जनक रसिकको उपन्यास ‘दोरी’ बजारमा

सुदूरपश्चिमका युवा लेखक जनक रसिकको पहिलो उपन्यास ‘दोरी’ प्रकाशन भएको छ । दुई दशकदेखि सुदूरपश्चिममा रहेर साहित्य सिर्जना गर्दै आएका रसिक यस क्षेत्रमा पठन संस्कृतिको विकास, परिवर्तित समयमा साहित्यिक माहोल निर्माण र राष्ट्रिय मूलधारमा सुदूरपश्चिमको बहुआयामिक पहिचान स्थापित गर्न सिर्जनाका विभिन्न आभियान सञ्चालन गर्दै आएका छन् । 

सुदूरपश्चिममा टिकटमा रचनावाचन कार्यक्रमको सुरुवात गरेर यस क्षेत्रका सर्जकहरूको सिर्जनात्मक सशक्तीकरणमा पनि उनले विशेष पहल गरिरहेका छन् । साहित्यका बहु विधामा कलम चलाउने रसिक सुदूरपश्चिमको समाज, राजनीति र समसामयिक मुद्दामा समेत निरन्तर कलम चलाइरहेका छन् ।

कविता र गजल विधामा आफ्नो छुट्टै पहिचान बनाएका रसिकका कथा र निबन्ध पनि उति नै रुचाइएका छन् । २०६३ सालमा सुदूरपश्चिमको पहिलो पूर्ण छन्दमा आधारित गजल संग्रह ‘युगीन सपना’ प्रकाशन गरेका रसिकका संयुक्त गजल र संयुक्त कविता संग्रहहरू पनि प्रकाशित छन् । पछिल्लोपटक राज्यको पुनर्संरचनासँगै स्थापित पहिलो प्रदेशसभा सम्बन्धि ऐतिहासिक पुस्तक ‘नीति निर्माता’ प्रकाशन गरेका रसिक राजनीतिक विश्लेषणमा पनि सशक्त ढंगले कलम चलाउँछन् ।

नेपाली साहित्यमा विज्ञान र प्रविधि विषयमा लेखन प्रकाशन खासै नभएको अवस्थामा दोरी उपन्यासमार्फत रसिकले यो विषय सशक्त ढंगले प्रवेश गराएका छन् ।उपन्यासमा सुदूरपश्चिमको ग्रामीण क्षेत्रबाट रोजगारीका लागि प्रविधि सम्पन्न देश जापान पुगेका एक अशिक्षित युवकको कथा निकै मार्मिक र कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

विज्ञान प्रविधिको विकास र हाम्रो जीवनस्तरबिचको व्यापक असमानताले केकस्ता समस्या उत्पन्न भइरहेका छन् र यो असमाञ्जस्यता बढ्दै गएमा भविष्यमा कस्ता दुर्घटना हुनसक्छन् भन्ने कुरा उपन्यासले उठाएको मूल मुद्दा हो ।

सुदूरपश्चिमको लबज, मिथकको कसिलो प्रयोग गरिएको उपन्यासको कथा  सरल सटिक र आकर्षक शैलीमा निर्माण गरिएको छ । भौतिक विज्ञानमा स्नातकोत्तर अध्ययन गरेका रसिक साहित्यलाई केवल एक विधाको रुपमा मात्र नबुझी आधुनिक समाज र जीवनशैली सुव्यवस्थापनको महत्त्वपूर्ण साधनको रूपमा बुझ्नुपर्ने मान्यता राख्छन् ।



काठमाडौंस्थित शिखा बुक्सले प्रकाशन गरेको उपन्यास आगामी साता औपचारिक कार्यक्रमका साथ सार्वजनिक हुने बताइएको छ ।  



  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार १८:३५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया