कैलालीमा पकड जमाउँदै नागरिक उन्मुक्ति पार्टी, रेशमको मुद्दालाई बनाउँदै चुनावी एजेन्डा

सत्तारुढ दलहरूबीच चुनावी तालमेल भएमा ३० वैशाखमा हुने निर्वाचनमा गठबन्धन दल र नेकपा एमालेबीच प्रतिष्पर्धा हुने धेरैको आकलन छ । केन्द्रमा पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक निर्णयसमेत गरिसकेका छन् ।

स्थानीय तहमा तालमेल गरेर जाने गठबन्धन दलहरूले संयन्त्र बनाइरहेका बेला कैलाली स्थानीय तहमा भने चुनावी तालमेललाई लिएर फरकफरक धारणा आएका छन् । अन्य क्षेत्रमा गठबन्धन दल र एमालेबीच प्रतिस्पर्धा देखिए पनि कैलालीको पूर्वी क्षेत्र अर्थात् क्षेत्र नम्बर एक अन्तर्गतका स्थानीय तहमा फरक माहोल देखिन थालेको छ । कैलालीको निर्वाचन क्षेत्र निलम्बित सांसद रेशमलमल चौधरीको हो । यहाँ नवगठित दल नागरिक उन्मुक्ति पार्टीको माहोल देखिन थालेका छ ।

यो दल ७ भदौ २०७२ मा भएको टीकापुर घटनामा दोषी ठहर भई जेल जीवन बिताइरहेका निलम्बित सांसद चौधरीकी श्रीमती रञ्जीता श्रेष्ठ चौधरीको अध्यक्षतामा गठन भएको हो । तीन महिनाअघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको पार्टीले स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा पार्न गतिविधि तीव्र पारेको छ । 

दल दर्ता गरेको ९३ दिनमै स्थानीय तहमा आफ्नो बलियो पकड जमाउन थालेको हो ।  नागरिक उन्मुक्ति पार्टी टीकापुर घटनाको सहानुभूति बटुल्दै भित्रभित्रै शक्ति आर्जन गरिरहेको छ ।

सो पार्टीले कैलाली, बर्दिया र दाङका केही पालिकामा समेत उम्मेदवारी दिने तयारी थालेको केन्द्रीय सदस्य रामलाल डगौरा थारूले जानकारी दिए । उनका अनुसार पार्टीले कैलालीका टीकापुर र भजनी नगरपालिका, जानकी, जोशीपुर र बर्दगोरीया गाउँपालिकामा ध्यान केन्द्रित गरेको छ । 

उनले यी सबै पालिकामा प्रमुख र उपप्रमुखसहित वडामा समेत आफ्नो पार्टी चुनावी मैदानमा उत्रिने बताए । उनका अनुसार बर्दियाको पश्चिमी क्षेत्र राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा समेत पार्टीले प्यानलसहित तयारी थालेको छ । ‘यीबाहेकका अरू पालिकामा वडाध्यक्ष भए पनि अघि सार्छौ’ उनले भने, ‘धेरै ठाउँमा हाम्रो जित निश्चित छ ।’



टीकापुर नगरपालिकाको प्रमुखमा रामलाल आफैँ अघि सरेका छन् । उनी हाल वडा नं. ७ का वडाध्यक्ष हुन् । उनी अघिल्लो निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएका थिए । उनले प्रतिद्वन्द्वीभन्दा झण्डै २ सय बढी मत प्राप्त गरेका थिए । 

उनले माओवादी केन्द्रले पहिचानको मुद्दा छोडेकोले आफूले पार्टी छोडेको बताए । उनले माओवादी केन्द्रले जहिल्यै थारू समुदायलाई भोट बैंकका रूपमा मात्रै प्रयोग गरेको आरोप लगाए ।



नागरिक उन्मुक्ति पार्टीले भजनी नगरपालिकाको प्रमुखमा केवल चौधरी र जानकी गाउँपालिकाको अध्यक्षमा पत्रकार गणेश चौधरीलाई अघि सारेको छ । जानकीको अध्यक्षमा अघि सारेका पत्रकार गणेश चौधरीले दल दर्ता भएको छोटो समयमै गाउँदेखि वडासम्म समिति गठन गरिरहको बताए । उनले आफ्नो पार्टीको पक्षमा माहोल बन्दै गएको दाबी गरे । कैलालीका सबैजस्तो स्थानीय तहमा उम्मेदवारी दिने तयारी रहेको उनले बताए ।

केन्द्रीय सदस्य रामलालका अनुसार अन्य पालिकामा आकांक्षी धेरै भएकाले टुङ्ग्याउन समस्या भइरहेको छ । सो पार्टीले टीकापुर नगरपालिकाको उपप्रमुखमा शिक्षिका उल्कादेवी विश्वकर्मालाई अघि सारेको छ । उनी शिक्षण पेशा छोडेर उपप्रमुखको तयारीमा छिन् ।

टीकापुर नगरपालिकाका कार्यपालिका सदस्य रमेश विकसमेत नेपाली कांग्रेस परित्याग गरी सो पार्टीमा प्रवेश गरेका छन् । उनीसँगै केही अन्य पार्टीका दलित नेता कार्यकर्तासमेत सो पार्टी प्रवेश गरेका छन् । उनीहरूको पार्टी प्रवेशले नागरिक उन्मुक्ति पार्टीलाई दलित समुदायको समेत साथ रहेको सन्देश दिन खोजेको छ ।

केन्द्रीय सदस्य रामलालले आफ्नो पार्टीलाई गठबन्धनले समेत केही फरक नपार्ने दाबी गरे । उनले दलहरूबीच गठबन्धन भए कार्यकर्तामा झन् असन्तुष्टि बढ्ने र आफ्नो पार्टीलाई फाइदा पुग्ने जिकिर गरे । ‘गठबन्धन हुँदा हामीलाई झन् फाइदा पुग्छ’ उनले भने, ‘नेताहरूबीच पो गठबन्धन होला तर कार्यकर्ता त मान्ने पक्षमा छैनन् ।’

उनले आफ्नो पार्टीको कसैसँग गठबन्धन नहुने बताए । उनले नेकपा एमालेका तर्फबाट गठबन्धनको प्रस्ताव आएको भए पनि आफूहरूले अस्वीकार गरेको बताए । पार्टीले थारू समुदायको मतलाई लक्षित गरेको छ । उसले थारू बाहुल्य पालिकामा आफ्नो ध्यान केन्द्रित गरेको छ । पार्टी अध्यक्ष श्रेष्ठ चौधरी यतिबेला भोट माग्दै घरदैलो गरिरहेकी छन् ।

उनले आफ्ना श्रीमानको न्यायका लागि भन्दै भोट माग्ने गरेकी छन । रेशमको मुद्दालाई अघि सारेर पार्टीले थारू समुदायको सबै भोट आफ्नो पक्षमा पार्ने रणनीति बनाएको छ । यदि यस्तो भयो भने गठबन्धनलाई समेत चुनौती हुने राजनीतिमा जानकारी राख्नेहरूको बुझाइ छ । 

चौधरीले २०७४ को आम निर्वाचनमा भूमिगत अवस्थामै राष्ट्रिय जनता पार्टी नेपालबाट भारी मतका साथ जितेका थिए । उनले ३४ हजार ३४१ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मदनकुमारी शाहले १३ हजार ४०६ मत मात्र प्राप्त गरेकी थिइन् ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका उपसभापति जनकराज चौधरीले सो पार्टीले रेशमको मुद्दालाई अघि सारेर थारू समुदायको भावनामाथि खेलबाड गरिरहेको बताए । उनले पार्टीको कुनै राजनीतिक एजेण्डा नभएकाले मतदातामा भ्रम र अफवाह फैलाउने कार्य भइरहेको दाबी गरे ।

सत्तारूढ गठबन्धनले टीकापुरको भागबण्डा टुङ्ग्याइसकेको छैन । कांग्रेस र माओवादी केन्द्र दुवैले टीकापुरको मेयरमा दाबी गरिरहेका छन् । माओवादी केन्द्रबाट मेयरका आकांक्षी ललितबहादुर थापा यसपटक टीकापुरमा माओवादीको लालझण्डा फहराउने दाबी गरिरहेका छन् ।

‘कैलालीका दुई केन्द्र धनगढी र टीकापुरमध्ये एउटा हामी छाड्दैनौँ,’ उनले भने, ‘दुवै ठाउँ छाडेर गठबन्धन गर्नुको अर्थ रहन्न । कांग्रेसले धनगढी नछाड्ने भनिसकेपछि टीकापुर हामीले छाड्न मिल्दैन ।’

थापा २०७४ को निर्वाचनमा पनि मेयरका उम्मेदवार थिए । त्यसैले आफू घाइते उम्मेदवार रहेकाले पार्टीले आफूलाई नै अघि बढाउने र जिताउनेमा उनी विश्वस्त छन् । ‘जनयुद्ध लडेर पार्टी र वाईसीएलमा काम गरेर आएको हो । अघिल्लो पटक धेरै मत बदर भई प्राविधिक रूपमा मात्र हारेको हो,’ थापाले भने, ‘यसपटक धेरै मेहनत गरेका छौँ ।’ थापासँगै माओवादी केन्द्रबाट विकास चौधरी र खड्ग शाह पनि मेयरका आकांक्षी छन् ।

कांग्रेसका मेयरका आकांक्षी नवराज रावल पाँच वर्षमा जनमतमा आएको हेरफेरले आफ्नो पार्टी सबैभन्दा बलियो शक्ति रहेकाले गठबन्धनका नाममा टीकापुर छाड्न नसक्ने बताए । २०७४ को स्थानीय चुनावको जनमतलगत्तै भएको प्रदेश र संघको चुनावमा फेरिएको उनी दाबी गर्छन् ।

विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र कांग्रेसबीच एकता भएपछि टीकापुरमा कांग्रेसको भोट त्यतिबेलै १० हजार पुगेको उल्लेख गर्दै रावल भन्छन्, ‘एमाले–माओवादी केन्द्र एक भएर प्रदेशको चुनावमा आउँदा पनि हामीले १ हजारको अन्तरले चुनाव जितेको आधारले पनि कांग्रेसले टीकापुर छाड्न मिल्दैन ।’

