सर्वाधिक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने सात नेपाली क्रिकेटर, को कति सफल ?

कुनै बेला नेपाली क्रिकेट टिमको मुख्य लक्ष्य एकदिवसीय मान्यता पाउनु थियो । अन्ततः लगातारको मिहिनेतले नेपालको त्यो सपना साकार भयो । १ चैत २०७४ मा नेपालले यो ऐतिहासिक सफलता प्राप्त गरेको थियो । 

आइसिसी एकदिवसीय विश्वकप छनोटको प्ले अफमा पपुवा न्यूगिनीलाई ६ विकेटले हराउँदै नेपालले पहिलोपटक वानडे मान्यता पाउन सफल भयो । अहिले फेरि नेपालसामु एकदिवसीय मान्यता जोगाइराख्नु ठूलो चुनौती रहेको छ । मान्यता जोगाउनका लागि नेपालले आइसिसी विश्वकप लिग–२ प्रतियोगितामा राम्रो प्रदर्शन गर्न आवश्यक छ ।

हालसम्म नेपालले यो प्रतियोगितामा १२ खेल खेलेको छ । जसमध्ये ६ मा जित र ६ खेलमा हार बेहोरेको छ । अहिले नेपाल अंक तालिकाको छैटौँ स्थानमा छ । आइसिसी विश्वकप लिग–२ प्रतियोगितालाई आउँदो विश्वकपको रोडम्यापको रूपमा पनि हेरिएको छ । 

यो प्रतियोगिताको शीर्ष तीनमा रहने टोलीले अर्को वर्ष जिम्बाब्वेमा हुने विश्वकप छनोट खेल्न पाउने छन् । १० टिमले सहभागिता जनाउने छनोटमा दुई टोलीले २०२३ मै हुने एकदिवसीय विश्वकपमा भाग लिन पाउने छन् । 

अहिले नेपालको मुख्य लक्ष्य विश्वकप छनोट खेल्नुका साथै एकदिवसीय मान्यता जोगाउनु रहेको छ । त्यसका लागि नेपालले छिट्टै लगातार सिरिज खेल्ने तालिका छ । २०२०/०२१ मा खेलिसक्नुपर्ने श्रृखंला कोरोना बाधक बन्दा २०२२ मा भइरहेका हुन् । 

एकदिवसीय मान्यता पाएपछि नेपालले हालसम्म २२ वटा म्याच मात्र खेल्न पाएको छ । जसमध्ये टिमले ११ मा जित र ११ खेलमै हार बेहोरेको छ । पाँच वर्षको अवधिमा नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा ३० खेलाडीले डेब्यु गरिसकेका छन् । ३० मध्ये केही खेलाडीले लगातार राम्रो प्रदर्शन गर्दा केही भने गुमनाम जस्तै छन् । यसैबीच, आज एकदिवसीय मान्यता पाएपछि सर्वाधिक म्याच खेल्ने सात खेलाडीको चर्चा गर्दैछौँ :



१. सन्दीप लामिछाने 

यो सूचीको शीर्ष स्थानमा वर्तमान कप्तान तथा स्पिनर सन्दीप लामिछानेको नाम आउँछ । उनले अहिलेसम्म २२ एकदिवसीय खेलेका छन् । जसमा लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले २१ एकदिवसीय इनिङ्समा ३.९० को इकोनमीमा ५० विकेट लिएका छन् । 



सन्दीप एकदिवसीय र टी–२० प्रारूपमा सर्वाधिक विकेट लिने नेपाली बलर पनि हुन् । वानडेमा उनको उत्कृष्ट बलिङ ११ रन दिएर ६ विकेट लिनु हो । सन्दीपले चार खेलमा चार/चार र दुई खेलमा पाँच वा त्योभन्दा बढी विकेट लिएका छन् । उनले ब्याटिङमा ९५.७७ को स्ट्राइक रेटमा १३६ रन बनाएका छन् । सन्दीपले टी–२० तर्फ बलिङमा ३९ खेलमा ६.३४ को इकोनमीमा सर्वाधिक ७३ विकेट लिएका छन् । 

२. ज्ञानेन्द्र मल्ल

पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि नेपालले एकदिवसीय मान्यता पाएपछि लगातार टिममा पर्ने खेलाडीमा पर्छन् । तर, पछिल्लोपटक पपुवा न्यूगिनी (पिएनजी) विरुद्धको २ खेलको एकदिवसीय श्रृंखलामा भने उनलाई टोलीमा समावेश गरिएन । 

नेपाललाई एकदिवसीय मान्यता प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेका ज्ञानेन्द्रले हालसम्म यो प्रारूपमा १९ म्याच खेलेका छन् । जसमा उनले ६४.६० को स्ट्राइक रेटमा चार अर्धशतकको मद्दतमा ४८० रन बनाएका छन् । 

ज्ञानेन्द्र नेपालका लागि एकदिवसीयमा सर्वाधिक रन बनाउने दोस्रो ब्याटर हुन् । वानडेमा उनको उच्च स्कोर ५६ रन हो । ज्ञानेन्द्रले यो प्रारूपमा एक विकेट पनि लिएका छन् । 

३. आरिफ शेख

नेपालका लागि एकदिवसीय प्रारूपमा सर्वाधिक म्याच खेल्ने सूचीमा आरिफ शेखको नाम तेस्रो स्थानमा आउँछ । उनले १८ खेलको १६ पारीमा ५३.३८ को स्ट्राइक रेटमा ३ सय रन बनाएका छन् । 

उनले हालसम्म एकदिवसीयमा एक अर्धशतकीय पारी खेलेका छन् । मध्यक्रममा ब्याटिङ गर्ने २४ वर्षीय आरिफ कहिलेकाहीँ बलिङ पनि गर्छन् । जसमा उनले आठ पारीमा ४.१७ को इकोनमीमा चार विकेट लिएका छन् ।  

४. सोमपाल कामी

सोमपाल कामी नेपाली टिमका महत्वपूर्ण सदस्यमध्ये एक हुन् । उनले हालसम्म १८ एकदिवसीय खेल खेलिसकेका छन् । जसमा सोमपालले ब्याटिङ/बलिङमार्फत नै राम्रो योगदान दिएका छन् ।

उनले अहिलेसम्म १८ खेलमा ५.०५ को इकोनमीमा ३१ विकेट लिएका छन् । जसमा सोमपालको उच्च स्पेल ३३ रन दिएर ५ विकेट लिनु रहेको छ । साथै, ब्याटिङमा उनले १८ खेलको १५ पारीमा एक अर्धशतकसहित २३८ रन बनाएका छन् । 

५. करण केसी

नेपाली टिमका अर्का महत्वपूर्ण खेलाडी हुन्– करण केसी । नेपाली क्रिकेटमा अलराउन्डरको परिचय बनाएका उनले पनि हालसम्म १८ एकदिवसीय अन्तर्राष्‍ट्रिय खेलेका छन् । जसमा ३० वर्षीय करणले १८ खेलमा ५.०२ को इकोनमीमा २७ विकेट लिएका छन् । 

एकदिवसीयमा उनले दुईपटक चार/चार विकेट लिइसकेका छन् । यो प्रारूपमा करणको उच्च बलिङ प्रदर्शन १५ रन दिएर ४ विकेट लिनु रहेको छ । त्यस्तै, उनले ब्याटिङमा १४ एकदिवसीय पारी खेल्दा ७५.४५ को स्ट्राइक रेटमा १५८ रन बनाएका छन् । 

६. रोहितकुमार पौडेल 

यो सूचीको छैटौँ स्थानमा युवा ब्याटर रोहितकुमार पौडेलको नाम आउँछ । उनी अहिले टिमका भरपर्दा ब्याटरमध्येका एक हुन् । 

लगातार रन बनाइरहेका रोहितले हालसम्म १७ एकदिवसीय म्याच खेलिसकेका छन् । जसमा उनले ७८.४६ को स्ट्राइक रेटमा चार अर्धशतक र एक शतकको मद्दतमा सर्वाधिक ६२३ रन बनाएका छन् । एकदिवसीयमा रोहितको उच्च स्कोर १२६ रन हो । 

७. दीपेन्द्रसिंह ऐरी 

दीपेन्द्रसिंह ऐरी नेपाली टिमका मुख्य हतियार हुन् । उनले टिमले लागि सबै पक्षबाट निरन्तर राम्रो प्रदर्शन गर्दै आएका छन् । दीपेन्द्रले पनि २०१८ देखि नै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका छन् । 

हालसम्म १६ म्याच खेलेका उनले एक शतकको मद्दतमा ६९.१२ को स्ट्राइक रेटमा २९१ रन बनाएका छन् । जसमा ऐरीको उच्च स्कोर १०५ रन हो । उनले एकदिवसीयको ११ पारीमा सात विकेट पनि लिएका छन् । 

एकदिवसीयमा सोचेअनुरूप प्रदर्शन गर्न नसकेका ऐरीले टी–२० मा भने शानदार प्रदर्शन गर्दै आएका छन् । उनले यो प्रारूपको ३४ पारीमा पाँच अर्धशतक र एक शतकसहित सर्वाधिक १ हजार ३३ रन बनाएका छन् । साथै, उनले टी–२० मा ५.७८ को इकोनमीमा १५ विकेट पनि लिएका छन् । 

  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार १२:१०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया