भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सविरुद्ध सनराइजर्स हैदराबाद ८ विकेटले विजयी भएको छ । हैदराबादको यो लगातार दोस्रो जित हो । उसले अघिल्लो खेलमा चेन्नई सुपर किंग्सलाई पनि ८ विकेटले नै हराएको थियो ।
आफ्नो चौथो खेलमा गुजरातले दिएको १६३ रनको लक्ष्य हैदराबादले १९.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । उसका लागि कप्तान केन विलियम्सनले ४६ बलमा चार छक्का र दुई चौकासहित ५७ रन बनाए ।
त्यस्तै, अभिषेक शर्माले ४२, निकोलस पूरनले अविजित ३२, राहुल त्रिपाठीले १७ (रिटायर्ट हर्ट) र एडेन माक्र्मले अविजित १२ रनको योगदान दिए । गुजरातका लागि राशिद खान र हार्दिक पाण्ड्याले एक/एक विकेट लिए ।
त्यसअघि मुम्बईस्थित डिवाइ पाटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनाएको थियो । उसका लागि कप्तान हार्दिक पाण्ड्याले अर्धशतकीय पारी खेले । उनले ४२ बलमा चार चौका र एक छक्कासहित अविजित ५० रन बनाए ।
अभिनव मनोहरले ३५, म्याथ्यू वेडले १९, डेविड मिलरले १२ र साइ सुदर्शनले ११ रनको योगदान दिए । हैदराबादका भुवनेश्वर कुमार, टी नटराजले दुई/दुई, उमारान मलिक र मार्को जेनसनले एक/एक विकेट लिए । यो जितसँगै हैदराबाद अंक तालिकाको सातौँ स्थानमा उक्लिएको छ । गुजरात ६ अंकका सात तालिकाको पाँचौँ स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।