको मिति जति नजिक आउँदैछ त्यति नै एकबाट अर्को दलमा प्रवेश गर्ने लहर पनि चलेको छ । ०७४ को स्थानीय निर्वाचनमा विजयी भएका जनप्रतिनिधिहरू नै धमाधम एउटाबाट अर्को दलमा प्रवेश गरिरहेका हुन् ।

शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले रौतहटको राजपुर नगरपालिकाका मेयर मोहम्मद साकिल अख्तरलाई पार्टीमा स्वागत गरेका छन् ।अख्तर कांग्रेसबाटै निर्वाचित अन्य दुई वडाध्यक्षका साथ एमाले प्रवेश गरेका हुन् । उनीहरूलाई बालकोटमा ओलीले खादा माला लगाएर एमालेमा प्रवेश गराए । स्थानीय तहका जनप्रतिनिधिले नै पार्टी छाड्दा त्यसको असर आसन्न निर्वाचनमा देखिने पक्का छ । 

अख्तरले किन छाडे कांग्रेस ?

अघिल्लो निर्वाचनमा उनी कांग्रेसबाट राजपुर नगरपालिकाको मेयर बनेका थिए । उनले केही दिनअघि मात्र कांग्रेस परित्यागको घोषणा गरे । उनले जेलमा रहेका पूर्वसांसद अफताव आलमको परिवारवादी सोचका कारण पार्टी परित्याग गरेको  बताएका छन् । अफताव २७ चैत ०६४ मा राजपुरमा भएको बम विस्फोट घटनामा संलग्न भएको आरोपमा अहिले जेलमा छन् ।

आलमको निर्वाचन क्षेत्र समेत रहेको राजपुरको मेयरमा छोरालाई मेयरको उम्मेदवार बनाउने निर्णय भएपछि उनमा असन्तुष्टि बढ्यो । उनलाई मेयरको टिकट दिलाउने आश्वासनसहित एमाले नेता प्रभु साहले ‘कन्भिन्स’ गराए । 

उनले कांग्रेसमा आफ्नो वर्षौंदेखि आफ्नो पुर्खाले योगदान गरेको भए पनि आलम हाबी हुँदा एमाले प्रवेशको सोचमा पुगेको पनि बताए ।



मधेशमा ‘जम्दै’ ओली, सघाउँदै साह !



एमाले अध्यक्ष ओली धमाधम तराई केन्द्रित राजनीति बलियो बनाउने ध्याउन्नमा छन् । गत २८ फागुनमा ओलीले बाराको आदर्श कोटवाल गाउँपालिका अध्यक्ष मुस्तफा अन्सारीलाई पनि एमाले प्रवेश गराए । उनी जसपा छाडेर एमाले प्रवेश गरेका थिए । उनी २७८२ मतसहित अध्यक्षमा विजयी भएका थिए ।

२८ फागुनमै ओलीले वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई पार्टी प्रवेश गराए । उनी पनि जनता समाजवादी पार्टी (जसपा) छाडेर एमाले प्रवेश गरेका हुन् । 

सरावगी २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । उनले १९ हजार ३९३ मत पाएका थिए ।

माधव नेपालको समेत निर्वाचन क्षेत्र रहेको रौतहटको राजपुरका मेयर एमाले प्रवेश गरेसँगै यसले केन्द्रसम्म प्रभाव पार्ने बुझिएको छ । खासमा माधव तत्कालीन एमालेमा रहँदा माओवादीबाट नेपालका प्रतिस्पर्धीका रूपमा प्रभु साह चिनिन्थे ।  

साह नेकपा विभाजन भएपछि केपी ओलीको साथ दिँदै एमाले प्रवेश गरेका छन् । उनी पछिल्लो समय चुनाव केन्द्रित माहोल बनाउँदै निर्वाचन क्षेत्रमा खटिएका छन् । आजै मात्र बालकोट पुगेर एमाले प्रवेश गरेका राजपुरका मेयर अख्तरलाई पनि साहले नै बालकोटसम्म पुग्ने वातावरण तय गरेका थिए । ३ र ९ नम्बरका वडाध्यक्षलाई पनि एमालेमा प्रवेश गराउने वातावरण साहले गरेका उनी निकटका कार्यकर्ताहहरूको दाबी छ । 

प्रचण्डको नजर पनि मधेशमै !

उता, एमालेसँग प्रतिस्पर्धा गर्नका लागि गठबन्धन जोगाउनैपर्ने दबाबमा रहेका माओवादी अध्यक्ष प्रचण्ड पनि मधेशकेन्द्रित हुन थालेका छन् । 

उनी एक दिनअघि मात्र सिराहा पुगेर एमालेविरुद्धको खरो भाषण गरेका थिए । प्रचण्डले सिराहालाई आफ्नो माइती पनि बताउँदै आएका छन् । सिराहा मात्र नभई महोत्तरीलगायतका जिल्लाहरू केन्द्रीय नेताहरू सक्रिय हुन थालेका छन् । 

निर्वाचनको मुखमा मधेशी जनतालाई प्रभावमा पारेर भोट तान्न नेताहरूको सक्रियता बढेको प्रष्टै देखिन्छ ।

चुनावको मुखमा एउटा पार्टीबाट अर्कोमा जम्प मारेका जनप्रतिनिधि

  • प्रकाशित मिति : चैत २५, २०७८ शुक्रबार १४:३३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया