एमाले झापा जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरेले पार्टी परित्याग गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा मेची नगर नगरपालिकाको मेयरको टिकट नपाउने भएपछि उनले आज एमाले परित्याग गरेका हुन् ।
मेची नगरमा पत्रकार सम्मेलन गरेर धिमिरेले आफ्नै सहकर्मीले पटकपटक धोका दिएको भन्दै एमालेबाट बिदा भएको बताए । उनी पत्रकार सम्मेलनमा पटकपटक भक्कानिए ।
‘३१ वर्षअघि पार्टी सदस्य प्राप्त गरे, निरन्तर रुपमा एमालेको इमान्दार कार्यकर्ताको रूपमा काम गरे, तर पार्टीका केही नेताले मेरो अवमूल्यन गरेर अवसरबाट बञ्चित गर्ने र घेराबन्दीमा पार्ने काम गरेँ,’ पत्रकार सम्मेलनमा ६५ वर्षीय घिमिरेले भने, ‘मलाई पार्टीका नेताहरूले रुवाउँदै-रुवाउँदै निष्काशन गरे, म आफैं निस्किएको हैन, मलाई निकालेका हुन्, निस्किन बाध्य पारेका हुन् ।’
उनले आफ्नो आँसुले अन्याय गर्नेहरूलाई पिरोल्नेसमेत बताए । ‘मेरो आँसुले मलाई अन्याय गर्नेहरूलाई पिरोल्ने छ, जसले मलाई यो पार्टीबाट रुँदै रुँदै बाहिरिने अवस्था सिर्जना गरे,’ भावुक हुँदै घिमिरेले भने ।
एमाले छाडेको घोषणा गरेका उनले तत्काल अन्य पार्टीमा नजाने पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।