आइपिएल : गुजरातकाे लगातार तेस्रो जित

इन्डियन प्रिमियर लिग (आइपिएल)मा गुजरात टाइटन्सले लगातार तेस्रो जित हात पारेकाे छ ।

गुजरातले गए रातिकाे खेलमा पञ्जाब किंग्समाथि ६ विकेटकाे जित दर्ज गरेकाे हाे ।

१९० रनकाे लक्ष्य गुजरातले अन्तिम बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍याे । उसका लागि शुभमन गिलले उत्कृष्ट प्रदर्शन गरे ।

उनले ५९ बलमा ११ चाैका र एक छक्कासहित ९६ रन बनाए । शाई सुधर्शनले ३५ र कप्तान हार्दिक पाण्डेयले २७ रन जाेडे ।

रोमाञ्चक बनेको खेलको अन्तिम ओभरमा गुजरातलाई १९ रन आवश्यक थियो । 

ओभरको पहिलो बलमा हार्दिक पण्डेय आउट भएपछि राहुल टेवाटिया क्रिजमा आए ।



दोस्रो बलमा राहुलले १ रन जोडे । तेस्रो बलमा डेभिड मिलरले चौका प्रहार गरे भने चौंथो बलमा १ रन जोडेपछि गुजरातलाई दुई बलमा १२ रन आवश्यक भयो ।

स्ट्राइकमा रहेका राहुलले पाँचौं र छैटौं बलमा लगातार छक्का प्रहार गर्दै गुजरातलाई राेमाञ्चक जित दिलाए । 



राहुलले ३ बलमा अविजित १३ रन जोड्दा मिलर ६ रनमा अविजित रहे ।

पञ्जाबका कागिसो राबडाले दुई तथा राहुल चाहरले एक विकेट लिँदा एक विकेट रन आउटका रूपमा प्राप्त भयाे ।

त्यसअघि मुम्बईस्थित ब्रेबोर्न स्टेडियम टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनाएको थियो ।

पञ्जाबका लियम लिभिङ्गस्टोनले ६४ रनको अर्धशतकीय पारी खेले । उनले २७ बलमा सात चाैका र चार छक्का प्रहार गरे ।

शिखर धवनले ३५ र जितेश शर्माले २३ रन जाेड्दा राहुल चाहर २२ रनमा अविजित रहे ।

गुजरातका राशिद खानले तीन, दर्शन नलकन्देले दुई तथा माेहम्मद शामी, हार्दिक पाण्डेय र लाेकी फर्गुसनले एक-एक विकेट हात पार्दा एक विकेट रन आटका रूपमा प्राप्त भयाे ।

याे जितसँगै तीन खेलमा ६ अंक जाेड्दै गुजरात दोस्रो स्थानमा उक्लिएको छ ।

दोस्रो हार बेहाेरेकाे पञ्जाब चार खेलमा दुई अंकका साथ छैटौं स्थानमा  छ ।

  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार ७:१४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया