कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले आसन्न स्थानीय तह निर्वाचनका उम्मेदवार छनोटमा केन्द्रको हस्तक्षेप भएको भन्दै आपत्ति जनाएका छन् ।
नयाँ वर्षको अवसरमा मंगलबार नेपाल निजामती कर्मचारी युनियनले गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्।
स्थानीय, जिल्ला र क्षेत्रबाटै उम्मेदवार छनोट गर्ने र आवश्यकता र औचित्यका आधारमा चुनावी तालमेल गर्न स्थानीय तहलाई भनिएको भए पनि अहिले केन्द्रबाट उम्मेदवार छनौटमा हस्तक्षेप भएको भन्दै उनले आपत्ति जनाए ।
संयम र धैर्यताकासाथ अघि बढ्न कांग्रेस नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे ।
नेता कोइरालाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारी निर्णयप्रति पनि आपत्ति जनाए ।
देशको अर्थतन्त्र ओरालो लागेका बेला गभर्नर निलम्बनले झन् ओरालो लाग्ने उनको भनाइ छ ।
विश्व बैंक, एसियाली विकास बैंक जस्ता वित्तीय संस्थाले नेपालको अर्थतन्त्र र गतिविधिलाई हेरिरहेको हुने भन्दै उनले भने, ‘अर्थतन्त्र ओरालो लागेका बेलामा गभर्नरसँग तालमेल मिलेन भनेर, गभर्नरले आफ्नो कुरा सुनेन भनेर निलम्बन गर्नु एकदम गैरजिम्मेवार हो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।