बिना मगरको निर्वाचन क्षेत्रमा गठबन्धन गर्दा कांग्रेसको आपत्ति

नेपाली कांग्रेससहित पाँच दलकाे गठबन्धन गर्ने केन्द्रले निर्णय गरेपछि कञ्चनपुरको क्षेत्र नम्बर १ का कार्यकर्तामाझ तरङ्ग मच्चिएको छ ।

गत हप्ता जिल्लामा सर्वदलीय बैठक बसी पालिका बाडँफाँड गरेपछि कञ्चनपुरको पुनर्वासमा पनि नेता तथा कार्यकर्ताले १ नम्बर क्षेत्रकाे कुनै एक पालिकामा कांग्रेस प्रमुख हुनुपर्ने भन्दै आपत्ति जनाएको हो । 

कांग्रेसका नेता, कार्यकर्ताले ठूलो संघर्षले जोगाएको संगठनलाई गठबन्धनले टुटाउने प्रबल सम्भावना रहेको, कञ्चनपुर क्षेत्रमा एउटा नगरपालिका नेपाली कांग्रेसलाई दिनुपर्ने, पार्टीले पुनर्वास नगरपालिकाको राजनीतिक विषयवस्तुलाई नबुझी गठबन्धनमा लाद्न खोजे निर्विकल्पमा उम्मेदवार उठाउने र कुनै पनि हालतमा गठबन्धन हुन नदिनेजस्ता तर्क गरेका थिए । 

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर एक माओवादी केन्द्रका बुहारी बिना मगरको हो ।
कांग्रेस नगर सभापति शुकबहादुर तामाङले पुनर्वास नगरपालिकामा आफ्नो पार्टी विजयी गराउने कुरामा दृढ विश्वास रहेको बताए । 

उनले भने, ‘गठबन्धनको निर्णयलाई सहज रूपमा लिनु कांग्रेसकै लागि घातक हुन्छ । पार्टीलाई सक्षम र सबल बनाउने विषयमा उत्तरदायी छु । कार्यकर्ता र मतदाताको मनोभावको पक्षमा उभिन्छु । बरु आफूलाई पार्टीले कारबाही गर्छ भने पनि गरोस् ।’ 

उनले कुनै पनि निर्णयमा मौन बस्नु दोषी या भ्रष्टचारी सावित हुने विपीको सिद्धान्तलाई आत्मसम्मान गर्ने उनको भनाइ छ ।



स्थानीय निर्वाचनमा नगरको प्रमुखमा कांग्रेसको उम्मेदवारलाई ल्याउने निर्णय नगरिए छुट्टै टिम खडा गरी चुनावी अभियानमा लाग्ने पुनर्वास नगर कमिटीका एक नेताले जानकारी दिए । 

नगरका ती नेताका अनुसार कांग्रेसबाट नगर प्रमुखमा एक जनाको नाम लिई टिम जिल्ला र प्रदेश कार्यसमितिसम्म डेलिगेसन जाने तयारी रहेको छ ।



यसअघिको निर्वाचनमा पुनर्वास नगरपालिकामा नेकपा एमालेबाट जीवन थापा निर्वाचित भएको थिए । हाल उनी नेकपा एकीकृत समाजवादीमा रहेका छन्। 

स्थानीय तहको निर्वाचन हुन ३२ दिन मात्रै बाँकी छ । निर्वाचनको मिति नजिकिएसँगै कञ्चनपुरका प्रमुख दलहरूले अधिकांश पालिकामा चुनाव जित्ने दावी गर्दै आएका छन् । 

तर, २०७४ सालको नतिजा हेर्दा कुनै पनि दलले बहुमत पालिका जित्ने आधार छैन ।

२०७४ सालको निर्वाचनमा एमालेले ५, माओवादी केन्द्र र कांग्रेसले २-२ पालिकामा चुनाव जितेको थियो । 

अहिले नेकपा एमाले विभाजन भएको छ । एमालेबाट निर्वाचित वेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्द र पुनर्वासबाट निर्वाचित मेयर जीवन थापा एकीकृत समाजवादीमा छन् ।

फुटका कारण एमाले अहिले कमजोर बनेको छ । २०७४ सालको निर्वाचनमा कांग्रेस निर्वाचन क्षेत्र नं. १ मा सबैभन्दा कमजोर बनेको थियो । त्यो क्षेत्रमा ४ पालिका छन् । 

४ पालिकामध्ये कांग्रेसले कुनै पनि पालिकामा चुनाव जितेको थिएन । अहिले कांग्रेसले त्यही क्षेत्रका पालिकामा चुनाव जित्ने दावी गर्दै आएको छ ।

निर्वाचन क्षेत्र नं. १ को कांग्रेस समिति समेत गठबन्धनको विरोधमा छ ।  त्यो क्षेत्रमा सत्ता गठबन्धनमा रहेको दल माओवादी केन्द्रको राम्रो पकट भएको क्षेत्र पनि मानिन्छ।

अहिलेको गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनसम्मै रहने सम्भावना छ । त्यही क्षेत्र कांग्रेस नेता दिवानसिंह विष्टको पनि हो ।

विष्ट संस्थापन इतर पक्षका हुन् । अहिलेको गठबन्धन त्यहाँसम्म पुगे उनले त्यो क्षेत्र पाउने सम्भावना कम छ । उक्त क्षेत्रमा बिना मगरले पाउने सम्भावना बढी हुन्छ । त्यसैले पनि उनी अहिले गठबन्धनको विपक्षमा रहेको नेताहरू बताउँछन्।

उनी प्रतिनिधिसभा निर्वाचनमा त्यो क्षेत्रबाट टिकट पाउने सुनिश्चित गर्न चाहन्छन्’, कांग्रेसका एक नेताले भने, ‘त्यो क्षेत्र बिना मगरले पाउने सम्भावना भएकाले उनी अहिलेदेखि नै गठबन्धनको विपक्षमा लागेका छन् ।’

नेता विष्टले निर्वाचन क्षेत्र नं. १ का पालिकामा गठबन्धन गर्न पूर्व प्रतिनिधिसभा निर्वाचनका लागि त्यो क्षेत्र माग गरिरहेको ती नेताको भनाइ छ । 

उनले भने, ‘त्यो सम्भावना कम भएकाले उनी त्यो क्षेत्रका कांग्रेस नेताहरूलाई दबाब दिन आग्रह गर्दै आएका छन् । त्यही भएर त्यहाँ रहेका पालिका कार्यसमिति र क्षेत्रीय समितिले विज्ञप्ती जारी गर्दै गठबन्धन नगर्न आग्रह गरेका हुन् । त्यो क्षेत्र कांग्रेसका लागि सबैभन्दा कमजोर हो ।’

  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार १२:५९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया