सत्तारुढ गठबन्धनले कर्णाली प्रदेशका १० मध्ये हालसम्म पाँच जिल्लामा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । अहिलेसम्म सुर्खेत, जाजरकोट, हुम्ला, जुम्ला र दैलेखमा गठबन्धनमा रहेका दलहरूले स्थानीय तहको चुनावमा तालमेल गर्ने सहमति गरेका छन् । तर, केन्द्रले स्पष्ट खाका नदिँदा दलहरू अन्योलमै छन् ।
केन्द्रको सहमतिअनुसार आपसी समझदारी र सहकार्य गरी स्थानीयस्तरमा तालमेल हुने भएको छ । गठबन्धन दलमा रहेका राजनीतिक दलहरूका नेताले कर्णाली प्रदेशस्तरीय बैठक गरिसकेका छन् । तर, उनीहरूले ठोस सहमति गर्न सकेका छैनन् ।
सुर्खेतका पाँच दलले चुनावी गठबन्धन गर्ने निर्णय गरेका छन् । बिहीबार बसेको पाँच दलको बैठकले गठबन्धन गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेसका सभापति खड्गबहादुर पोखरेलको अध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी नेपालले गठबन्धन गर्ने निर्णय गरेका हुन् ।
स्थानीय तह निर्वाचनमा सुर्खेतका नौवटै पालिका, कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिमा समेत तालमेल गरेर जाने निर्णय पाँच दलले गरेको माओवादी केन्द्रका सुर्खेत जिल्ला इन्चार्ज झकबहादुर मल्लले जानकारी दिए । ‘चुनावका लागि जिल्लामा गठित पाँच दलीय गठबन्धनमा १० जना रहेको संयन्त्र गठन गर्ने निर्णय गरिएको छ,’ उनले भने, ‘पालिकाहरूमा स्थानीय संयन्त्रको नियमित बैठक गर्ने पनि दलहरूले निर्णय भएको छ ।’
जाजरकोटमा स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन दलले तालमेल निर्णय गरेका छन् । जाजरकोटमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच तालमेलको निर्णय भएको छ। चार दलको बैठकपछि जारी संयुक्त वक्तव्यमा गठबन्धनको काम, कारबाहीलाई व्यवस्थित बनाउन र आवश्यक तयारीका लागि पार्टी प्रमुखसहित एक दलबाट तीनजनाका दरले १२ जनाको जिल्लास्तरीय संयन्त्र निर्माण गर्ने निर्णय भएको र पालिकास्तरमा सत्ता गठबन्धनको मर्ममा खलल पर्ने गरी कुनै पनि गतिविधि सञ्चालन, अभिव्यक्ति सार्वजनिक नगर्न नगराउन निर्देशन दिइएको छ ।
सत्ता गठबन्धन दलले हुम्लामा चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । हुम्लाका सात गाउँपालिका तथा ती पालिकाका ४४ वडामा गठबन्धनका दलहरूबीच तालमेल गर्ने निर्णय गरेका हुन् ।
कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल गरेर जाने निर्णय भएको छ । चुनावी अभियानका क्रममा गाउँघरमा कार्यक्रम सञ्चालन गर्दा गठबन्धनलाई असर पर्नेगरी अभिव्यक्ति नदिनेसमेत सहमति पनि भएको कांग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंहले बताए । ‘अन्य विषय केन्द्रले निर्देशन देला । सामान्य छलफल गरेर अहिलेलाई तालमेल गर्ने निर्णय मात्र गरेका छौं,’ उनले भने, ‘केन्द्रले स्पष्ट खाका दिएपछि अन्य बिषयमा छलफल होला । उम्मेदवारको छनोट पनि त्यही आधारमा हुनेछ ।’
दैलेखमा चार दलले चुनावी तालमेल गर्ने सहमति गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका हुन् ।
कांग्रेस सभापति मणिराम रेग्मी, माओवादीका संयोजक प्रेमबहादुर कटुवाल क्षेत्री, नेकपा एसका अध्यक्ष बरुनाथ योगी र राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष लोगपाल थापाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सहमति गरेका हुन् ।
निर्वाचन केन्द्रित सम्पूर्ण कामलाई व्यवस्थित गर्न चारवटै दलका प्रमुखसहित सातजना सम्मिलित संयन्त्र गठन गर्ने र स्थानीय तहमा पनि संयन्त्र बनाउने सहमति भएको माओवादी केन्द्रका दैलेख जिल्ला संयोजक प्रेमबहादुर कटुवाल क्षेत्रीले जानकारी दिए । ‘अन्य कुरा संयन्त्र निर्माण गरेर अगाडि बढ्ने सहमति भएको छ । केन्द्रको खाका आएपछि अन्य काम अगाडि बढाउँछौँ,’ उनले भने, ‘सबैलाई सम्मान हुने ढंगले गठबन्धन अगाडि बढ्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।