प्रदेशसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं. १ (ख) बाट कांग्रेसका डा. रणबहादुर चन्द एमाले–माओवादी गठबन्धनलाई पराजित गर्दै विजयी भएका थिए । ‘हामी सत्ता गठबन्धनको साथ लिएर वा एक्लै लडेर भए पनि टीकापुरमा यसपटक कांग्रेसको हरियो झण्डा फहराउँछौँ,’ रावलले भने । कांग्रेसबाट रावल, राजु हमाल र वर्तमान उपमेयर केशरी रावल टीकापुरको मेयरका लागि आकांक्षी छन् ।

वर्तमान मेयर तपेन्द्रबहादुर रावल एमालेबाट दोहोरिने कसरतमा छन् । सामाजिक सद्भाव भड्किने बिर्सनलायक घटना बेहोरेको उदीयमान नगरमा आफूले निर्विवाद काम गरेकाले स्थानीयस्तरबाटै दोहोरिन आग्रह गरिएको उनी बताउँछन् ।

‘स्थानीय तह नयाँ अभ्यास हो । चाहेजति काम हुन नसके पनि निर्विवाद र विकास निर्माणमा सबैलाई सँगै लिएर हिँड्ने कोसिस मैले गरेँ,’ रावलले भने, ‘घोषणापत्रका अधिकांश प्रतिबद्धता पूरा गरेको छु । शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा काम भएका छन् । पार्टीले आवश्यक ठाने म दोहोरिन चाहन्छु ।’

कार्यकाल पाँच वर्षको भए पनि स्थानीय तहको पहिलो कार्यकाल व्यवस्थित रूपमा दुई वर्ष पनि सञ्चालन गर्न नपाइएकाले मेयरमा दोहोरिने इच्छा व्यक्त गरेको उनी बताउँछन् । ‘पहिलो वर्ष ऐन कानुन बनाउँदैमा अलमलमा बित्यो । बीचका दुई वर्ष कोभिड महामारीले काम गर्न पाइएन । त्यसैले दोहोरिने इच्छा हो,’ मेयर रावलले भने ।

एमालेबाट जिल्ला सचिवालय सदस्य श्याम खत्री टीकापुर नगरपालिकाको मेयरका लागि अर्का बलिया आकांक्षी हुन् । दुईपटक नगर अध्यक्ष र इन्चार्ज भइसकेका उनी सामुदायिक वन उपभोक्ता समितिका अगुवासमेत हुन् । यसपटकको स्थानीय चुनावमा एमाले, गठबन्धन र रमेश चौधरीको पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने दाबी गर्दै खत्री भन्छन्, ‘अहिले एमाले एक्लै बलियो छ । सरकारी गठबन्धन कसरी आउँछ, त्यो हेरेर रेशमजीको पार्टीसँग हाम्रो तालमेल पनि हुन सक्छ ।’

नेकपाको निरन्तरताका रूपमा माओवादी केन्द्रका नेता–कार्यकर्ता एमालेमै रहेको र पार्टी विभाजनको झिनो असर पूर्ति भइसकेको दाबी गरिरहेको एमालेका लागि सत्तारुढ दलहरूको गठबन्धनले कठिनाइ थपिएको छ । पालिका भागबण्डाको गाँठो फुकाएर एकमतका साथ मैदान आउन गठबन्धन दलहरूलाई पनि सजिलो छैन ।

अघिल्लो चुनावमा एमाले, कांग्रेस, माओवादी केन्द्र र तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले हाराहारीमा मत ल्याएका थिए । एमालेका तपेन्द्रबहादुर रावलले ५ हजार ९ सय ५९ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिकका लौटन चौधरीले ५ हजार ५ सय ३४ मत ल्याएका थिए । तेस्रो धेरै मत ल्याउने कांग्रेसका जंगबहादुर साउदले ५ हजार ५ सय १४ र चौथो अधिक मत माओवादी केन्द्रका ललितबहादुर थापाले ५ हजार ५ सय १० मत ल्याएका थिए । टीकापुर नगरपालिकामा अहिलेको मतदाता संख्या ५२ हजार ८ सय ७२ छ ।

 कैलालीलाई ‘अखण्ड’ सुदूरपश्चिममा नराख्न र छुट्टै थरूहट प्रदेशको माग गर्दै ७ भदौ २०७२ मा थारू समुदायले गरेको प्रदर्शनमा हिंसा भड्किएको थियो । त्यस क्रममा सात प्रहरी र एक बालक मारिएपछि राज्यबाट थारू समुदायमाथि चर्को दमन गरियो । टीकापुर घटनाका योजनाकारको आरोप लागेका रेशम २०७४ को निर्वाचनमा कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार भए र फराकिलो मतान्तरसहित विजयी भए । तर, जिल्ला र उच्च अदालतले उनलाई दोषी करार गरेपछि अहिले पनि डिल्लीबजार कारागारमा छन् ।

  • प्रकाशित मिति : चैत २५, २०७८ शुक्रबार १९:४८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया